आजभोलि तेह्रथुम र ताप्लेजुङ जिल्लामा पर्ने, म जन्मेहुर्केको ठाउँ आठराईले यसअघि नै तीन पटक मदन पुरस्कार पाइसकेको छ। मदन पुरस्कार गुठीको रेकर्डमा यसअघि २०७७ सालमा मेरै गाउँका भगिराज इङ्नामले पाउनु भएको बाहेक मेरो ठाउँले पाएका अरू दुईवटा पुरस्कारको रेकर्ड छैन । त्यसको कारण के हो भने ती अलि फरक अवतारमा थिएः मदन धारा र मदन मेलाका अवतारमा ।
अघि, धेरै वर्षअघि, २०१५ सालभन्दा अघि आठराईको सङ्क्रान्ति बजारमा पानीको हाहाकार थियो। त्यहाँका बासिन्दा, मूलबाटोका बटुवा र हटारू सधैँभरि तिर्खाएका हुन्थे। २०१५ सालमा रानी जगदम्बाले त्यहाँ मदन धारा नामका तीनवटा धारा बनाइ दिनुभयो। तिनले त्यहाँका बासिन्दा अनि म हितका बटुवा र हटारूको जुग जुगको तिर्खा मेटाइदिए।
पानीको तिर्खा मेटाइदिने भन्दा ठूलो पुरस्कार अर्को के हुन सक्छ र!
मदन धाराकै मेलोमेसोमा त्यही वर्षदेखि सङ्क्रान्ति बजारमा मेला लाग्न थाल्यो। त्यो मेला त्यस भेगको ‘ओलम्पिक गेम’ हो, त्यहाँका विभिन्न संस्कृतिका लागि विश्व सांस्कृतिक मञ्च हो र अर्थतन्त्रका लागि बृहत् मेला हो। त्यसको नाम हो- मदन मेला। अर्थात् मेलाको अवतारमा मदन पुरस्कार!
म जन्मेहुर्केको ठाउँले मदन मात्र होइन, जगदम्बा-श्री पुरस्कार पनि पाइसकेको छ। सङ्क्रान्ति बजारमै खुलेको जगदम्बा दातव्य औषधालय। त्यहाँका बराल कम्पाउन्डरले मलाई शिवाजल गोली दिएको आज पनि सम्झन्छु। त्यस यता धेरै कुरा फेरिइसके, कम्पाउन्डर पद गायब भयो, मान्छेलाई दिने औषधिको सूचीबाट शिवाजल हरायो। औषधि विज्ञानबाट गोली शब्द गुम भयो।
स्वास्थ्य संस्थाको खडेरी परेको त्यो जुगमा मानिसका रोग निःशुल्क निको पारिदिने जगदम्बा दातव्य औषधालय हाम्रो ठाउँले पाएको पुरस्कारै त हो नि! बाँच्न सहयोग गर्ने पुरस्कारभन्दा अर्को ठूलो पुरस्कार कतै सुनिएको छैन।
ताप्लेजुङका सबै ठाउँका अनि तेह्रथुम र पाँचथरका पूर्वी भेगका धेरै मानिस ६/७ दिन लगाएर सबैभन्दा नजिकको बसस्टप धरान झर्दा बाटोमा भेटिने एउटा ठाउँको नाम थियो कर्कले। त्यहाँको चल्तिको ठाउँ हो- रानीको चौतारो। जगदम्बा रानीको चौतारो। तल झरिरहेका मानिसलाई त त्यस चौताराको दरकार थिएन। उकालो उक्लने, उँभो जान खोज्ने जो कोही यस चौतारोमा भारी बिसाउँथे, पसिना पुछ्थे, शीतल ताप्थे, थकाइ मेट्थे, भोक लागेको भए आफूले पिठ्यूँमा बोकेर ल्याएको खानेकुरा खान्थे, बास बस्ने बेला भएको भए बास बस्थे।
गह्रुङ्गो भारी बोकेर पसिना काड्दै उकालो हिँडेका वेला केही बेर भारी बिसाएर विश्राम गर्ने, अहिलेसम्म हिँडेर आएको बाटो हेर्ने, अब हिँड्नु पर्ने बाटोबारे गम्ने अनि अलिकति तागत र हिम्मत सञ्चय गरेर उकालोतिरको थप यात्रा पुनः थाल्ने सुविधा दिने रानीको चौतारो जगदम्बा-श्री पुरस्कारै त हो नि!
