म पानी हुँ बगिरहने
जससँग कुनै स्वाद छैन, गन्ध छैन, रङ्ग छैन
तर जीवनका लागि सबैभन्दा मूल्यवान छु ।
हेर मेरो किनारा
जहाँ जीवनको प्रथम बिउ उम्रिएको थियो
जहाँ सभ्यताको पहिलो घाम उदाएको थियो ।
मेरा स्वरहरू टिपेर
तिमीहरूले गीत गाउन सिक्यौ
मेरो आवाज सुनेर
तिमीहरूले धुन भर्न सिक्यौ
मेरा लहरहरू हेरेर
तिमीहरूले नृत्य गर्न सिक्यौ ।
म पानी अर्थात् आमा हुँ
हरियो चोलीबाट निकालेर
मैले तिमीहरूलाई
लाम्टा चुसाएँ, स्तनपान गराएँ
म रक्त नसा हुँ
तिमीहरूको शरीरभरि बगिरहेँ,
मैले केवल दिने काम गरेँ तिमीहरूलाई ।
नीलकण्ठ हुँ म
तिमीहरूले उत्पादन गरेका सबै बिसहरू पिएर
तिमीहरूलाई सधैँ अमृत दिएँ ।
म पानी अर्थात् आमा हुँ आमा
भएकी छु अहिले कुनै माकुरा-आमा
जसलाई खाइरहेछौ तिमीहरू नै ।
र बनिरहेछौ सर्प
जसले खान्छ आफ्नै सन्तानहरूको भविष्य ।
कहिलेकाहीँ सोच्छु
अहिले त म
सन्तानहरूको मृत्युमा
बरखी बारेर बसिरहेकी
कुनै उदास रोगी आमा भएकी छु
हेर्दाहेर्दै
केवल तिमीहरूका कारण
मैले मेरा कैयन् प्रिय सन्तानहरू गुमाएकी छु ।
मैले मेरो काखमा उफ्रिने डल्फिनहरू गुमाएकी छु
मलाई प्रेमले ठुङ्न आउने चराहरू गुमाएकी छु
ओठ र जिब्राले मलाई छुने जनावरहरू गुमाएकी छु
म सफा हुँदा खेल्ने घडियालहरू गुमाएकी छु ।
म सफा पिउने पानी नपाएर आफै तिर्खाएकी छु
धरतीभरि हरियाली पोत्ने म
अचेल प्लास्टिक खाएर बाँझी भएकी छु
म ढल बग्ने बाग्मती भएकी छु
विष्णुमती भएकी छु
छर्किएर रसायन तिम्रो आविष्कारले
मेरा कैयन सन्तानहरूको हत्या गरिदियो
र म अचेल दीर्घ रोगी भएकी छु ।
म यस्ती आमा भएकी छु
जसलाई मानिसले
भगवान् ठानेर पूजा गर्दा पनि फोहोर हुन्छु ।
मेरो सफा ऐनामा अनुहार हेर्दाहेर्दै
तिमी आफ्नै रूपमा सम्मोहित नार्सिसस् भयौ
यति मुग्ध भयौ आफ्नो सुन्दरतामा
कि तिमीहरूले
सबै आफन्त चराचर जगत् बिर्सियौ
धरती बिर्सियौ
तिमीहरूले आफ्नै आमालाई पनि बिर्सियौ ।
हे मेरा प्रिय मानव-सन्तानहरू !
जन्मेपछि हरेक कुरा एक दिन मर्नै पर्छ
म पनि मर्नेछु
मलाई दुख हुने छैन मेरो मृत्युको
दुख यत्ति हुने छ
कि मेरो मृत्युपछि धरतीका कुनै सन्तान जीवित रहने छैनन् ।
दुख यत्ति हुने छ
कि स्वघोषित सबैभन्दा बुद्धिमान प्राणी
अर्थात् तिमी नार्सिससहरू पनि जीवित रहने छैनौँ ।
(विश्व वातावरण दिवसको अवसरमा अक्षर समूह चितवनले आयोजना गरेको पर्या-कविता वाचनमा प्रस्तुत कविता)
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०, १५:३०