धनगढी । नेपाल–भारत सिमानामा बग्ने मोहना नदीले बर्सेनि कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । नेपालतिरको जमिन कटान मात्रै भएको छैन, नदीले धार परिवर्तन गर्दै जाँदा कटान भएको जमिन बगर बन्ने क्रम पनि बढिरहेको छ । नदीले बगर बनाइदिएको आफ्नो त्यही जमिनमा किसानले हिउँदमा भने खेती गर्ने गरेका छन् ।
हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा किसानहरू यो समयमा बगरमा तरकारी खेती गर्छन् । बगरमा नै किसानले प्याज, मूला, खुर्सानी, काँक्रा, लौका, करेला, तरबुजालगायत तरकारी उत्पादन गर्दै आएका छन् ।
बगर खेतीबाट उत्पादन र आम्दानी राम्रो भइरहेको तीन वर्षदेखि बगर खेती गरिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाका झुटा रानाले बताउनुभयो । ‘तीन वर्षदेखि बगरमा खेती गरिरहेको छु’ उहाँले भन्नुभयो, ‘थुप्रै किसिमका तरकारीहरु फलाइरहेको छु,’ मेहनत अनुसार राम्रै आम्दानी पनि भइरहेको छ ।’
![](/uploads/shares/2023/01/IMG_20230123_125844 copy.jpg)
धान, गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि किसान चिन्तित हुने गरेका थिए । तर, पछिल्लो समय बगरबाट पनि उत्पादन लिन सकिन्छ भन्ने चेतना बढेपछि किसान अहिले बगरलाई हराभरा बनाउँदै उत्पादन लिन थालेका छन् । बगर खेतीबाटै एक मौसममा ५० देखि ६० हजारसम्म आम्दानी गर्ने सात वर्षदेखि बगरमा तरकारी उत्पादन गर्दै आउनुभएकी माया रानाले बताउनुभयो । उहाँले हिउँदमा नदीमा बाढी नआए राम्रो उत्पादन लिन सकिने बताउनुभयो । ‘बगरमा तरकारी फलाउन लागेको सात वर्ष जति भयो होला’ उहाँले भन्नुभयो, ‘बगरमा गरेको मेहनत खेर जाँदैन । राम्रै फल प्राप्त गर्न सकिन्छ । उत्पादन देखेर बगर खेती गर्नेहरू पनि बढ्दै गइरहेका छन् ।’
![](/uploads/shares/2023/01/IMG_20230123_124330 copy.jpg)
आफ्नो जमिन भएकाले मात्रै नभई अन्य किसानहरूले पनि जग्गा मागेर वा भाडामा लिएर बगरमा तरकारी उत्पादन गरिरहेका छन् । धनगढी–१० कि अनारकली रानाले पनि अरुकै जग्गामा तरकारी फलाइरहनुभएको छ । ‘८–९ वर्षदेखि अरुकै जग्गा पर्ने बगरमा तरकारी फलाइरहेकी छु,’ उहाँले भन्नुभयो, ‘जग्गा धनीलाई बदलामा उत्पादन गरेको तरकारी वा अन्य केही कुरा दिन्छु ।’
उहाँले आफूजस्ता अन्य केही किसानले पनि अरुकै जग्गामा तरकारी उत्पादन गरेर जीविकोपार्जन गरिरहेको बताउनुभयो । बगर खेतीबाट उत्पादित तरकारीलाई किसानले धनगढी लगायत बजारमा विक्री गर्ने गरेका छन् ।
बगर खेतीबाट किसानले वार्षिक ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । बगर खेतीमा रमाइरहेका प्रमीला बखरिया स्थानीय तहले किसानलाई बगर खेतीका लागि सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, १७:४९