काठमाडौँ । बीपी राजमार्गमा सोमबार (आज) बेलुकीदेखि ठुला गाडी पनि चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
राजमार्गको मुख्य खण्डमा क्षति पुगेका ठाउँमा बैकल्पिक मार्ग खोलिएको छ ।
डिभिजन कार्यालयका अनुसार ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्नेछन् ।
सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेकाले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न कार्यालयले अनुरोध गरेको छ ।
असोज १०, ११ र १२ गतेको वर्षाका कारण यो राजमार्गका ठाउँठाउँमा सडक बगेको छ । काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर सडक पूर्ण रूपमा बगेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१, १२:४७