देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका समाचार र कार्यक्रमलाई देशभरिका सामुदायिक रेडियोले प्रसारण गर्दै आएका छन् ।
पछिल्लो समय धेरै व्यावसायिक रेडियो, विभिन्न एप र अनलाइनले समेत यसलाई गुणस्तरीय र सन्तुलित भनेर प्रसारण गर्न थालेकाले सीआईएन सबैको साझा नेटवर्क र विश्वासिलो सञ्चारमाध्यमको रूपमा विकास भएको छ ।
सीआईएन १४ औँ वर्ष प्रवेश गर्दै गर्दा हामीले धेरै आरोहअवरोह पार गर्दै आएका छौँ ।
धेरै उपलब्धिहरू हासिल गरेका छौँ । प्रसारणमा मात्रै होइन सामाजिक रूपान्तरण र कुरीति अन्त्यको अभियानलाई पनि सीआईएनले सँगसँगै अघि बढाएको छ ।
सामुदायिक रेडियोले उठाएका स्थानीय नागरिकका सवाललाई मुलप्रवाहिकरण गर्ने र सरकार अनि सरोकारवालामार्फत समाधान गर्ने साझा सञ्जालको रूपमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले काम गरिरहेको छ ।
देशभरि खुलेका सामुदायिक रेडियोहरूका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउनको लागि २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।
तत्कालीन संविधानसभाका सभामुख सुवास नेम्वाङले उद्घाटन गर्दै सीआईएनले संविधान निर्माणका क्रममा जनताका सवाल संविधानसभासम्म ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
उहाँले भने जस्तै सीआईएनले जनताका सुझाव संविधानसभामा पुर्याउन पुलको काम गर्यो । त्यस्तै संविधानसभाका विषयगत समितिले गरेका निणर्यलाई जनतासम्म पुर्याउनको लागि ठूलो भूमिका खेल्यो ।
त्यसैले सीआईएनलाई स्थापित गर्यो, समुदायका सवाल, सामाजिक रूपान्तरणका विषयका साथै राजनीतिक विषयलाई सीआईएनले स्वतन्त्र ढङ्गले प्रस्तुत गर्दछ भनेर संविधानसभा, सभासद र राजनीतिक दलले प्रशंसा गरे ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूलाई भूउपग्रह प्रणालीको एउटै सूचना सञ्जालमा आवद्ध गर्नु, प्राविधिक हिसाबले उनीहरूलाई एकआपसमा दुईतर्फी बनाएर सामुदायिक रेडियोको शक्ति बढाउने भन्ने उदेश्यलाई सीआईएनले पूरा गर्दै गयो ।
राष्ट्रिय एकता, पहिचान, लोकतन्त्र, शान्ति, दिगो विकास र परम्परागत हानिकारक अभ्यासहरूको अन्त्यगरी सामाजिक रूपान्तरणको अभियान गर्ने लक्षका साथ सीआईएन अघि बढ्यो ।
संविधान निर्माण र शान्ति प्रक्रियाका साथै सामाजिक रूपान्तरण र आर्थिक विकासका मुद्दालाई जीवनसँग जोडेर सीआईएनले निरन्तर उठाउँदै आयो ।
भाषा र संस्कृतिको संरक्षण र विकासका लागि सीआईएनले स्थापना कालदेखि महत्वपूणर् भूमिका खेल्दै आएको छ ।
२०७२ सालको विनासकारी भूकम्पको समयमा र त्यस पश्चातको समयमा सीआईएनले राम्रो काम गर्न सक्यो । मधेशमा भएको डुवान र हुरीले सिर्जना गरेको विपद्को समयमा त झन् स्थानीय भाषा र लवजमा आवश्यक जानकारी बाँडेपछि सीआईएनको महत्व बढेको छ ।
