बाल्यकालमा बुबाले भारतबाट ल्याउनुभएको रेडियोमा रेडियो नेपाल, रेडियो सिलोन र अल इन्डिया रेडियो चाख दिएर सुनिन्थ्यो ।
गाँउका एकजना भरत काका सधैँ रेडियो कानमा हालेर घुम्नुहुन्थ्यो । गोठाला गएका बेलामा उहाँले बजाएको रेडियो सुन्नको लागि पछिपछि लागेको याद आउँछ ।
एफएम रेडियोको विकाससँगै रेडियोहरू धेरै प्रसिद्ध भए र सूचना सञ्चारको लागि धेरै महत्वपूर्ण कार्य गरे ।
अझैँ पनि आवश्यक सूचना र जनचेतनाको अभावका कारण नेपालमा सामाजिक रुपान्तरण र आर्थिक विकास भने जस्तो हुन सकेको छैन ।
त्यसका लागि अझैँ पनि रेडियोको महत्व र आवश्यकता छ ।
धेरै सञ्चार माध्यम भए पनि सत्य तथ्य समाचार तथा जानकारीको लागि सामुदायिक रेडियोहरूमै भर पर्ने गरेको सर्भेक्षणहरूमा देखिन्छ ।
देशभरिका सामुदायिक रेडियोहरूको पहुँच देशैभरि पुर्याउनका लागि सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले पुलको काम गरिरहेको छ ।
सामुदायिक रेडियोले उठाएका स्थानीय नागरिकका सवाललाई मुलप्रवाहमा ल्याउन र सरकार अनि सरोकारवालामार्फत समाधान गर्ने साझा सञ्जालको रूपमा सीआईएनले काम गरिरहेको छ ।
देशभरि खुलेका सामुदायिक रेडियोहरूका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउन २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।
तत्कालीन संविधानसभाका सभामुख सुवास नेम्वाङले सीआईएनको उद्घाटन गर्दै सीआइएनले संविधान निर्माणका क्रममा जनताका सवाल संविधानसभासम्म ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
उहाँले भने जस्तै सीआईएनले जनताका सुझाव संविधानसभामा पुर्याउन पुलको काम गर्यो । संविधानसभाका विषयगत समितिले गरेका निर्णयलाई जनतासम्म पुर्याउनका लागि ठूलो भूमिका खेल्यो ।
त्यसैले सीआईएनलाई स्थापित गर्यो । समुदायका सवाल, सामाजिक रुपान्तरणका विषयका साथै राजनीतिक विषयलाई सीआईएनले स्वतन्त्र ढङ्गले प्रस्तुत गर्दछ भनेर संविधानसभा, सभासद र राजनीतिक दलले प्रशंसा गरे ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूलाई भूउपग्रह प्रणालीको एउटै सूचना सञ्जालमा आवद्ध गर्नु, प्राविधिक हिसाबले उनीहरूलाई एकआपसमा दुईतर्फी बनाएर सामुदायिक रेडियोको शक्ति बढाउने भन्ने उद्धेश्यलाई सीआईएनले पूरा गर्दै गयो ।
सीआईएनका समाचार र कार्यक्रमलाई देशभरिका सामुदायिक रेडियोले प्रसारण गर्दै आएका छन् ।
जिल्लाका रेडियोमा काम गर्ने साथीहरूले आफ्नो रेडियोका साथै पछिल्लो समय धेरै व्यवसायिक रेडियो, विभिन्न, एप र अनलाइनले समेत यसलाई गुणस्तरीय र सन्तुलित भनेर प्रसारण गर्न थालेकाले सीआईएन सबैको साझा नेटवर्क र विश्वासिलो सञ्चार माध्यमको रूपमा विकास भएको छ ।
सीआईएन १५ औँ वर्ष प्रवेश गर्दै गर्दा हामीले धेरै आरोहअवरोह पार गर्दै आएका छौँ ।
धेरै उपलब्धिहरू हासिल गरेका छौँ । प्रसारणमा मात्रै होइन सामाजिक रूपान्तरण र कुरीति अन्त्यको अभियानलाई पनि सीआईएनले सँगसँगै अघि बढाएको छ ।
