यस पटकको निर्वाचनले निकै उत्साही बनाएको छ । केही नौलो पनि र केही अनौठो लागेको छ । यो हाम्रा लागि नयाँ अनुभव पनि हो । अझै पूरा नतिजा त आइसकेको छैन तर, प्रारम्भिक परिणामलाई नियाल्दा हामी उत्साही छौँ ।
हामीले निर्वाचनको तयारी गर्दै गर्दा विभिन्न प्रक्षेपण गरेका थियौँ । एकदमै राम्रो भए कस्तो र एकदमै नराम्रो भए कस्तो नतिजा आउला भन्ने प्रक्षेपण गरेका थियौँ । अहिलेसम्मको नतिजा हेर्दा एकदमै राम्रो पनि होइन र एकदमै खराब पनि होइन भन्ने हाम्रो ठम्याइ छ । बिचतिरको नतिजा प्राप्त भएको छ । हामीले दोस्रो, तेस्रो वा चौथो कुन दल बन्छौँ भन्ने खालको लेखाजोखा त राखेको थिएनौँ । तर, निर्णायक हुन्छौँ भन्ने हाम्रो आँकलन थियो । अब हामी तेस्रो दल पक्कै बन्छौँ भन्ने लागेको छ । त्यसमा पनि दोस्रो दलसँग धेरै ठुलो दुरी रहँदैन कि भन्ने लागेको छ ।
समग्रमा हामीलाई खुसी छौँ ।
समानुपातिकमा चाहिँ सोचेको जस्तो मत अलि आएन भन्ने लागेको छ । हामी नयाँ दल हौँ । तयारी पनि पर्याप्त गर्न पाएनौँ । धेरै ठाउँमा पुग्न सकेनाैँ । हाम्रा कुरा धेरै नागरिकलाई सुनाउन र बुझाउन निकै समय लाग्थ्यो । त्यो समय पनि हामीलाई कम भयो । तै पनि हामीलाई के थाहा छ भने राजनीति भनेको लामो समयको यात्रा हो । हामीले बल्ल यात्रा सुरु गरेका छौँ । यसै क्रममा अहिलेसम्म हामीले यति धेरै नागरिकको साथ र समर्थन प्राप्त हुनु हाम्रा लागि महत्त्वपूर्ण हो ।
राम्रो परिणाम पाउँदै गर्दा हामी कतिपय कुरामा सचेत पनि भइरहेका छौँ । नागरिकले हामीलाई यसै भरोसा गर्नुभएको होइन । उहाँहरूले अब केही हुन्छ भनेर नै हामीलाई मत दिनुभएको हो । यो एक हिसाबले हाम्रा लागि चुनौती हो । नागरिकका आशा धेरै छन् तर, ठुला छैनन् । नागरिकले खास विशेष ठुला केही आशा गरेका होइनन् । नागरिकले आफ्ना आधारभूत आवश्यकता र अधिकारलाई नै पनि मागका रूपमा खेप्नुपरिरहेको छ । राज्यले यी आधारभूत कुरा यसअघि नै पूरा गर्नुपर्ने थियो । तर, त्यसो हुन सकेन । नागरिकले यी नै कुराको आशा गरिरहेका छन् । नागरिकलाई आधारभूत सुविधा दिने दायित्व नागरिकको अधिकारै हो । यति मात्र पूरा गर्न सके पनि नागरिकका धेरै अपेक्षा त पूरा हुन्छन् ।
हामीलाई यो कुरा पूरा गर्न सक्छौँ भन्नेमा विश्वास छ । भलै, हामी कति सङ्ख्यामा संसद्मा रहन्छौँ भन्ने तय भइसकेको छैन । अन्य दलको आकार कत्रो र कस्तो हुन्छ भन्ने कुराको पनि अर्थ हुन्छ । संसद्मा सङ्ख्याको महत्त्व रहन्छ नै । हाम्रा मुद्दा उठान गर्न सङ्ख्याको पनि महत्त्वपूर्ण कुरा हुन्छ । हामी सानो सङ्ख्यामा रह्यौँ भने त हाम्रा मुद्दा कमजोर हुन सक्छन् । तर, हामी अहिलेको परिदृश्य हेर्दा जस्तो अवस्थामा आउने देखिँदै छ त्यो सङ्ख्या भनेको प्रभावकारी नै हुने देखिन्छ । राजनीतिक लामो यात्रा हो यस पटक सबै कुरा गर्न सकेनौँ भने पनि हामी नागरिकप्रति जबाफदेही जिम्मेवार भएर इमानदारिताका साथ काम गर्छौँ ।
अब सरकारमा जाने नजानेलगायत विषयमा निष्कर्षमा पुगेका छैनाैँ । बल्ल प्रारम्भिक छलफलमा मात्र जुटेका छौँ । अब हाम्रो केन्द्रीय समितिको बैठक बसेर यसबारेमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्छौँ । त्यसैले सरकारमा जाने नजाने भन्ने कुरा अहिल्यै भन्नु हतारो हुनेछ ।
हामी सरकारमा जाने भयाैँ भने थप निर्णयहरू पनि गर्नुपर्छ । तर कुरा के चाहिँ हो भने हामी पुरानै प्रवृत्तिको निरन्तरता र विस्तारका लागि मात्र चाहिँ सरकारमा जाँदैनौँ । व्यक्तिको कुरा होइन प्रवृत्तिको हिसाबले हामी पुरानै पारामा सरकारमा जाँदैनाैँ । हामीले परम्परागत प्रवृत्ति त चाहेकै होइन नि । त्यसै हुनाले हामी निर्वाचनमार्फत नागरिक समक्ष गएका हौँ । उहाँहरूले हामीलाई विश्वास पनि गर्नुभएको छ । त्यसैले हामी नागरिकलाई धोका दिँदैनौँ । हामी पुरानै तरिकाको प्रवृत्तिको एक भाग वा अङ्ग मात्र बन्न सरकारमा जाँदै जाँदैनौँ ।
(लक्ष्मण कार्कीसँग गरेको कुराकानीमा आधारित)
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९, १५:०४