सामाजिक रूपान्तरण र सबै प्रकारको विभेदको अन्त्यका लागि सीआईएनले प्रभावकारी कार्यक्रम तथा रेडियो सामग्रीहरु प्रसारण गर्दै आएको छ ।
देशभरि सञ्चालनमा रहेका ३ सय ८५ भन्दा बढी सामुदायिक रेडियोहरूको पक्षमा वकालत गर्न र उनीहरुको स्तरोन्नतिका लागि अझैँ सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले धेरै गर्न बाँकी छ ।
कोभिड १९ ले सिर्जना गरेको महाव्यादी र अन्य विपद्को समयमा सीआईएनले आफूलाई अझै अब्बल सावित गरेको छ ।
सीआईएनले यो समयमा चाहिने सबै प्रकारका सूचना र जानकारी नागरिकलाई दिने काम गरेको छ । सेवा नपाएका व्यक्तिलाई सेवा दिलाउन पहल सीआईएनले गर्दै आएको छ ।
सीआईएनको समाचार कक्षलाई देशैभरिका सामुदायिक रेडियोको साझा समाचार कक्ष र साझा पाठशालाको रूपमा विकास गर्ने प्रयत्न गरिएको छ ।
सबै सामुदायिक रेडियोका संवाददाताहरूले सीआईएनको संवाददाताको रूपमा काम गर्न सक्ने गरेर सबैको लागि सीआईएनको ढोका खुल्ला गरेको छ ।
‘सयौैँ रेडियो, हजारौँ रेडियोकर्मी र करोडौँ नेपालीको माझमा, यो हो सामुदायिक सूचना नेटवर्क (सीआईएन)’ यो नारा हाम्रो पहिचान भइसकेको छ ।
साँच्चै सीआईएनमा १२ सयभन्दा बढी रेडियोकर्मीहरूले आफ्नो आवाज दिइरहेका छन् । सीआईएनले स्वयंसेवी सामुदायिक पत्रकारहरू प्रशिक्षित गर्ने कार्य गरिरहेको छ । उनीहरू आफ्नो गाँउटोलमा भएका सवाल सीआईएन र नजिकको सामुदायिक रेडियोलाई दिनसक्ने भएका छन् । ‘बुहारी पत्रकार’, ‘किशोरकिशोरी पत्रकार’, ‘सामुदायिक बाल पत्रकार’ यसका उदाहरण हुन् ।
नेपालकै सबैभन्दा ठूलो प्रसारण सञ्जाल मात्रै नभइ एसियाकै उदाहरणीय रेडियो नेटवर्कको रूपमा आफूलाई स्थापित गर्न सीआईएन सफल भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित भइ समाजको सकारात्मक रूपान्तरणका साथै समतामूलक समृद्ध र सुरक्षित समाज निर्माणमा सीआईएन जुटिरहेको छ ।
सीआईएनको स्थापना हुनुभन्दा अघि रेडियोहरूले कि त काठमाण्डौँबाट नेटवर्कको समाचार किन्ने गरेका थिए कि त काठमाण्डौँमा संवाददाता राखेर केन्द्रको समचार लिने गरेका थिए ।
व्यापारिक नेटवर्कको समाचार प्रसारण गर्ने अनि सामुदायिक रेडियो भन्ने भनेर मलाई पनि रेडियो पर्यावरणको निर्देशक हुँदा प्रश्न आउने गरेको थियो ।
अन्य साथीहरूले पनि आफूलाई अफ्ठ्यारो भएको बताउने गरेका थिए । सामुदायिक रेडियो प्रसारकहरूलाई यस्तै धेरै अफ्ठ्याराहरु भएर नै सामुदायिक रेडियो प्रसारक सङ्घले सीआईएनको अवधारण अघि बढाएको हो ।
उद्देश्य अनुरुप नै नागरिकको सूचनाको अधिकारलाई प्रवद्र्धन, लोकतन्त्र, सामाजिक न्याय, मानवअधिकार तथा सामाजिक रूपान्तरण, विपतको समना, कृषि र आर्थिक समृद्धि अनि वातावरण र कला संस्कृतिको संरक्षणलाई सीआईएनले प्राथमिकता दिँदै आएको छ ।
