सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआइएन) को १८ औँ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण श्रोता, रेडियो प्रसारक, रेडियोकर्मी साथीहरू, सहयोगी संस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्रोता तथा शुभेच्छुक सबैमा हार्दिक शुभकामना !
सहकार्य, समन्वय, साझेदारीमा विश्वास गर्दै देशैभरिका सामुदायिक रेडियोहरुको साझा नेटवर्कको रुपमा अघि बढिरहेको दक्षिण एसियाकै सबै भन्दा ठूलो रेडियो नेटवर्क सीआईएनलाई माया गरेर १८ औँ वसन्तसम्म साथ दिनुहुने सबैमा नमन गर्दछु ।
सीआईएन १८ औं वर्ष प्रवेश गर्दै गर्दा हामीले धेरै आरोहअवरोह पार गर्दै आएका छौँ ।
प्रसारणमा मात्रै होइन, सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणको आधारका साथै स्थानीय भाषा, संस्कृति र तल्लो तहका कथा बोकेर सबैको विश्वासिलो नेटवर्कको रुपमा पहिचान बनाउन सीआईएन सफल भएको छ ।
देशैभरिका सामुदायिक रेडियोका रेडियोकर्मीहरुले समुदायमा भएका समस्या समाधान, नागरिकका प्रश्न, जिज्ञासाको समाधान गर्ने प्रयत्न गरिरहेका छन् ।
तीनै सामुदायिक रेडियोले उठाएका स्थानीय नागरिकका सवाललाई मुलप्रवाहिकरण गर्ने र सरकार अनि सरोकारवालामार्फत समाधान गर्ने साझा सञ्जालको रुपमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले काम गरिरहेको छ ।
देशभरि खुलेका सामुदायिक रेडियोहरुका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरुलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउनको लागि २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।
तत्कालिन संविधानसभाका सभामुख सुवास नेम्वाङले सीआईएनको उद्घाटन गर्दै सीआइएनले संविधान निर्माणका क्रममा जनताका सवाल संविधानसभासम्म ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
उहाँले भने जस्तै सीआईएनले जनताका सुझाव संविधानसभामा पुर्याउन पुलको काम गर्यो । संविधानसभाका विषयगत समितिले गरेका निर्णयलाई जनतासम्म पुर्याउनको लागि संयोजन र समन्वयको काम पनि सीआईएनले गरेको थियो ।
त्यसैले सीआईएनलाई स्थापित गर्यो, समुदायका सवाल, सामाजिक रुपान्तरणका बिषयका साथै राजनीतिक विषयलाई सीआईएनले स्वतन्त्र ढङ्गले प्रस्तुत गर्दछ भनेर संविधानसभा, सभासद र राजनीतिक दलले प्रशंसा गरे ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूलाई भूउपग्रह प्रणालीको एउटै सूचना सञ्जालमा आवद्ध गर्नु, प्राविधिक हिसाबले उनीहरूलाई एकआपसमा दुईतर्फी बनाएर सामुदायिक रेडियोको शक्ति बढाउने भन्ने उदेश्यलाई सीआईएनले पुरा गर्दै गयो ।
राष्ट्रिय एकता, पहिचान, लोकतन्त्र, शान्ति, दिगो विकास र परम्परागत हानिकारक अभ्यासहरुको अन्त्य गरी सामाजिक रूपान्तरणको अभियान चलाउने लक्षका साथ सीआईएन अघि बढ्यो ।
संविधान निर्माण र शान्ति प्रकृयाका साथै सामाजिक रुपान्तरण र आर्थिक विकासका मुद्धालाई जीवनसँग जोडेर सीआईएनले निरन्तर उठाउँदै आयो ।
एआईद्वारा बनाइएको साङ्केतिक तस्विर ।भाषा र संस्कृतिको संरक्षण र विकासका लागि सीआईएनले स्थापना कालदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । २०७२ सालको विनासकारी भूकम्पको समयमा, मधेशमा भएको डुवान र हुरीले सृजना गरेको विपद्को समयमा अनि कोरोनाको महामारीमा त झन् स्थानीय भाषा र लवजमा आवस्यक जानकारी बाढेपछि सीआईएनको महत्व बढेको छ ।
सामाजिक रुपान्तरण र सबै प्रकारको विभेदको अन्त्यका लागि सीआईएनले प्रभावकारी कार्यक्रम तथा रेडियो सामग्रीहरु प्रसारण गर्दै आएको छ ।