यी सबै पुरस्कार जुटाउने केही महात्माहरूको नाम मैले यहाँ लिनैपर्छ। उहाँहरू हुनुहुन्छ: त्यहाँका समस्याबारे आफ्ना साथीहरूसँग कुरा गर्ने आठराई घर भएका तथ्याङ्क विभागका जागिरे भानुभक्त सिटौला, उहाँका कुरा सुनेर यो कुरा रानी जगदम्बासम्म पुर्याउने व्यवस्था मिलाइदिने तथ्याङ्क विभागका अर्का कर्मचारी सत्यमोहन जोशी, यी सबै कामका लागि खर्च बेहोरिदिने रानी जगदम्बा अनि यी कामको तार्तम्य मिलाइदिने कमलमणि दीक्षित। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली!
...
मैले यो किताब लेखेका वेलामा भारतमा एउटा फिल्म बन्दै थियो: ‘साम बहादुर’, जुन निकै लोकप्रिय भयो। भारतका पहिलेका सेनाप्रमुख साम होर्मुसजी फ्रामजी जम्शेदजी मनिक्श्अ (सन् १९१४-२००८) को जीवनीमा आधारित। फारसी अथवा तुर्केली मूलको शब्द ‘बहादुर’ हिन्दुस्तानमा अनौठो होइन। अन्तिम मुगल बादशाह तथा ख्याति प्राप्त गजल ‘बात करनी मुझे मुश्किल कभी ऐसी तो न थी’ का रचनाकारको नाम बहादुर शाह जफर हो। तर पार्सी मूलका सामको नाममा ‘बहादुर’ शब्द जोडिनु अनौठो कुरा हो।
सामले ‘बहादुर’ उपाधि उनको कमान्डमा रहेको आठौँ गोर्खा राइफल्सका सेन्ट्री हर्कबहादुर गुरुङबाट पाएका थिए जसलाई सामले गर्वका साथ आफ्नो नामसँग जोडिराखे। १८७१-७२ सालमा नेपाल र इस्ट इन्डिया कम्पनीबिच लडाइँ नभएको भए हर्कबहादुर गुरुङले आफ्ना कमान्डर सामलाई ‘बहादुर’ उपाधि दिने अवसर पाउँदैनथे।
सन् १९६२ को चीन-भारत लडाइँको कुनै समयमा साम भारतीय सेनाको कमान्ड गर्न आसामको तेजपुर गएका थिए। त्यहाँ परिवार लान मिल्दैनथ्यो। त्यसैले जाने वेलामा सामले आफ्नी श्रीमतीलाई यो कुरा बताएर ‘तिमी घरै बस’ भनेका थिए।
धेरै नेपाली युवा पनि यो लडाइँमा गएका थिए। उनीहरूले आफ्ना परिवार र दौँतरीलाई गीतको भाखामा सन्देश दिएका थिए:
लडाइँ छ धुमधाम नेफामा जानु छ मैले धावामा
पुगेर चिठी लेखौँला, नमरी बाँचे भेटौँला।
सामको कमान्डमा लड्ने धेरै नेपालीको ‘नमरी बाँचे भेट्ने’ अभिलाषा पुरा भएन। उनीहरूको सम्झनामा पूर्वी पहाडका आफन्त र साथीले यो विरह गीत पछिसम्म पनि गाउँथे।
१८७१-७२ सालमा नेपाल र अंग्रेजबिच लडाइँ नभएको भए र त्यस लडाइँका वेला अंग्रेजले नसिरी अर्थात् मित्र पल्टन खडा गरी त्यसमा नेपालीलाई भर्ती गर्न नथालेको भए नेपाली बहादुरहरूले सामबहादुरहरूको कमान्डमा एउटा छिमेकीको पक्षमा लागेर अर्का छिमेकीको विपक्षमा लड्नु पर्दैनथ्यो। विश्वका धेरै ठाउँमा लडाइँ हुँदा नेपाली गाउँहरूले आफ्ना दिवङ्गत युवाहरूको शोकमा विरह गीत गाउनु पर्दैनथ्यो।
