काठमाडौँ । बितेको एक हप्तामा हावाहुरी, चट्याङलगायतका प्राकृतिक विपद्मा परेर ६ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत एक हप्ता हावाहुरीका कारण ५ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
एक जना वेपत्ता छन् भने ९ जना घाईते भएका छन् । एक हप्तामा विपद्का ३६ वटा घटना भएका छन् जसमध्ये २३ वटा घटना हावाहरीका छन् ।
चट्याङ्कका ६, पहिरोको ३, भारी वर्षाको २ र बाढीका २ वटा घटना भएको प्राधिकरणले जनाएको छ ।
अहिले प्रिमनसुनको समय रहेको र पानी पनि परिरहेकाले मौसमी अवस्थाको जानकारी लिएर मात्र घरबाट निस्कन प्राधिकरणका प्रवक्ता राम बहादुर केसीले सीआईएनमार्फत सवैमा अपिल गर्नुभयो ।
प्राधिकरणका अनुसार १ हप्तामा प्राकृतिक विपद्का कारण करिब १ करोडको आर्थिक क्षति भएको छ । आज आएको हावाहुरीले मात्रै उदयपुरमा करिब २२ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा घर र विद्यालयमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।
अवको केही दिन हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका भेगका केहि स्थानमा हावाहुरीको सम्भानवा रहेको मौसमविद डेविट ढकालले सीआईएनसँग बताउनुभयो ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का पानीसँगै हिउँ पनि पर्ने सम्भावना समेत रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२