काठमाडौँ । बितेको १२ घण्टामा देशका चार जिल्लामा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कास्की, रौतहट, चितवन र सप्तरीमा मापन गरिएको वर्षा अत्यधिक रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कास्कीमा १ सय २० दशमलब २ मिलिमिटर अर्थात सबैभन्दा बढी पानी परेको छ भने चितवनमा १०० मिलिमिटर, रौतहटमा १ सय १९ दशमलब ६ मिलिमिटर र सप्तरीमा १ सय ७ दशमलब ४ मिलिमिटर पानी परेको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो रोल्पा, गोरखा, कीर्तिपुर (काठमाडौं), दोलखा, सर्लाहीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परेको छ ।
यसैबीच हुम्लाको नाम्खा गाउँपालिका ६, तिलगाउँमा गएको सुक्खा पहिरोका कारण जोखिममा परेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
तिलगाउँको उत्तरतर्फबाट खसेको पहिरोले स्थानीय बासिन्दाका घरहरूमा क्षति पुर्याएपछि उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो।
सरकारले प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, कम्बललगायतका राहत सामग्री पनि उपलब्ध गराएको जनाएको छ
हालसम्म मानवीय क्षति नभएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पहिरोसँगै लेदो पनि बगिरहेकोले माथिल्लो क्षेत्रमा हिमताल हुन सक्ने आशङ्का गरिएको छ। यसबारे थप अध्ययन भइरहेको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२