लाहुरेहरूको घना बस्ती भएका गाउँलाई काखमा बोकेको मध्य नेपालको नीलगिरि हिमालको सिधा २१०० किलोमिटर दक्षिणमा पर्ने भारतको तमिलनाडुमा नीलगिरि पहाड छ। साम बहादुरको घर त्यही पहाडमा थियो। त्यस घरमा ढाका टोपी लगाएका बहादुर अर्दलीले सामबहादुरको सेवा गर्ने गर्थे। उनीहरूबिच त्यहाँ नेपाली भाषामा कुराकानी हुन्थ्यो:
अर्दली: साब!
सामबहादुर: के भयो?
अर्दलीः अर्को चिया बनाऊँ?
सामबहादुरः ना, खान्नँ। लैजा। लैजा।
यसपछि अर्दलीले खाइसकेको चियाका कप टेबलबाट लैजान्थे।
१८७१-७२ सालमा नेपाल र अंग्रेजबिच लडाइँ नभएको भए त्यसको झण्डै २०० वर्षपछि भारतीय सेनाका फिल्ड मार्शल सामबहादुर र उनका नेपाली अर्दलीबिच यस्तो सम्बन्ध हुँदैनथ्यो। सामबहादुरको घरमा नेपाली वातावरण तयार हुँदैनथ्यो।
त्यसैले त भन्ने गरिन्छ- इतिहास भूतकाल हैन, वर्तमान र भविष्यत् काल हो।
‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’मार्फत् मैले त्यही युद्धका २६ वटा पर्व सुनाएको छु। नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोहोर्याइरहेको २१० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीहरूले त्यतिवेलै हालेका सत्य कथाको पुनर्कथन गरेको छु।
यो किताब निकालेको जस मलाई मात्र होइन मस्यौदा पढेर सरसल्लाह दिएकोमा साथीहरू हस्त गुरुङ र दीपक थापा, सम्पादन गरिदिएकोमा शरच्चन्द्र वस्ती, आवरण बनाइदिएकोमा सचिन यगोल श्रेष्ठ, नक्शा बनाइदिएकोमा अरुण मैनाली, ले-आउट गरिदिएकोमा उमेश काफ्ले, हिज्जे मिलाइदिएकोमा धातृ सुवेदी र प्रकाशनको सारा भार उठाइदिएकोमा भूपेन्द्र खड्कालाई पनि जान्छ।
२०३७ साल फागुनमा मैले रानीको चौतारोमा अन्तिम पटक विश्राम गरेको थिएँ। त्यतिवेला म आफ्नो घरबाट संसारतिर लम्कन नभई नहुने नागरिकताको प्रमाणपत्र बनाएर घर फर्कँदा अरू वेलाभन्दा अलि फरक बाटो हिँडेर त्यहाँ पुगेको थिएँ। त्यसको ४४ वर्षपछि गरिमामय मदन पुरस्कारको चौतारोमा विश्राम गर्ने अवसर पाएको छु। यो अवसर प्रदान गरिदिनुभएकोमा मदन पुरस्कार गुठी र यसका सदस्यज्यूहरूप्रति फेरि एक पटक हार्दिक आभार प्रकट गर्दछु।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१, १९:५७