रेडियो स्याङ्जा, स्याङ्जा ।
कोरोना भाइसरको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अति आवश्यकीय सेवाका लागि जारी गर्ने पासको दुरुपयोग भएको छ ।
जिल्ला प्रशासन कार्यालय पोखराबाट मलामी बोक्ने गरि जारी भएको पासको दुरुपयोग गरी यात्रु बोकिएको पाइएको हो ।
प्रशासनबाट चैत्र २१ देखि २५ सम्मको पास बनाएर पोखरामा कोठामा बसेकालाई सामाजिक सञ्जाल मार्फत् सूचना जारी गरि दोब्बर भाडा लिएर यात्रु बोकेको पाइएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जारी गरेको पासमा अत्येष्टिको लागि भन्दै पाँच दिनको अवधि दिइएको छ ।
यति मात्र हैन जसको अन्त्येष्टिका लागि भनि जारी गरिएको हो निजको ७ दिन पहिले नै अन्त्येष्टि भइसकेको छ ।
पास जारी भएको ग १ ख ९२४७ नम्बरको गाडीमा पुतली बजारका पाँच, भिरकोटका चार, वालिङ्का दुई, फेदिखोलाका नौ र अर्जुन चौपारीका ३३ जना गरी कुल ५३ जना छ महिना देखि ४८ बर्ष सम्म उमेरका यात्रु सवार भएको पाइएको हो ।
बसमा यात्रा गरेका यात्रुहरु अर्जुन चौपारी गाउँपालिका १ मजुवामा एकमा यात्रु झरेपछि सोधपुछ गर्दा पासको दुरुपयोग गर्दै यात्रा गरेको भेटिएको गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताउनुभयो ।
यात्रु ओसारपसार गर्ने बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने यात्रा गर्ने अर्जुन चौपारी गाउँपालिकाका सबै ३३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
बसमा यात्रा गर्ने अन्य भने आ आफ्नो घरमा पुगेका छन् । पास दिएको घटना लगत्तै छानबिन अगाडी बढाएको र दोषीलाई कारबाही गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।
सूचना जारी गर्ने र सवारी साधन चलाउने चालक तथा घटनासँग जोडिएका सबैलाई मुद्दा चलाएर कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिमलराज कँणेलले जानकारी दिनुभयो ।
अर्जुनचौपारी बाहेक अन्य स्थानमा झर्ने २० जनाको पनि खोजी भइरहेको एसपी कँणेलले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६