काठमाडौँ । कोही कोक्रोमा सुतिरहेका छन् त कोही खेलिरहेका । अनि कुनैलाई चाहिँ ‘कमला आमा’ फकाउँदै खेलाउँदै हुनुहुन्छ । बुढानीलकण्ठका कमला केसी सिंहदरबारभित्रको दिवा शिशु स्याहार केन्द्रमा १२ वर्षदेखि यसरी नै शिशुको हेरचाह गर्दै आउनुभएको छ ।
यहाँ तीन महिनादेखि १ वर्षसम्मका शिशुको हेरचाह गरिन्छ । ‘जत्ति सानोमा यहाँ आइपुग्छन् हेरचाह गर्न उत्ति नै सजिलो हुन्छ’, केसी भन्नुहुन्छ ‘कति बच्चा त यति घुलमिल हुन्छन् कि आमासँग पनि जान पनि मान्दैनन् ।’
आफ्ना दुई सन्तानले एसएलसी पास गरिसकेपछि उहाँले पुनः शिशु स्याहारको जिम्मेवारी लिँदै सिंहदरबार छिर्नुभयो । ‘यिनीहरू मायाको पोका हुन् नि, यिनीहरूसँग खेल्दा, खुवाउँदा, सुताउँदा, उठाउँदा दिन बितेको पत्तै हुन्न’ उहाँ भन्नुहुन्छ । शिशुहरूलाई कहिलेकाहीँ त घर पठाउन नपरे पनि हुन्थ्यो जस्तो लाग्ने केसी बताउनुहुन्छ । सिंहदरबार र आसपासका महिला कर्मचारीले तीन महिनादेखि तीन वर्षसम्मका बालबालिका सिंहदरबार परिसरमा रहेको दिवा शिशु स्याहार केन्द्रमा राखेर कार्यालय जान्छन् ।
कामकाजी महिलाको सङ्ख्या बढ्दै जाँदा पूर्ण स्तनपानको दर भने घट्दै गएको छ । कामका लागि टाढा जानुपर्ने बाध्यता हुनु, काम गर्ने ठाउँमा शिशु स्याहार केन्द्र नहुनु, जस्ता कारणले आमाहरू शिशुलाई घरमै छोडेर काममा जान बाध्य छन् । तर, सिंहदरबार आसपास र ललितपुरको सहरी क्षेत्रमा कार्यरत निजामती कर्मचारीले भने आफ्ना सन्तानलाई पूर्ण स्तनपान गराउन पाइरहेका छन् ।
महालेखा परीक्षकको कार्यालयमा कार्यरत मञ्जु मोक्तान कलङ्कीमा बस्नुहुन्छ । स्तनपान गराउनकै लागि बबरमहलबाट कलङ्की जान आउन सम्भव नभएपछि उहाँ ५ महिनाको छोरीलाई आफूसँगै ल्याउनुहुन्छ, शिशु स्याहार केन्द्रमा छोड्नुहुन्छ, बेला बेला स्तनपान गराउन जानुहुन्छ र बेलुका आफूसँगै घर लैजानुहुन्छ । ‘घरमा आमा त हुनुहुन्छ तर म कार्यालयबाट फर्किदा नानी एकदम रोइरहेको हुन अनि बरु होस् भनेर आफैसँग ल्याउँछु’ मोक्तानले भन्नुभयो ।
होइन प्रशासकीय अदालत सिंहदरबारमा कार्यरत प्रेजिना राई पनि केन्द्रमा राखेको बच्चालाई स्तनपान गराउन समय समयमा आइरहनुहुन्छ । केन्द्रकै हेरचाहमा हुर्किएको पहिलो सन्तान विद्यालय जान थालिसकेको र दोस्रो सन्तान पनि केन्द्रमै हुर्किरहेको उहाँ बताउनुहुन्छ । ‘हामी त काठमाडौँमा श्रीमान् श्रीमती मात्रै बस्छाैँ दुवै जना कामकाजी, अनि कसरी बच्चा हुर्काउनु ?’ राई भन्नुहुन्छ ‘मलाइ त एकदमै सहज भएको छ, मेरो त दुई ओटै बच्चा यहीँ हुर्किए ।’
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा निजामती कर्मचारी श्रीमती सङ्घले १२ वर्ष अघिबाट यो केन्द्र सञ्चालन गरिरहेको छ । एकटकमा ३५ जनाको क्षमता रहेको केन्द्रमा हालसम्म साढे ४ सय बालबालिका हुर्किएका छन् । बालबालिकाको हेरचाहका लागि केन्द्रमा १३ जना आमा छन् । केन्द्रले मासिक १५ सय रुपैयाँ शुल्क लिने गरेको छ ।
उमेर अनुसारको खानेकुरा यही शुल्कबाट व्यवस्थापन गरिन्छ । केन्द्रका सह–व्यवस्थापक सङ्गीता घिमिरेका अनुसार यहाँ हुर्किएका बालबालिका अन्य बालबालिकाको तुलनामा सामाजिक छन् । ‘यहाँ समूहमा हुर्किन्छन् बालबालिका सबैसँग घुलमिल हुने, मिलेर बस्नेतलगायतका व्यवहार फरक रहेको स्वयं अभिभावक नै बताउँछन्’ घिमिरेले भन्नुभयो ‘हामी सुरुमा बालबालिका लिँदा उनीहरूको तौल लिन्छाैँ यहाँ समय तालिका अनुसार खुवाइन्छ उनीहरूको तौल पनि सन्तुलित हुन्छ, बालबालिकाको लागि मनोरञ्जनात्मक हिसाबले अक्षर पनि चिनाइन्छ ।’ त्यसो हुँदा बालबालिकाको विद्यालय शिक्षा पनि राम्रो हुने घिमिरेको अनुभव छ ।
निजामती सेवामा २३ हजार ५ सयभन्दा बढी महिला कार्यरत छन् । उनीहरूमध्ये सिंहदरबार आसपासका कर्मचारीले मात्रै केन्द्रमा बच्चा राख्न पाउँछन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा विकास शाखाका प्रमुख कृष्ण थापा यसलाई प्रदेश स्तरमा स्थापना गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । ‘कर्मचारी चाहियो, पूर्वाधार चाहियो यसका लागि राज्यले ठुलो रकम खर्च गर्नुपर्छ फेरि बालबालिकाको सङ्ख्या पनि बढी हुनुपर्छ त्यसैले अर्को वर्ष प्रदेश स्तरमा स्याहार केन्द्र स्थापना गर्ने योजना बनाइरहेका छाैँ ।’
सरकारले ललितपुरको पुलचोकमा पनि दिवा शिशु स्याहार केन्द्र स्थापना गरेको छ । सिंहदरबार र ललितपुर आसपासका निजामती कर्मचारीले यो सुविधा पाए पनि देशभरका कर्मचारीले यो सुविधा पाएका छैनन् । निजी क्षेत्रमा कार्यरत महिला कर्मचारीले त बालबच्चा हुर्काउन पेसा नै छोड्नुपर्ने अवस्था छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, १५:१०