सेवा नपाएका व्यक्तिलाई सेवा दिलाउने पहल सीआईएनले गर्दै आएको छ । सीआईएनको समाचार कक्षलाई देशैभरिका सामुदायिक रेडियोको साझा समाचार कक्ष र साझा पाठशालाको रुपमा विकास गर्ने प्रयत्न गरिएको छ । सबै सामुदायिक रेडियोका संवाददाताहरुले सीआईएनको संवाददाताको रुपमा काम गर्न सक्ने गरेर सबैको लागि सीआईएनको ढोका खुल्ला गरिएको छ ।
सयौँ रेडियो, हजारौँ रेडियोकर्मी र करोडौँ नेपालीको माझमा, यो हो सामुदायिक सूचना नेटवर्क (सीआईएन) हाम्रो पहिचान भैसकेको छ ।
सीआईएनमार्फत सयौँ पत्रकारहरु प्रशिक्षित भैसकेका छन्, उहाँहरुले आफ्नो गाँउ टोलमा भएका सवाल सीआईएन र नजिकको सामुदायिक रेडियोलाई दिनसक्नु हुन्छ ।
स्वभावतः यो सञ्जाल अरू भन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा लोकप्रिय मात्रै होइन विश्वासिलो र दुःख सुखको साथीको रुपमा बलियो प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
देशभरका सामुदायिक रेडियोहरूलाई एउटै नेटवर्कमा आबद्ध गर्दै सीआईएनले प्रविधि, कार्यक्रम उत्पादन, पत्रकारिता क्षमता विकास तथा सूचना आदान–प्रदानलाई आधुनिक र व्यवस्थित बनाएको छ ।
समाचार बुलेटिन र विविध जनचेतनामूलक कार्यक्रमहरू आज नेपालका सयौँ सामुदायिक रेडियोमार्फत गाउँ–गाउँसम्म पुगिरहेका छन् ।
यसले दुर्गम क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य, शिक्षा, कृषि, मानव अधिकार, सरकारी सेवा तथा स्थानीय विकासका विषयमा भरपर्दो सूचना उपलब्ध गराउँदै नागरिक सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
स्थानीय भाषा र सरल शैलीमा सूचना प्रसारण गर्ने अभ्यासले सूचना पहुँचलाई थप समावेशी बनाएको छ । सामुदायिक रेडियोहरूको सहकार्यले समग्र रेडियोको सक्ति बढाएको छ ।
समाजका आवाजविहीन र सीमान्तकृत समुदायको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन महत्वपूर्ण काम गरेको छ ।
महिला, दलित, आदिवासी जनजाति, मधेशी तथा अल्पसंख्यक समुदायका सवालहरूलाई मुख्य एजेन्डा बनाएर रेडियो कार्यक्रम उत्पादन गरिनु सामाजिक न्याय र समावेशीकरणको सशक्त अभ्यास हो । महिला नेतृत्व विकास, लैङ्गिक समानता तथा सामाजिक विभेद विरुद्धका अभियानहरूले समुदायमा सकारात्मक सोच र व्यवहार परिवर्तन ल्याउन सहयोग गरेका छन् ।
आपत्कालीन अवस्थाहरूमा सामुदायिक रेडियोहरूलाई “लाइफलाइन” का रूपमा परिचालन गर्दै जीवन बचाउने सूचना, उद्धार तथा राहतसम्बन्धी समाचारहरू प्रसारण गर्दाका दिनमा रेडियो नै विपद्को साथी हो भनेर स्रोताहरुले प्रतिकृया दिनुभएको थियो ।
समाचार लेखन, खोजमूलक पत्रकारिता, डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, समावेशी रिपोर्टिङ तथा विपद् सञ्चारसम्बन्धी तालिमहरूले रेडियो पत्रकारितालाई थप व्यावसायिक र विश्वसनीय बनाएको छ ।
स्थानीय तहको निर्वाचन, प्रतिनिधी सभाको निर्वाचन र हरेक राजनीतिक घटनाक्रममा सीआईएनले राम्रो भूमिका निर्वाह गर्न सक्यो । अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका सङ्घ र गाउपालीका महासङ्घले प्रशंसा गरिरहेका छन् ।
जनता, स्थानीय तह, प्रदेश र सङ्घलाई जोड्ने काममा सीआईएन कार्यनीति नै बनाएर अघि बढेको छ । जनताका सवालहरुलाई समाधान गर्न सोधीखोजी कार्यक्रम गर्दै आएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विषेश कार्यक्रम तथा गहिरो खोजी गरेर रिपोर्टहरु प्रसारण गर्ने गरेको छ । सांसदहरुलाई नागरिकसँग जिम्मेवार बनाउन सीआईएनले "हेल्लो सांसद" कार्यक्रम गर्दै आएको छ ।
यसले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ । "हेलो मौसम" कार्यक्रममार्फत मौसम सम्बन्धी जानकारी बाँड्ने र मौसमजन्य विपद्बाट हुने क्षति घटाउने काम सीआईएनले गरिरहेको छ ।
सामुदायिक रेडियोलाई डिजिटल रुपान्तरण गरी मौसम र विपद्का जानकारीहरुलाई अडियोका साथै भिडिओमार्फत प्रस्तुत गर्ने कार्यहरुमा पछिल्लो समय सीआईएन केन्द्रित भएको छ ।
