विपद्को समयमा समुदायलाई अत्यावश्यक सूचना र जानकारी दिनु सामुदायिक रेडियोको प्रमुख कार्य हो तर विपद्ले यी रेडियोलाई पनि छोड्दैन ।
जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पले विपद्को समयमा समुदायलाई अत्यावश्यक सूचना हरदम दिन खटिने केही रेडियोहरू आफै बन्द भएका छन् ।
जाजरकोटको रेडियो खलङ्गाको भवन भत्किएर प्रसारण बन्द भएको रेडियोका स्टेशन मेनेजर सरोज ओलीले जानकारी गराउनु भएको छ ।
‘भत्किएको रेडियोको भवनभित्र जान सक्ने अवस्था छैन । टावरबाहेक केही बाँकी छैन ।’ उहाँले भन्नुभयो ।
भवनको तल्लो तलामा रेडियो थियो । चार नालको ठूलो भवनमा २ तला थियो । रेडियोलाई पुनः प्रसारणमा ल्याउनको लागि सहयोग गरिदिन उहाँले आग्रह गर्नु भएको छ ।
साथै स्टेशन मेनेजर सरोज ओलीले आफ्नो श्रीमती घाइते हुनुभएको जानकारी दिनुभयो । टाउकोमा चोट लागेको र सामान्य उपचारपछि घर फर्कनुभएको छ ।
रेडियो हाम्रो पाइलाको भवन चर्किएर क्षति पुगेको छ । जोखिम लिएर भए पनि रेडियो सञ्चालनमा ल्याइएको रेडियोका प्रमुख बालकुमार शर्माले जानकारी दिनुभयो ।
बाहिरबाट सञ्चालन गर्नको लागि तार र मिक्चर भएमा सुरक्षित हुने उहाँ बताउनुहुन्छ । त्यहाँका चारवटै रेडियोलाई बाहिरबाट सञ्चालन गर्नको लागि तार र मिक्चरको आवश्यकता रहेको छ ।
सामुदायिक रेडियो जाजरकोट एफएम र पृथ्वी एफएमको भवनमा पनि क्षति पुगेको छ । सामुदायिक रेडियो समावेशी आवाज १०२ मेगाहर्ज त्रिवेणी गाउँपालिका ६ रुकुम पश्चिमको भवन भत्किएकोले प्रसारण बन्द भएको छ ।
सामाजिक सञ्जालबाट आउने गलत र भ्रमपूर्ण जानकारीले विपद्को बेलामा नागरिकमा नकारात्मक असर पार्ने भएकाले सही समाचारका लागि रेडियो प्रसारणको छुट्टै महत्त्व हुन्छ ।
‘रेडियोको भवन र प्रसारण स्टुडियोमा ८०% भन्दा बढी क्षति भएकोले छिर्न सक्ने अवस्था छैन ।’ रेडियोका म्यानेजर गोपाल ओलीले सुनाउनुभयो ।
तत्काल नजिक भवन नभएको र रेडियोको भवन पूर्णरूपले क्षति पुगेको हुँदा प्रसारणमा प्रभाव पर्ने देखिएकाले विभिन्न सङ्घसस्थाहरूलाई सहयोगको लागि रेडियोले अपिल गरेको छ ।
रुकुम पश्चिमको रेडियो सिस्नेको भवन चर्किएकोले जोखिम भएर रेडियोमा प्रवेश गर्ने अवस्था नरहेको रेडियोका प्रमुख नारायणकुमार शाहको भनाइ छ ।
रेडियो मौराखाराका स्टेसन प्रमुख नारायण ओलीले आफ्नो स्टेशन पक्की घरमा भएकाले कुनै क्षति नभएको तर आफ्नो घरमा भने पूर्ण क्षति भएको जानकारी दिनुभयो ।
विपद्को बेला औषधि, पानी र खाद्यान्नको जति महत्व हुन्छ, त्यो भन्दा धेरै महत्व सूचना र जानकारीको हुन्छ ।
भूकम्पले उत्पन्न गरेको यो असामान्य अवस्थामा रेडियोले उद्धार, राहत र पुनःस्थापनका कार्यमा निरन्तर सूचना र जानकारीमार्फत सहयोग गर्नु पर्दछ ।
त्यसैले बन्द भएका रेडियोलाई पुनः प्रसारणमा ल्याउनको लागि सबैले सहयोग गर्नु पर्दछ ।
भूकम्पले रेडियोको भवन भत्काएको, टावर ढालेको र अन्य भौतिक क्षति गरेको हुनाले तत्काललाई अस्थायी रूपमा टेन्टबाट रेडियो सञ्चाल गर्ने र पछि पुनर्निर्माण गरेर सञ्चालन गर्नुपर्नै भएकाले सरकारी तथा गैरसरकारी निकायको सहयोगविना तत्काल रेडियोले प्रसारण सुरु गर्न असम्भव हुन सक्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले स्थानीय रेडियोलाई सहयोग गर्ने र ती रेडियोबाट भूकम्पपछिका विभिन्न असर र प्रभाव तथा जोखिमका बारेमा चेतनामुलक कार्यक्रम, सूचना अनि सन्देश प्रसारण गरेर नागरिकमा आशा जगाउनुपर्छ ।
रेडियो उपकरण, नगद र क्षमता विकासमा जेजेमा जसजसले सहयोग गर्न सकिन्छ त्यसमा पछि हट्नु हुँदैन ।
सामाजिक सञ्जालबाट आउने गलत र भ्रमपूर्ण जानकारीले विपद्को बेलामा नागरिकमा नकारात्मक असर पार्ने भएकाले सही समाचारका लागि रेडियो प्रसारणको छुट्टै महत्त्व हुन्छ ।
अहिले पनि ताजा विवरण सङ्कलनका लागि रेडियोकर्मीहरु प्रभावित क्षेत्रमा खटिरहेका छन् ।
‘भोक, प्यास नभनी खटिरहेका छौँ । तर पनि सुरक्षित र निरन्तर सेवाका लागि कसरी, के गर्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ ।’ रेडियो हाम्रो पाइलाका प्रमुख शर्माले थप्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरी विगतका भूकम्प, कोरोना महामारीलगायतका विपद्मा पनि सामुदायिक रेडियो प्रभावित भएको अनि सरकारी तथा गैरसरकारी निकायको सहयोगमा प्रभावित रेडियोले सूचना प्रवाहलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो ।
रेडियो जाजरकोटका प्रबन्ध निर्देशक नवराज शाही रेडियोका उपकरण कामै नलाग्ने भएर नष्ट भएको बताउनुहुन्छ । टावरबाहेक रेडियोको सबै सकियो उहाँको भनाइ छ ।
जाजरकोट भूकम्पबाट प्रभावित सामुदायिक रेडियोका लागि पनि त्यसप्रकारको सहयोग सरोकारवाला निकायबाट हुनेगरी समन्वय गरिएको अध्यक्ष गिरीको भनाइ छ ।
परकम्पहरू निरन्तर गइरहेकाले यस्तो बेलामा काम गरिरहेका रेडियोकर्मीहरुलाई पनि त्रास हुन्छ, त्यसैले स्टुडियोभित्र र स्थलगत रिपोर्टिङमा जाँदा चाहिने सुरक्षाका सामानहरु आवश्यक छ ।
यो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले स्थानीय रेडियोलाई सहयोग गर्ने र ती रेडियोबाट भूकम्पपछिका विभिन्न असर र प्रभाव तथा जोखिमका बारेमा चेतनामुलक कार्यक्रम, सूचना अनि सन्देश प्रसारण गरेर नागरिकमा आशा जगाउनुपर्छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०, २०:०५