काठमाडौँ । मनसुन बाहिरिएसँगै चिसो बढ्न थालेको छ । मनसुन सकिएर 'पोस्ट मनसुन' को समय चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो लगातार बढिरहेको हो । कतिपय ठाउँमा पश्चिमी र स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।
आकाश खुला भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो बढ्दै गएको छ ।
असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियसको हाराहारी मापन गरिएकोमा त्यसको २ हप्तामा न्यूनतम तापक्रम १५डिग्रीको हाराहारी रहेको छ ।
महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो भने सोमबार १६ डिग्रिसेल्सियस थियो । मौसमविद् अधिकारीका अनुसार दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको हो । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज (मङ्गलबार) दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ । राति पनि कोशी प्रदेशका पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१, ०६:५५