नेपालमा बालबालिकामा सबैभन्दा धेरै क्यान्सर ब्लड क्यान्सर अर्थात् रक्त क्यान्सर रहेको छ । त्यसपछि आँखा र मिर्गौलाको क्यान्सर पनि बालबालिकामा बढी देखिने गरेको छ । नेपालमा बालबालिकामा क्यान्सर बढ्दै गएकोबारे अनुसन्धान भइरहेका छन् । तर अहिल्यै यही कारण विशेषले क्यान्सर बढेको भनेर ठोकुवा गर्न सकिने अवस्था छैन ।
पहिला पहिला बालबालिकालाई क्यान्सर लागेको छ या छैन भनेर पत्ता लाउन त्यही अनुसारको प्रविधि र दक्ष जनशक्ति थिएन । जसले गर्दा बालबालिका लामो समयसम्म बिरामी पर्ने अनि अभिभावकलाई उनीहरू किन बिरामी परेका होलान् भनेर चिन्ता लिइरहनुपर्ने अवस्था थियो । अर्थात् त्यसको निदान हुने अवस्था थिएन । तर, अहिले नेपालमै दक्ष जनशक्ति भएका कारण पनि क्यान्सरको निदान हुन थालेको छ । यस कारण पनि क्यान्सर बढेको देखिएको हो ।
यसै गरी, पहिला पहिला पाँच वर्ष मुनीका बालबालिकामा सङ्क्रामक रोग बढी देखा पर्ने र त्यसकै कारण मृत्युदर बढी हुने गरेको थियो । सङ्क्रामक अर्थात् सरुवा रोग नियन्त्रण गरेर बाल मृत्युदर घटाउन सफल हुँदै जाँदा क्यान्सर जस्तो नसर्ने रोगको सुख्खा बढेको देखिनु अर्को कारण हो । तर कारणहरू अरू पनि हुन सक्छन् । आधिकारिक अनुसन्धानको परिणाम नआई भन्न सकिने अवस्था छैन ।
बाल क्यान्सर एउटा उमेर समूहमा मात्र देखा पर्ने होइन । भर्खर जन्मिएको बच्चामा पनि क्यान्सर देखा परेको पाइएको छ । आफ्नो परिवारको अघिल्लो पुस्ताको कसैलाई क्यान्सर भएको भए सन्तानमा क्यान्सर हुने सम्भावना त हुन्छ तर यस्तो सम्भावना धेरै हुँदैन । बच्चाको जिनमा केही गडबडी भएका कारण पनि क्यान्सर हुन सक्छ ।
समयमै पत्ता लगाउन सकेमा क्यान्सर निको हुन्छ । समयमै पत्ता लागेमा क्यान्सर भएकामध्ये ७० प्रतिशत बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ ।
बालबालिकालाई लामो समयसम्म ज्वरो आएमा, कुनै पनि समस्या देखा परेर लामो समयसम्म निको नभएमा क्यान्सर भएको हुन सक्छ । यस्तो लक्षण देखिएमा क्यान्सरको परीक्षण गराउनुपर्छ । बाल क्यान्सरको उपचारका लागि राज्यले पनि प्राथमिकता दिएको छ । सरकारले क्यान्सर उपचारका लागि बिरामीलाई १ लाख रुपैयाँसम्म छुट दिने गरेको छ । क्यान्सर रोग लागेका बालबालिका अस्पतालको सम्पर्कमा आएमा पैसाको अभाव भएर उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अब छैन ।
थप जानकारी यो भिडिओमा
( बाल, रगत तथा क्यान्सर रोग विशेषज्ञ डा. तुलाधर पाटन अस्पतालका बाल, रगत तथा क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ ।)
प्रकाशित मिति: आइतबार, असार १७, २०८१, १६:३३