काठमाडौँ । यही जेठ १८ देखि आगामी असोज १४ सम्मको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने भएको छ ।
यो अविधिमा अत्यधिक तातो पनि बढ्ने र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले आज ललितपुरमा एक कार्यक्रम गरी जानकारी दिएको हो ।
यसपालीको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।
कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदर भन्दा बढी वर्षा हुने संभावना ५५% देखि ६५% रहेको वरिष्ठ मौसमविद बीभुती पाखरेलले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने संभावना ४५% देखि ५५% रहेको छ।
मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ।
अधिकतम तापक्रम अर्थात अत्यधिक गर्मी पनि देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको छ ।
सुदुरपश्चिम प्रदेशको उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशको उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग, गण्डकी प्रदेशको पश्चिमी भू-भाग, मधेश प्रदेशको पश्चिमी भू-भाग र बागमती प्रदेशको मध्य भू-भागमा सरदर भन्दा बढी अधिकतम तापक्रम रहने संभावना ५५% देखि ६५% रहेको जानकारी विभागले दिएको छ ।
मधेश प्रदेशको पूर्वी भू-भाग र गण्डकी प्रदेशको मध्य भू-भागमा सरदर भन्दा बढी रहने सम्भावना ३५% देखि ४५% रहेको छ र देशका बाँकी भू-भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ ।
न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको छ ।
कर्णाली र बागमती प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको मध्य भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशको तराई भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५% देखि ६५% रहेको छ।
सुदुरपश्चिम प्रदेशको दक्षिण-पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग र कोशी प्रदेशको उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५% देखि ४५% रहेको छ ।
देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ विभागले जानकारी दिएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०८२