काठमाडाैँ । दसैंका कारण खपत घट्दा करिब ५ सय मेगावाट विजुली खेर गइरहेको छ। बढी विजुली खपत गर्ने उद्योग र कलकारखानाहरू बन्द भएका कारण विजुली खेर गइरहेकाे हो ।
उद्याेग तथा कलकारखाना बन्द भएको तथा र काठमाडौं र तराइमा चिसो सुरू भइनसकेकाले विजुलीको आन्तरिक माग बढ्न नसक्दा विजुली खेर गइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
अहिले प्राधिकरण, यसका सहायक कम्पनी र निजीक्षेत्रका आयोजनाहरूबाट दैनिक करिब २ हजार २ सय मेगावाट विजुली उत्पादन भइरहेको छ। जसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको र करिब ७ सय मेगावाटसम्म भारतमा निर्यात भइरहेको छ। बाँकी करिब ५ सय मेगावाट विजुली खेर गइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक घिसिङले उत्पादित विजुली देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा विजुली खेर फाल्नु पर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो- ‘दसैंका कारण आन्तरिक रूपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युतका निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रूपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं ।’
प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त रहेकाे र स्वीकृति नपाए अझै विजुली खेर जाने उहाँले बताउनुभयो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विजुली भारतमा निर्यात गर्दै आएको छ। प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रूपैयाँको विजुली भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विजुली यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।
प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विजुली भारतर्फ निर्यात गरेको छ। असोजमा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। तीन महिनामा भारततर्फ निर्यात गरिएको विजुलीको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको प्राधिकरणले जनाएको छ। जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०, ०८:०१