सूचना अभावबाट उत्पन्न गरिबीलाई समेत यसले न्यूनीकरण गर्ने भूमिका खेल्दै आएको छ ।
स्वभावतः यो सञ्जाल अरू भन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा लोकप्रिय मात्रै होइन विश्वासिलो र दुःखसुखको साथीको रूपमा बलियो प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन र हरेक राजनीतिक घटनाक्रममा सीआईएनले राम्रो भूमिका निर्वाह गर्न सक्यो ।
अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका सङ्घ र गाउपालीका महासङ्घले प्रशंसा गरिरहेका छन् ।
जनता, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीति नै बनाएर अघि बढेको छ ।
जनताका सवालहरूलाई समाधान गर्न ‘सोधीखोजी’ कार्यक्रम गर्दै आएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विषेश कार्यक्रम तथा गहिरो खोजी गरेर रिपोर्टहरू प्रसारण गर्ने गरेको छ । सांसदहरूलाई नागरिकप्रति जिम्मेवार बनाउन सीआईएनले ‘हेल्लो सांसद’ कार्यक्रम गर्दै आएको छ ।
यसले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ । सानासाना बालिबालिका लागि ‘रेडियो बाल सिकाइ’, ‘हाम्रो घर हाम्रो पाठशाला’ र ‘सामुदायिक रेडियो पाठशाला’ जस्ता कार्यक्रम सीआईएनले प्रसारण गर्दै आएको छ ।
दैनिक शृङ्खला ‘हेलो सीआइएन’मार्फत सीआईएनको आइभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरूको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुँदै गएको छ ।
सीआईएनमा भनेपछि समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाउन सकेकाले नै यति धेरै स्रोताहरूले सीआईएनमा प्रश्न टिपाइरहनु भएको छ ।
युनिसेफसँगको सहकार्यमा सामाजिक सञ्जालमार्फत समुदायले कस्तो सूचना खोजेका छन् ? पत्ता लगाएर त्यसको समाधान गर्ने र त्यही अनुसारको प्रसारण सामग्री तयार गर्ने कार्य भइरहेको छ ।
दी एसिया फाउण्डेसनसँगको सहकार्यमा स्थानीय सरकार सवलीकरणका लागि विषेश रेडियो कार्यक्रम र छलफलहरूलाई अगाडि बढाएका छौँ ।
कोभिडको बेलामा गरेका कार्यमध्ये सामुदायिक सुनुवाइ र सामुदायिक छलफल निक्कै प्रभावकारी भयो । आम समुदायलाई सत्य तथ्य जानकारी दिनको लागि सामुदायिक रेडियोले गरेको सामुदायिक छलफल सूचनाको आधार भयो ।
देशभरिका ७० भन्दा बढी सामुदायिक रेडियोकर्मीको सहभागितामा भएको छलफलले स्रोता र प्रस्तोताको सम्बन्ध बिस्तार गर्यो भने सामुदायिक रेडियोलाई कन्टेन्टको लागि समुदायमै पुग्नु पर्दोरहेछ भन्ने स्मरण गरायो ।
यस्ता छलफलमा उठेका भ्रम, हल्ला र गलत सूचनाहरूलाई सरोकारवालासँग जोडाएर सत्य तथ्य र वास्तविक सूचना प्रदान गर्ने कार्य रेडियोकर्मीहरूले गर्न सके ।
समुदायका सुनेका कुराहरुलाई रेडियोमा प्रस्तुत गर्ने र सबै सामुदायिक रेडियोकर्मी सहभागी ‘कोभिड सञ्चार कम्युनिटी’ नामक म्यासेन्जर ग्रुपमा सेयर गर्ने काम रेडियोकर्मी साथीहरूले गर्नुभयो ।
