जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनुभएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा कुल १ सय १ सांसद उपस्थित भएकोमा ६७ सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।
मुख्यमन्त्री सिंहको विपक्षमा ३४ मत परेको छ ।
जनमत पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले भने विश्वासको मत दिएका छैनन् ।
गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
विश्वासको मत लिनुअघि आजै मुख्यमन्त्री सिंहले अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८१, १६:१९