राष्ट्रिय एकता, पहिचान, लोकतन्त्र, शान्ति, दिगो विकास र परम्परागत हानिकारक अभ्यासहरूको अन्त्य गरी सामाजिक रूपान्तरणको काममा सीआईएनले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।
भाषा र संस्कृतिको संरक्षण र विकासका लागि सीआईएनले स्थापना कालदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
२०७२ सालको विनासकारी भूकम्पको समयमा र त्यस पश्चात पनि सीआईएनले राम्रो काम गर्न सक्यो । मधेसमा भएको डुवान र हुरीले सिर्जना गरेको विपद्को समयमा त झन् स्थानीय भाषा र लवजमा जानकारी बाँडेपछि सीआईएनको महत्व बढेको छ ।
सामाजिक रुपान्तरण र सबै प्रकारको विभेदको अन्त्यका लागि सीआईएनले प्रभावकारी कार्यक्रम तथा रेडियो सामग्री प्रसारण गर्दै आएको छ ।
देशभरि सञ्चालनमा रहेका ३ सय ७२ भन्दा बढी सामुदायिक रेडियोहरूको पक्षमा वकालत गर्न र उनीहरूको स्तरोन्नतिका लागि अझैँ सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले धेरै गर्न बाँकी छ ।
कोभिड १९ ले सिर्जना गरेको अफ्ठेरोमा पनि सीआईएनले आफूलाई अब्बल सावित गर्नसक्यो ।
गएको निर्वाचनमा थप बुलेटिन र प्रत्यक्ष प्रसारण गरेर सीआईएनले नागरिकलाई चाहिने सूचना मात्रै दिएन, भ्रामक तथा गलत सन्देशहरूको भ्रमबाट जोगिन स्रोताहरूलाई बचाउने काम पनि गर्यो ।
सीआईएनको समाचार कक्षलाई देशैभरिका सामुदायिक रेडियोको साझा समाचार कक्ष र साझा पाठशालाको रूपमा विकास गर्ने प्रयत्न गरिएको छ ।
भौतिक रूपमा र भच्र्युअल माध्यमबाट सामुदायिक रेडियोकर्मीको क्षमता विकास गर्ने काम सीआईएनले गरिरहेको छ ।
आगामी दिनमा सीआईएनमा इन्टर्न गर्नको लागि सामुदायिक रेडियोबाट आउने र सामुदायिक रेडियोमा सीआईएनकर्मी जाने वातावरण हामी बनाउँदै छौँ ।
नेपालकै सबैभन्दा ठूलो प्रसारण सञ्जाल मात्रै नभई एसियाकै उदाहरणीय रेडियो नेटवर्कको रूपमा आफूलाई स्थापित गर्न सीआईएन सफल भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित भई समाजको सकारात्मक रुपान्तरणका साथै समतामूलक समृद्ध र सुरक्षित समाज निर्माणमा सीआईएन जुटिरहेको छ ।
उद्देश्य अनुरुप नै नागरिकको सूचनाको अधिकारलाई प्रवद्र्धन, लोकतन्त्र, सामाजिक न्याय, मानवअधिकार तथा सामाजिक रूपान्तरण, विपतको सामना, कृषि र आर्थिक समृद्धि अनि वातावरण र कला संस्कृतिको संरक्षणलाई सीआईएनले प्राथमिकता दिँदै आएको छ ।
सूचना अभावबाट उत्पन्न गरिबीलाई समेत यसले न्यूनीकरण गर्ने भूमिका खेल्दै आएको छ । स्वभावतः यो सञ्जाल अरू भन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा विश्वासिलो र दुःख सुखको साथीको रूपमा बलियो प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
हरेक राजनीतिक घटनाक्रममा सीआईएनले राम्रो भूमिका निर्वाह गर्न सक्यो । अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले प्रशंसा गरिरहेका छन् ।
जनता, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीति नै बनाएर अघि बढेको छ ।
जनताका सवालहरूलाई समाधान गर्न ‘सोधीखोजी’ कार्यक्रम गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विषेश कार्यक्रम तथा गहिरो खोजी गरेर रिपोर्टहरू प्रसारण गर्ने गरेको छ ।