यसले सबै रेडियोलाई प्रसारण सामग्री र सवालहरू चयन गर्नलाई राम्रो काम गर्यो ।
यसमा कोभिडको समयमा सामुदायिक रेडियोहरूले गरेका राम्राराम्रा अभ्यासहरूलाई आदानप्रदान गर्ने काम गरियो ।
भ्रम, हल्ला र गलत सूचनालाई चिरेर सही सूचना र जानकारी दिने उद्देश्यले सीआईएनको संयोजनमा जुन प्रयास भयो यो सामुदायिक रेडियोको नयाँ अभ्यास पनि भयो ।
यसले युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनलाई पनि सामुदायिक रेडियोमा उठेका सवालहरूलाई सम्वोधन गर्ने एउटा डोरीको रूपमा विकास गर्यो ।
रेडियो मुक्ति बुटवलका नीरु थापा भन्नुहुन्छ, ‘समुदायस्तरमा गएर छलफल गर्दा नै मानिस आफ्नो समस्याको बारेमा र आफनो मनमा लागेका कुरा खुलेर बोल्ने गर्दछ भन्ने पाठ सिकायो । छलफलमा आफुले बोलेका कुरा रेडियोमा कति बजे आउछ भनेर सोध्दै रेडियो सुन्ने गरेको पनि पाइयो । यसले रेडियोको स्रोता पनि बढायो । अर्कोतर्फ म जस्तै अन्य सामुदायिक रेडियोकर्मीले गर्ने यस्तै सानासाना प्रयासबाट पनि समाज परिवर्तन गर्न सकिँदो रहेछ भन्ने आभास भएको छ । ’
सामुदायिक छलफलकै लागि काभ्रेको तेमाल गाउँपालिका ६ ठूलो पर्सेलमा पुग्दा त्यहाँका महिलाहरुले वर्षौँदेखि सहँदै आएको स्वास्थ्य समस्याका बारेमा गुनासो गरेका थिए भने स्थानीय एक किशोरीमा देखिएको मानसिक स्वास्थ्य समस्याका बारेमा पनि जानकारी गराएका थिए ।
त्यहाँको समस्या समाधानका लागि सीआईएनले समन्वय गर्दै केही स्थानीय सरकारको पहलमा स्वास्थ्य शिविर चलाउने कार्य सम्पन्न भयो ।
यस्ता धेरै अन्य राम्रा कार्यहरू सामुदायिक रेडियोहरूले गर्न सफल भएका छन् । समुदायको यस्तो राम्रो प्रतिक्रिया पाएपछि रेडियोकर्मीहरू पनि दङ्ग परेका छन् ।
सामुदायिक रेडियो समुदायको भावना बुझ्न समुदायमै फर्कनु पर्दछ भन्ने कुरा रेडियोकर्मीहरूले सिकेका छन् ।
सामुदायिक छलफलकै क्रममा नुवाकोटको गेर्खुका नरहरी पाण्डेले भन्नुभयो, ‘सामुदायिक रेडियो र सीआईएनले सुरुवातको समयमै कोरोनाको बारेमा विषेश सचेतनामूलक कार्यक्रम नगरेको भए धेरै मानिसहरू कोरोनाको कारण मर्ने थिए । धेरै सङ्कमित हुने थिए, खोप लगाउने कुरामा पनि रेडियोले निक्कै उत्प्रेरण प्रदान गर्यो ।’
उहाँले जस्तै धेरै नागरिक अगुवा, स्थानीय जनप्रतिनिधि र स्रोताहरूले कोरोनाको समयमा रेडियोले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । विपद्को बेलामा समयमै सत्य, तथ्य र भरपर्दो जानकारी दिने त रेडियो नै हो भन्ने तथ्यलाई सीआईएनको कार्यले पुष्टी गरेको छ ।
जागिरभन्दा सेवाको भावना बढी भएका साथीहरूको कारण हामिले धेरै सफलता हासिल गर्न सकेका छौँ ।
राजनीतिक विषयका साथै सीआईएनले धेरै सामाजिक विकृतिविरुद्धको अभियानमा संयोजनकारी भूमिका निर्वाह गर्न सफल भयो ।
