पोखरा । अदालतले सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । पाँच वटा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जोशीलाई हिजो काठमाडौँमा पक्राउ गरी पोखरा ल्याएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष तेन्द्रबाबु (जीबी राई), कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका कारण कास्की प्रहरीले यसको अनुसन्धान अघि बढाएको हो ।
जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा सहकारी पीडित पनि अदालतमा पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१, १७:११