कैलाली । कैलालीको टीकापुर नगरपालिकाले प्रदान गरेको तालिम र बिउ पुँजीलाई सदुपयोग गर्दै नगरपालिका भित्रका केही महिलाहरू आत्मनिर्भर बनिरहेका छन् ।
नगरपालिकाले दिएको तालिम र त्यसपछि पाएको बङ्गुर पालेर टीकापुर नगरपालिका वडा नम्बर १ वनगाउँका दीलु घर्ती मगरले राम्रो आम्दानी गर्नु भएको छ ।
उहाँले एउटै बङ्गुरको मासुबाट ५० हजार रुपैयाँ कमाउन सफल हुनु भएको छ ।
दीलु मात्रै होइन वनगाउँकै गोमा घर्ती मगर पनि नगरपालिकाले दिएको ८/१० हजार रुपैयाँ बराबरको कार्यक्रमबाट आत्मनिर्भरको बाटोमा लाग्नु भएको छ ।
नगरपालिकाबाट पाएको त्यो सहयोगले आत्मनिर्भर भएपछि गोमालाई आफ्नो श्रीमानको मुख ताक्नुपर्ने बाध्यता हटेको ।
‘पहिले सानोतिनो कामका लागि पनि श्रीमानलाई पैसा माग्नु पर्ने बाध्यता अहिले हटेको छ ।’ गोमाले भन्नुभयो ।
३ वर्ष अगाडि टीकापुर नगरपालिकाबाट एउटा बाख्रा, खोर व्यवस्थापन र बाख्राको औषधि उपचारका लागि गोमाले सहयोग पाउनु भएको थियो ।
अहिले उहाँका १५ ओटा बाख्रा छन् । त्यो बाख्राबाट उहाँलाई राम्रै आम्दानी भइरहेको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरका कृष्णीदेवी चौधरीले पनि नगरपालिकाले दिएको सहयोग लिनुभएको छ ।
५ वर्षदेखि खाजानास्ता पसल सञ्चालन गरिरहनु भएका उहाँ करिब ३० हजार लगानी आफूलाई गरेकोमा नगरपालिकाप्रति आभारी हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘नगरापलिकाले दिएको तालिम र सामानले आत्भनिर्भर बनाउन सहयोग भएको छ । पहिले चिया, नास्ता मात्र बनाउने गरेको थिएँ । अहिले अर्डर अनुसार खाना समेत खुवाउने गरेको छ ।’
राम्रो व्यापार भएको दिनमा दिनको १० हजारसम्म कमाउने कृष्णीदेवी आफ्नो सबै घरखर्च यही पसलबाट चलाउन सफल हुनुभएको छ ।
कैलालीको टीकापुर नगरपालिकाले आफ्नो खर्च र स्रोत व्यवस्थापनमा ध्यान त दिएको छ नै, नगरबासीको आर्थिक समृद्धिका लागि बीउपूँजि दिने व्यवस्था गरेको छ । यो व्यवस्थाले स्वरोजगार र आम्दानीका लागि सजिलो भएको सेवा लिनेहरू बताउँछन् ।
टीकापुर नगरपालिकाले स्वरोजगार बन्न चाहाने १ सय ४९ जनालाई बिउ पूँजी बराबर ११ लाख ८७ हजार लगानी गरेको छ ।
यो लगानी नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गरिएको हो ।
नगरपालिकाभित्रका गरिब, विपन्न परिवारलाई उद्यमसँग जोडेर उनीहरूको आर्थिक उपार्जन गर्ने उद्धेश्यले सञ्चालन गरिएको कार्यक्रमले विपन्न समुदायका महिलालाई मात्रै होइन, सीप सिक्न चाहाने वा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई पनि सहयोग गर्दै आएको टीकापुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताउनुभयो ।
बिउ पुँजी वितरणका लागि बनाएको मापदण्डमा विपन्न १८ देखि ४० वर्ष उमेर समूहका नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति वा तिनका परिवारका सदस्य, वैदेशिक रोजगारीबाट फर्की आयआर्जनमा जोडिन चाहने व्यक्ति, विपद जोखिममा रहेका वा परेका व्यक्तिलगायतलाई प्राथमिकतामा राख्ने भनिएको छ ।
तर यस्तो सेवा लिन चाहानेहरूको सङ्ख्या धेरै भए पनि स्रोतको अभाव भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा विकल्पको खोजी भइरहेको नगरपालिकाको भनाइ छ ।
कैलालीको टीकापुर नगरपालिकाले आफ्नो खर्च र स्रोत व्यवस्थापनमा ध्यान त दिएको छ नै, नगरबासीको आर्थिक समृद्धिका लागि बीउपूँजि दिने व्यवस्था गरेको छ ।
यो व्यवस्थाले स्वरोजगार र आम्दानीका लागि सजिलो भएको सेवा लिनेहरू बताउँछन् ।
अडियो रिपोर्टः
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९, १५:०६