काठमाडौँ । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन मेलाबाट फर्कँदै गरेकाहरू चढेको म १ ज ३३८ नम्बरको जीप बिहान करिब ४ बजे दुर्घटनामा पर्दा २ भारतीय नागरिकसहत ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी प्रकाश दाहालले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
भारत उत्तरप्रदेश मुवारकपुर घर भएका वर्ष ४५ का मोहम्मद साकिर, १८ वर्षका मोहम्मद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका ५ लेकगाउँका वर्ष ३० का वीरेन्द्र रावल, उहाँको श्रीमती २८ वर्षका शान्ति रावल, शैल्यशिखर ९ का ४५ वर्षीय दिलिप बिष्ट, बैतडीको डिलाशैनी गाउँपालिका ५ का १५ वर्षीय सुजिब बोहरा र सोही स्थानका ४५ वर्षका वीरेन्द्रसिंह बोहराको मृत्यु भएको डीएसपी दाहालले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिका ९ का मीना लेखकको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा भारतीय नागरिक १७ वर्षका सोहिल साह, डिलाशैनी गाउँपालिका ४ का ३५ वर्षका उत्तम रोकाया, जिप चालक मालिकार्जुन गाउँपालिका ८ का ३० वर्षका सुनिल जोशी, शैल्यशिखर नगरपालिका ५ का वर्ष ७ का सन्दीप रावल, २२ वर्षका प्रकाश रावल रहेका छन् । चालक सुनिल जोशीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१, ०८:४३