सांसदहरूलाई नागरिकसँग जिम्मेवार बनाउन सीआईएनले ‘हेल्लो सांसद’ कार्यक्रम गर्दै आएको छ ।
यसले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ । सानासाना बालिबालिका र युवाका लागि ‘हाम्रो पालो’ भन्ने रेडियो कार्यक्रम सीआईएनले प्रसारण गर्दै आएको छ ।
‘हेलो सीआइएन’ मार्फत सीआईएनको आईभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरूको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुदै गएको छ ।
सीआईएनमा भनेपछि समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाउन सकेकाले नै यति धेरै स्रोताहरूले सीआईएनमा प्रश्न टिपाइरहनु भएको छ ।
देशैभरिका सामुदायिक रेडियोेमा र सीआईएनमा जागिर भन्दा सेवाको भावना र स्वयंसेवी भावना बढी भएका साथीहरूको कारण हामीले धेरै सफलता हासिल गर्न सकेका छौँ ।
धर्मका नाममा बालबालिका, महिला र अन्य कसैलाई पनि विभेद नगर्ने र विभेद अन्त्य गराउन र बालविवाह रोक्न सबै धर्मका धर्मगुरुलाई प्रतिबद्ध गराउने काम सीआईएनले गरेको छ ।
दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाहलगायतका कुरीति विरुद्धका रेडियो कार्यक्रम र सूचनामूलक सामग्री निर्माण गरेर प्रसारण गर्ने काम निरन्तर भइरहेको छ ।
देशभरिका संवाददाताहरूलाई रेडियो रिपोर्ट निर्माण, प्रभावकारी समाचार लेखनका काम फोन, इमेल र सामाजिक सञ्जालमार्फत सिकाउने काम हुदै आएको छ ।
यस कारण १ सय ५० जना रेडियोकर्मीलाई भच्र्युअल माध्यमबाट तालिम दिने काम भयो भने ३५ जनालाई प्रत्यक्ष उपस्थित भएर तालिम दिने कार्य भयो ।
गएको वर्ष २० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायसँग सीआईएनले रेडियो कार्यक्रम उत्पादन, रेडियो जिङ्गल, पीएसए र अन्य रेडियो सामग्रीहरूको उत्पादन र प्रसारणको लागि सहकार्य गरिएको छ ।
सहकार्य हुँदै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा सञ्चारमाध्यमसँगको सहकार्य आगामी वर्षहरूमा पनि निरन्तर र अझ प्रगाढ हुँदै जानेछ भन्ने अपेक्षा गर्दछौँ ।
हामीलाई साथ दिने सम्पूर्ण साझेदार संस्थाहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।
सीआईएनमा आवद्ध देशभरिका सामुदायिक रेडियोकर्मीहरू, अकोराब सीआईएनमा स्थापनाकालदेखि काम गर्नुहुने पूर्व सहकर्मी तथा अहिले कामगरिरहनु भएका सहकर्मी साथीहरू, सामुदायिक रेडियो प्रसारक सङघका सहकर्मी साथीहरू, पदाधिकारी, बोर्डका पदाधिकारीज्यूहरू र अहिले कामगरिरहनु भएका सहकर्मी साथीहरूकै अतुलनीय योगदानकै कारण सीआईएन आज नेपाल मात्रै नभई दक्षिण एसियाकै सबै भन्दा ठूलो रेडियो नेटवर्क र विश्वकै मोडल सञ्चार माध्यमको रूपमा विकास भइरहेको छ ।
सीआईएन १५ औँ वर्षमा प्रवेश गर्दाको सुखद क्षणमा ती सम्पूर्ण सहयोगी हातहरूलाई नमन गर्दै सीआईएनलाई माया गर्ने सबै स्रोता शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दछौँ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०, ०७:१३