काठमाडौ । नेपाली काँग्रेस माओवादीसहितको गठबन्धन कायमै रहने निष्कर्षमा थियो । गठबन्धन नटुटोस् भन्ने चाहना पनि काँग्रेसको थियो । किन पनि भने यो गठबन्धनबाट सङ्घीय र प्रदेश सरकारमा सबैभन्दा बढी फाइदा आफूलाई नै हुने काँग्रेसले बुझेको थियो । तर घुर्क्याउँदै, फकाउँदै र डर देखाउँदै प्रधानमन्त्री र राष्ट्रपति पद दुवै आफैँसँग राख्ने काँग्रेसको योजना त्यति बेला फेल खायो जति बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने गरी सत्ता साझेदारी गर्न तयार हुनुभयो । सत्ता राजनीतिमा नराम्ररी पछारिएको काँग्रेस प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिँदै एमाले र माओवादीको बिचमा पुनः शङ्काको बीज रोप्न केही हदसम्म सफल भएको त छ तर यसले काँग्रेस नेतृत्वको हुस्सुपन छताछुल्ल भएको छ । अर्कोतिर, सत्ताका लागि मरिहत्ते गर्न तयार रहेको भन्ने अबगाल पनि सहनुपर्ने भएको छ । सभामुख र राष्ट्रपति पदमा विश्वासको मतको हिसाब खोज्ने काँग्रेसको रणनीति सफल होला ? काँग्रेस नेता डा. चन्द्र भण्डारीसँग सीआईएनकर्मी राजन रुचालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
काँग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई किन विश्वासको मत दिएको ?
सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको काखमा पुग्नुभयो । हामीले समय लिएर पार्टी सभापति शेरबहादुर देउवासँग भेट्यौँ । किन यो घटना घट्यो ? कहाँबाट यो बिग्रियो ? भन्दा उहाँले गल्ती भयो भन्नुभयो । अनि हामीले यसलाई सच्याउन सक्नुहुन्छ भनेर प्रश्न गर्यौँ । त्यसपछि उहाँले ‘मलाई साथ दिनुस्, मौका दिनुस्, प्रचण्डलाई विश्वासको मत दिनुस्, म सच्याउँछु भन्नुभयो । अनि हामीले बिना कुनै सर्त हुन्छ भन्यौँ र प्रचण्डलाई विश्वासको मत दियौँ । हामी हालको अबस्थामा रणनीतिक रूपमा पनि प्रचण्ड जी सँगै बस्न चाहन्छौँ । सभामुख र राष्ट्रपतिमा पनि हाम्रो दाबी हुन्छ ।
दाबी मात्रै हुन्छ कि माओवादीसँग सहकार्य पनि हुन्छ ?
दाबी पनि हुन्छ, सहकार्य पनि हुन्छ । यदि यो दुई वटै भएन भने नयाँ तरिकाबाट हामी सोच्छौँ । मैले पटक पटक भन्दै आएको छु, एक महिना पर्खौँ ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि काँग्रेससँग सभामुख र राष्ट्रपति पदका लागि छलफल हुन्छ भनेर अभिव्यक्ति पनि दिनुभयो, यसलाई कुन रूपमा बुझ्ने ?
उहाँले छलफल मात्रै होइन सहकार्य पनि गर्नपर्छ । हामीले जुन सपना जनतालाई देखाएर चुनावमा गठबन्धन गरेका थियौँ, त्यो सपनालाई टुट्न दिनुहुन्न । त्यसका लागि उहाँले भएको गल्तीलाई सच्याउनै पर्छ । छलफल गर्छु भन्नु सकारात्मक कुरा हो ।
सङ्घमा सरकार बनिसक्यो, विश्वासको मत लिई सक्यो, मन्त्रीपरिषद् बिस्तार भइसक्यो, प्रदेशहरूमा सरकार बनिसके अब कसरी सच्चिन्छ ? कसरी काँग्रेस सरकारमा पुग्छ ?
हिजो कम्युनिस्ट पार्टीको झन्डै दुई तिहाइ बहुमतको सरकार थियो नि, तर टिकेन । ओली जी आफ्नो वरिपरि कसैलाई सहनै सक्नुहुन्न । उहाँ त आफैँ सुपर हो । प्रचण्डमा पनि धेरै दबेर बस्न सक्ने नेचर त छैन । त्यस कारण उहाँहरूको सहकार्य धेरै टिक्दैन क्या । यस्तो अवस्थामा काँग्रेसले सबै दोकान बन्द गरेर बस्न त भएन नि । दोकानहरू सानो रूपमा भए पनि खोलेर राख्नुपर्छ भन्ने सिद्धान्तका आधारमा यो गरेको हो । तर यो रणनीति सफल नहुन पनि सक्छ ।
काँग्रेसले सत्ताका लागि बल्छी चाहिँ थापिराखेको हो ?
