म एक रेडियोकर्मी हुँ । मेरो दैनिकी रेडियोमा काम गरेर नै बित्छ । कहिलेकाँही कसैले मलाई तपाईँ के गर्नुहुन्छ भनेर सोध्यो भने जवाफ दिनै अप्ठेरो हुने गर्छ ।
खासमा उनीहरुको प्रतिक्रिया नै त्यस्तै आउने गर्छ । म रेडियोमा काम गर्छु भन्यो भने, अहिले पनि रेडियो सुन्छन र ? भन्ने प्रतिक्रिया प्राय सुन्ने गर्छु ।
खासमा उनीहरुको पनि त्यस्तो केही दोष छैन् । समय जो परिवर्तन भइसक्यो ।
अहिलेको डिजिटल संसार, अझैँ भनौँ एआईको युग । अधिकांश मानिसको हातहातमा स्मार्ट फोन छ । वयस्क, वृद्ध, युवा, बालबालिका धेरै जस्तोको दैनिकि मोबाइल फोनबाटै सुरु हुने गरेको छ ।
सूचनाको प्रमुख माध्यम सामाजिक सञ्जालः फेसबुक, टिकटक, युट्युब आदि नै बन्न पुगेको छ भन्दा फरक नपर्ला ।
वास्तवमा अहिलेको समयमा अधिकांश हामी मोबाइल बिना बाँच्नै नसक्ने भएका छौँ । यी कुराले गर्दा कहिले त लाग्थ्यो, अब भने रेडियो साच्चिकै आउटडेटेड नै भइसक्यो ।
हामी पनि अब डिजिटलाइज हुनुको विकल्प छैन । तर मेरो सोच एकजना युवालाई भेटेपछि फेरियो । उहाँ हुनुहुन्थ्यो २८ वर्षका युवा सञ्जीव शाह ।
सञ्जीव शाह एक समाजसेवी, युवा व्यवसायी र लेखक पनि हुनुहुन्छ ।
अहिलेसम्म दर्जनभन्दा बढी पुस्तक लेखिसक्नुभएका उहाँले सामान्यतया अरु युवाजस्तै व्यस्त जीवन बिताउँदैहुनुहुन्छ ।

राजधानी काठमाडौँमा जन्मनुभएका उहाँमा समाजका लागि केही गरौँ भन्ने हुटहुटी पनि छ । कहिलै आफ्नो समय खेर नफाल्ने सञ्जीव भन्नुहुन्छ, "मेरो दिनको सुरुआत रेडियोबाट हुने गर्छ । रेडियो मेरो दैनिक जीवनको सहयात्री नै हो ।"
जब मैले उहाँको यो कुरा सुने, म एकछिन अडिएँ । अहिलेको युवालाई रेडियो सुन्नुहुन्छ ? भन्दा कुन चरीको नाम हो भने जसरी खिसिटीउरी गर्ने समाजमा सञ्जीव जस्ता युवा भने अझैँ पनि रेडियोको पारखी हुनु सकारात्मक कुरा हो ।
अधिकांश हाम्रा स्रोताहरु निश्चित परिवेशका हुने गरेका छन् । जसमा धेरैजसो गाउँबाट सहर आएर अध्ययन तथा काम गर्दै गरेका पर्नुहुन्छ । तर सहरबजारमा व्यस्त जीवन बिताइरहेका सञ्जीव जस्ता युवाहरुले पनि रेडियोलाई यति धेरै माया र सम्मान दिएको बिरलै सुन्न पाइन्छ ।
सञ्जीव भन्नुहुन्छ, "अहिलेको यो समयमा सही सूचना पाउन नै मुस्किल छ । सामाजिक सञ्जालमा यत्रतत्र समाचार आउँछन्, कुन कुरा विस्वास गर्नु, कुनलाई नगर्नु ।
रेडियोबाट प्राप्त हुने सूचना भने आधिकारीक र विश्वसनिय लाग्ने उहाँले सुनाउनुभयो । सञ्जीव थप्नुहुन्छ , "धेरै मोबाइल हेर्दा आँखा दुख्ने समस्या हुन्छ, समय खेर जान्छ । फेरि त्यता आउने मिथ्या समाचार, अनेकौँ प्रकारका कन्ट्रोभर्सी । त्यो भन्दा रेडियो बेस्ट छ, सुन्दा मनमा छुट्टै शान्ति हुन्छ ।"
सानैदेखि रेडियो नेपालबाट बाल कार्यक्रम सुन्दै हुर्केको अनुभव सुनाउने सञ्जीव, रेडियोसँग आफ्नो सम्बन्ध निकै लामो रहेको बताउनुहुन्छ ।
रेडियो सुनेरै आफूले बोल्ने शैली, भाषा, साहित्य र विभिन्न जीवनोपयोगी ज्ञान सिकेको उहाँको भनाइ छ । सञ्जीव अहिलेको युवा पुस्ताको एक प्रतिबिम्ब हुनुहुन्छ, जसले रेडियोलाई आफ्नो जीवनको एक हिस्सा बनाइरहनुभएको छ ।
उहाँको रेडियोप्रतिको प्रेमले रेडियो कार्यक्रम प्रस्तोता पनि बनाएको छ । अहिले भक्तपुरमा रहेको सामुदायिक रेडियो ग्रेस एफएममा उहाँ फेथ टक नामक साप्ताहिक रेडियो कार्यक्रम चलाउनुहुन्छ ।
कार्यक्रम मात्रै चलाउनु हुँदैन, समाजलाई चाहिने ज्ञान र सकारात्मक सन्देश पनि बाँडदै आउनुभएको छ । उहाँको कार्यक्रम सुन्नकै लागि भए पनि देशबिदेशबाट स्रोताहरु अनलाईनबाटै सहभागी हुने गरेका छन् ।
समाजलाई सकारात्मक सन्देश प्रवाह गरी, समुदायको आवाज बनेका स्थानिय रेडियोहरु खासमा अहिले खस्कदो अवस्थामा छन् ।
हिजोको दिनमा समुदायको सहयात्री बनेको कतिपय रेडियोहरु अहिले आफ्नो प्रसारण बन्द गर्न बाध्य भएका छन् । अझै कतिपय बन्द हुने क्रममा छ ।
त्यसैले लोकतन्त्रको रक्षार्थ इतिहास बोकेको स्थानिय रेडियोलाई उठाउने दायित्व हामी सबैको हो र त्यो अभिभारा अहिलेका सञ्जीव जस्ता युवाहरुको काँधमा पनि आएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३