काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ ।
विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी किनार र होचो भूभागमा बसोबास गर्नेहरूले उच्च सावधानी अपनाउनुपर्ने महाशाखाले सूचनामार्फत भनेको छ ।
गण्डकी प्रदेशको स्याङ्जा, कास्की, पर्वत आसपासमा तथा लुम्बिनी प्रदेशको पाल्पा, दाङ, अर्घाखाँचीलगायतका स्थानहरूमा अति भारी बर्षा (२०० मिलिमिटरभन्दा बढी) समेत भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र पाल्पाको कुमालगाउँ वर्षा मापन केन्द्रमा ४०८.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ ।
"अहिले पनि देशका अधिकांश स्थानहरूमा वर्षा भइरहेको र अझै पनि वर्षा हुने सम्भावना रहेकोले आज र भोलि विशेष उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।" महाशाखाले निकालेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८१, १६:३४