गठबन्धन गरेकै सत्ताको लागि थियो नि । अनि किन सम्भावना नखोज्ने ?
मानिलिउँ कि, सभामुख वा राष्ट्रपतिमा माओवादीले काँग्रेसलाई सघायो र एमाले पनि सरकारमै बस्यो, त्यस्तो अवस्थामा काँग्रेस चाहिँ कहाँ अटाउँछ ?
नेपालका लागि लोकतन्त्रको नयाँ प्रयोग हो । हाम्रा कतिपय साथीहरू अहिले काँग्रेसले सरकारलाई विश्वासको मत दिनु लोकतन्त्रको मूल्य र मान्यता विपरीत हो भन्नुहुन्छ । तर, कुनै पनि सिद्धान्त कुनै पनि दर्शन एउटा निश्चित अवधिको निम्ति हुन्छ । तर कार्यान्वयन हुँदै जाँदा, लोकलाईजेसन् हुँदै जान्छ । यो हामी नयाँ अनुभव गर्दै छौँ । नेपालको राजनीतिमा यो षड्यन्त्र माथि षड्यन्त्र हो । ओलीको षड्यन्त्र माथि देउवाको षड्यन्त्र भनेर बुझ्दा पनि हुन्छ ।
तपाईँहरूको यस्तो षड्यन्त्रको आयु राष्ट्रपतिको चुनावसम्म मात्रै होला नि हैन ?
यदि प्रचण्डले जीले कुनै पनि स्थानमा सहयोग गर्नुभएन भने त एउटाको अन्त्य अर्कोको सुरुवात त हुन्छ ।
त्यसपछि चाहिँ विश्वासको मत दिइएकोमा आफैँलाई धिक्कार्ने होला ?
धिक्कार्ने भन्ने हुँदैन, किनभने यो सिकाइको प्रक्रिया हो । यदि हामीलाई सहयोग भएन भने गठबन्धन गर्नु नै गलत थियो भन्ने प्रमाणित हुन्छ ।
त्यसपछि पार्टी राजनीतिमा त्यसको बहस सुरु हुने हो ?
हो त्यसपछि पार्टीमा गठबन्धन असफल हुनुको कारण खोजिन्छ ।
त्यस बेला नेतृत्वमाथि प्रश्न उठ्छ कि उठ्दैन ? प्रश्न उठ्यो भने असर गर्छन् कि गर्दैन ?
प्रश्न उठ्छ र असर पनि गर्छ । तर, जतिसुकै असर गरे पनि जतिसुकै कमजोर बनाए पनि नेपालको संविधान त तिनै शीर्ष नेताको पक्षमा छ । किनकि संसद्मा जानुहुन्छ, समानुपातिक छ । पार्टीमा जानुहुन्छ, मनोनीतको व्यवस्था छ । एक थरी खाइपिई राजनीति गरेका छन् । शीर्ष नेताको वरिपरि तिनै मान्छेहरू छन् । उनैले चिल्ला गाडी चढेका छन् । उनैले पैसा कमाएका छन् । स्रोत उनीहरूकै वरिपरि छ । त्यसैले नेपालमा छिटो परिवर्तन हुँदैन नि । अहिले मात्रै हो छिटो परिवर्तन भएर राजनीति गरेको ६ महिनामा रवि लामिछाने जीहरू सत्तामा पुग्नुभएको ।
नयाँ नयाँ मान्छेहरू मन्त्री बनेको देखेर वर्षौँदेखि राजनीति गरेका तपाईँहरू अत्यास पनि लाग्छ होला है ?
अँ कैले कैले कस्तो लाग्छ भने न हामीले पार्टी सुधार्न सक्यौँ, न मुलुक बनाउन सक्यौँ । न प्रजातन्त्रलाई व्यवहारिक रूपमा उतार्न सक्यौँ । कहाँनिर केमा परियो भन्ने चाहिँ लाग्छ ।
डा. भण्डारीसँग गरिएको भिडियो कुराकानी
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९, २१:१२