धर्मका नाममा बालबालिका, महिला र अन्य कसैलाई पनि विभेद नगर्ने र विभेद अन्त्य गराउन र बालविवाह रोक्न सबै धर्मका धर्मगुरुहरूलाई प्रतिबद्ध गराउने काम सीआईएनले गरेको छ ।
दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाह लगाएतका कुरीतिविरुद्धका रेडियो कार्यक्रम र सूचनामूलक सामग्री निर्माण गरेर प्रसारण गर्ने काम निरन्तर भइरहेको छ । सीआईएनले गर्ने कार्यक्रम र प्रशिद्ध रेडियो शृङ्खलाले पनि सीआईएनको पहिचान स्थापित गरेको छ ।
सीआईएनले सामुदायिक रेडियोका रेडियोकर्मीहरूको क्षमता बढाउन स्थापनाकालदेखि नै काम गरिरहेको छ । देशभरिका संवाददाताहरूलाई रेडियो रिपोर्ट निर्माण, प्रभावकारी समाचार लेखनका काम फोन, इमेल र सामाजिक सञ्जालमार्फत सिकाउँदै आएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घले सञ्चालन गर्ने तालिमहरूबाट धेरै रेडियोकर्मी लाभान्वित भएका छन् । यस वर्ष कोभिडका कारण ३ सय ५० जना रेडियोकर्मीलाई भर्चुअल माध्यमबाट तालिम दिने काम भयो भने ४५ जनालाई प्रत्यक्ष उपस्थित भएर तालिम दिइएको छ ।
गएको वर्ष ३५ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायहरूसँग सीआईएनले रेडियो कार्यक्रम उत्पादन, रेडियो जिङ्गल, पीएसए र अन्य रेडियो सामग्रीहरूको उत्पादन र प्रसारणको लागि सहकार्य गरिएको छ ।
सहकार्य हुँदै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्था तथा सञ्चारमाध्यमसँगको सहकार्य आगामी वर्षहरूमा पनि निरन्तर र अझ प्रगाढ हुदै जानेछ भन्ने अपेक्षा गर्दछौँ ।
सीआईएनको स्रोताहरु बढिरहेको, सीआईएन प्रसारण गर्ने रेडियोहरूको सङ्ख्या बढिरहेको र हामिसँग सहकार्य गर्ने सङ्घसंस्था बढिरहेकाले हामि थप उत्साहित छौँ । हामिले नेपालका सामुदायिक रेडियोका लागि धेरै गर्न बाँकी छ ।
आगामी दिनमा सबै रेडियोको अपनत्व हुने गरेर, सबैले समान अवसर पाउने गरेर र सबैको दिगोपनमा टेवा पुग्ने गरेर सीआईएनले काम गर्नेछ । त्यसका लागि सीआईएनले कार्यनीति बनाएर अघि बढेको छ ।
सीआईनमा आवद्ध देशभरिका सामुदायिक रेडियोकर्मीहरू, अकोराब/सीआईएनमा स्थापनाकालदेखि काम गर्नुहुने पूर्व सहकर्मी तथा अहिले काम गरिरहनु भएका सहकर्मी साथिहरू, सामुदायिक रेडियो प्रसारक सङ्घका सहकर्मी साथिहरु, पदाधिकारी, बोर्डका पदाधिकारीज्यूहरु र अहिले कामगरिरहनु भएका सहकर्मी साथीहरुकै अतुलनीय योगदानकै कारण सीआईएन आज नेपाल मात्रै नभई दक्षिण एसियाकै सबै भन्दा ठूलो रेडियो नेटवर्क र विश्वकै मोडल सञ्चारमाध्यमको रुपमा विकास भइरहेको छ ।
सीआईएन १४ औँ वर्षमा प्रवेश गर्दाको सुखद क्षणमा ती सम्पूण सहयोगी हातहरूलाई नमन गर्दै सीआईएनलाई माया गर्ने सबै स्रोता शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दछौँ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९, ०८:२६