१६ वटा सामुदायिक रेडियोबाट सुरु भएको यो अभियान छिट्टै सबै सामुदायिक रेडियोमा पुराउने प्रयत्न भइरहेको छ ।
हेलो सीआइएनमार्फत सीआईएनको आईभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरुको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुदै गएको छ ।
यसमार्फत समाधान गरिएको समस्याहरुको दस्तावेजीकरण हेर्ने हो भने हामीले हाम्रो प्रभाव खोज्न कतै जानु पर्दैन । सीआईएनमा भनेपछि समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाउन सकेकाले नै यति धेरै स्रोताहरुले सीआईएनमा प्रश्न रेकर्ड गराईरहनु भएको छ ।
भ्रम, हल्ला र गलत सूचनालाई चिरेर सही सूचना र जानकारी दिने उद्देश्यले सीआईएनको संयोजनमा जुन प्रयास भयो यो सामुदायिक रेडियोको नयाँ अभ्यास पनि भयो ।
विपद्को बेलामा समयमै सत्य, तथ्य र भरपर्दो जानकारी दिने त रेडियो नै हो भन्ने तथ्यलाई पटकपटक सीआईएनले विभिन्न जिल्लाका सदस्य रेडियो तथा रेडियोकर्मीको साथ पाएर पुष्टि गरेको छ ।
समुदायलाई कस्तो खालको सूचनाको आवश्यकता छ र उनीहरुको बुझाइ कस्तो छ भन्ने पत्ता लगाएर अझै समुदाय केन्द्रित विषयवस्तुलाई प्राथमिकता दिने काम हुँदै आएको छ ।
जागिरभन्दा सेवाको भावना बढी भएका सामुदायिक रेडियोकर्मी र सीआईएनकर्मीको मिहिनेतका कारण हामीले धेरै सफलता हासिल गर्न सकेका छौँ ।
धर्मका नाममा बालबालिका, महिला र अन्य कसैलाई पनि विभेद नगर्ने र विभेद अन्त्य गराउन र बालविवाह रोक्न सबै धर्मका धर्मगुरुहरुलाई प्रतिवद्ध गराउने काम सीआईएनले गरेको छ ।
सीआईएनको संयोजनमा देशभरिका रेडियोकर्मीहरुको सहभागितामा बालविवाहविरुद्धको अभियान, कुपोषणविरुद्धको अभियान, कुरीतिविरुद्धको अभियान पनि सञ्चालन पनि भइरहेको छ ।
अहिले फेरि मौसमजन्य विपद्बाट हुने जनधनको क्षति कम गर्न "हेलो मौसम" सञ्चार अभियानमा जुट्दैछौँ । अहिले सामुदायिक रेडियोले भोग्नु परेको शङ्कटबाट कसरी माथि उठ्न सकिन्छ भनेर वकालत तथा पैरवीका कार्यक्रमका साथै सरोकारवालाहरुलाई प्रतिवद्ध बनाउने काममा पनि सीआईएन जुटेको छ ।
सीआईएनले सामुदायिक रेडियोकर्मीहरुको क्षमता बढाउनका लागि स्थापनाकालदेखि नै काम गरिरहेको छ । देशभरिका संवाददाताहरुलाई रेडियो रिपोर्ट निर्माण, प्रभावकारी समाचार लेखनका काम भौतिक उपस्थितिका साथै भर्च्युअल माध्यममार्फत सिकाउने काम हुँदै आएको छ ।
सीआईनमा आवद्ध देशभरिका सामुदायिक रेडियोकर्मीहरु, अकोराब सीआईएनमा स्थापनाकालदेखि काम गर्नुहुने पूर्व सहकर्मी साथीहरु र अकोराबको सङ्घीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीज्यूहरु र अहिले कामगरिरहनु भएका सहकर्मी साथिहरुकै अतुलनिय योगदानकै कारण सीआईएन आज नेपाल मात्रै नभइ दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क र विश्वकै मोडल सञ्चार माध्यमको रुपमा विकास भइरहेको छ ।
समय सधैँ एकै रहँदैन, प्रविधि पनि सधैँ एकै रहँदैन तर सामुदायिक सञ्चार सधैँ सहन्छ । सामुदायिक रेडियोहरु सफल हुँदा यसको नेटवर्क सफल हुनु र सङ्कटमा पर्दा यसको नेटवर्क पनि सङ्कटमा पर्नु स्वभाविक हो ।
विभिन्न सङ्कटसँग लड्दै आरोहअवरोह पार गर्दै आएकाले सामुदायिक रेडियोले भोगेका सङ्कटको समाधान गर्ने कार्यमा अझैँ प्राथमिकताका साथ लाग्ने सीआईएनको अबको बाटो हो ।
१८ औँ वार्षिकोत्सव मनाइरहेको सीआईएनलाई आगामी दिनका यात्राका लागि पनि सबैको साथ र सहयोग आवश्यक रहेको छ ।
यो सुखद क्षणमा खुसी बाँड्दै ती सम्पूर्ण सहयोगीलाई नमन गर्दै सीआईएनलाई माया गर्ने सबै स्रोता शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दछु।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३