काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग छलफल गर्नुभएको छ ।
नेपाली विद्यार्थी लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि पनि आफूले आग्रह गरेको मन्त्री देउवाले जानकारी दिनुभयो ।
"नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरेँ । यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरुको समन्वयका लागि पनि मैले मुख्यमन्त्री माझीसँग आग्रह गरेँ । उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो ।" मुख्यमन्त्री माझीसँग टेलिफोनमा भएको कुराकानी बारे जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएको पनि उहाँको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१