रोल्पा । सामान्यतया हरेक सामुदायिक विद्यालय बर्षाको समयमा एक महिनाका लागि बिदा गरिन्छ र शिक्षक तथा विद्यार्थी आआफ्नो घर जाने गर्छन् । तर रोल्पाको एउटा विद्यालयले भने विद्यार्थीलाई थप ज्ञान आर्जन होस् भन्दै पढाइलाई निरन्तरता दिएको छ ।
एक महिनाका लागि विद्यालय बन्द हुँदा विद्यार्थी कि घर गएर अभिभावकलाई काममा सघाउँथे, कि अतिरिक्त कक्षा (टिउसन) पढ्नुपर्ने बाध्यता हुन्थ्यो । लामो समय बिदा हुँदा पढेका कुरा पनि बिर्सन चिन्ता हुन्थ्यो । तर यसपाली भने सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माद्यमिक विद्यालयले बिदा नगरी पठनपाठन गरायो ।
यसबाट आफूहरूलाई फाइदा भएको कक्षा १० मा अध्यनरत सुनीता घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निकै खुसी लागेको छ, अतिरिक्त पढाइले हाम्रो सिकाइमा पनि सघाएको छ । आशा छ, अर्को वर्ष पनि यस्तो पढाइ हुनेछ ।’
एक महिनाको बिदामा विद्यार्थीले धेरै कुरा बिर्सन्छन् । यो वर्षको कक्षाले कस्तो नतिजा दिन्छ त्यसै अनुसार अर्को वर्ष सञ्चालनको तयारी हुनेछ । विद्यालयमा नियमले त वर्षमा कम्तिमा २ सय २० दिन पढाई हुनुपर्ने हो । तर यहाँ २ सय ५० दिन पढाउने गरेको छ ।
विद्यालयले आफ्नै आन्तरिक श्रोतबाट शिक्षकलाई थप एक महिनाको तलब दिएर वर्षे बिदामा पनि विद्यालय सञ्चालन गरेको हो ।
विद्यालयमा पठनपाठन निरन्तर भएपछि अभिभावक पनि खुसी भएका छन् । अभिभावक गोमा पुनले बालबालिकालाई बिदा नगरेर निरन्तर पढाएकोमा आफूहरु निकै खुसी भएको बताउनुभयो ।
विद्यालयमा ३५ जना शिक्षक छन् । उनीहरूको लागि एक महिनाको अतिरिक्त तलबको हिसाब गर्दा करिब ८ लाख रुपैयाँ हुने विद्यालयले जनाएको छ । वर्षे बिदा नगर्दा कोर्स पनि सकिने र विद्यार्थीको पढाइको स्तरक राम्रो हुने भएका कारण पढाइलाई निरन्तरता दिइएको बालकल्याण नमुना माद्यामिक विद्यालयका प्राचार्य मदुसुदन प्रोखेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हाम्रो उद्देश्य भनेको विद्यार्थीको पठपाठन राम्रो होस् भन्ने हो । एक महिनाको बिदामा विद्यार्थीले धेरै कुरा बिर्सन्छन् । यो वर्षको कक्षाले कस्तो नतिजा दिन्छ त्यसै अनुसार अर्को वर्ष सञ्चालनको तयारी हुनेछ ।’
विद्यालयमा नियमले त वर्षमा कम्तिमा २ सय २० दिन पढाई हुनुपर्ने हो । तर योे विद्यालयले २ सय ५० दिन पढाउने गरेको छ । २०२३ सालमा स्थापना भएको विद्यालयमा अहिले २५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६