पर्वत ।
विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्ने र राम्रो प्रगति गर्ने क्रम बढ्न थालेको छ । तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेर पर्वतका युवा उदाहरणिय बनेका छन् ।
२७ महिना साउदी अरबमा बिताएपछि घर फर्किनुभएका कुश्मा नगरपालिका ११ का गणेश पौडेलले अहिले तरकारी खेती गर्दै आउनुभएको छ ।
बैदेशिक रोजगारीमा सोंचे जस्तो सफल नभएपनि तरकारी खेतीले उहाँलाई गाउँलेको नजरमा पनि सफल बनाएको छ ।
विदेशको दुःख सहेर फर्केपछि उहाँलाई गाउँमै मेहनत खर्चिने चाहना पलाएको हो । पौडेलले भन्नुभयो, ‘२७ महिनाको मेरो विदेश बसाइपछि यो दुःखचाहिँ म नेपालमै गएर गरें भनेपनि महिनाको ३०/४० हजार कमाउन सक्छु भन्ने सोंच आयो, त्यसपछि मैले विदेश त्यागें ।’
पौडेलले अगाडी थप्नुभयो, ‘अहिले चारवटा टनेलमा टमाटर फलाइराखेको छु, एउटामा मिटर बोडी, तीनवटा टनेलबाटचाहिँ मैले नियमित टमाटरहरू टिपिराखेको छु भने एउटामाचाहिँ काक्रालाई फालेर भर्खर नयाँ टमाटर लगाएको छु । पोल्ट्री पनि छ मसँग अहिले, ८०० कुखुरा छ । प्लस यो टनेल गर्दा अहिले मैले वार्षिक ६ लाख आम्दानी गरिराखेको छु ।’
मोदी २ देउपुरका गंगाकुमारी शर्माले कतारमा रहेका श्रीमानलाई घरै आउन अनुरोध गर्नुभयो ।
बिदेशबाट फर्किनुभएका श्रीमान र गंगा मिलेर बाँझिएको ४ रोपनी बारीमा सुन्तला खेती गर्नुभएको छ भने घर तल्तिरको २ रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी फलाउनु भएको छ ।
गंगाकुमारी, अब श्रीमानलाई बिदेश नपठाउने बताउनुहुन्छ ।
शर्माले भन्नुभयो, ‘मेरो श्रीमानलाई खाँडीमा त्यसरी घाम खाएर बस्नुभन्दा यहाँ मिलिजुली बसेर काम गरौं, टमाटर खेती लगाम्, सुन्तलामा मलजल गरौं, राम्रो हुन्छ भनेर उहाँलाई बोलाएको । दुईसय ५० बोट सुन्तला लगाएका छौं ।’
कुश्मा नगरपालिका ५ का शिवप्रसाद श्रेष्ठले विदेशबाट फर्किएर व्यवसायिक बाख्रापालन गर्नुभएको छ । श्रेष्ठले विदेश जानेलाई स्वदेशमै पसिना बगाए सफल भईने सुझाव दिनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘अहिले ९५ वटा बाख्रा छन्, त्यसमा २० वटा ठूला बोका छन्, १५ वटाजति खसी छन् । काम गर्ने मान्छेलाई यहीं छ नि, यहाँ कमसे कम परिवासित बसेर परिश्रम गर्ने हो भने फल पक्कै फल्छ ।’
जिल्लामा कोरोनाका कारण र अरू विभिन्न हण्डर ठक्करका कारण स्वदेश फर्किएका यूवाहरुको कृषि तर्फ मोह बढेको छ ।
अहिले भारत र खाँडी मुलुकबाट फर्किने धेरै छन् । विदेशबाट फर्किने युवालाई स्थानीय सरकारले कृषि र पशुपालनमै जोड्ने गरि कार्यक्रम तय गरेका छन् ।
महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो, ‘१८ वर्षदेखि ५५ वर्ष उमेर समूहका मान्छेहरू जो बेरोजगार छन्, उत्पादनको क्षेत्रमा रहन सक्छन्, तिनीहरूलाई हामीले कामचाहिँ दिनुपर्छ । हामीले यो पहिलो चरणमा कार्यक्रम सुरु गरेका छौं । र हामी उनीहरूलाई स्वरोजगार बनाउने र आत्मनिर्भर बनाउने बाटोमा अघि बढिराखेका छौं ।’
तीनै तहका सरकारले युवालाई स्वदेशमै रोजगार बनाउनेमा जोड दिईरहेका छन् ।
सरकारको साथ र आफ्नो जाँगरको उपयोग गर्दै पर्वतका यूवाले विदेशमा भन्दा स्वदेशमै व्यवसाय वा उद्यम गरी आम्दानी गर्नुपर्छ भन्ने सन्देश दिईरहेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७, ११:११