काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले झण्डै ७० ओटा सङ्घसंस्थाको सहकार्यमा साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने भएको छ । यही फागुन २३ गते शुक्रबार वरिष्ठ प्रगतिवादी लेखक तथा साहित्यकार भट्टलाई सम्मान गरिने प्रलेसले जनाएको छ ।
प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना हुने कार्यक्रममा उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भट्टलाई अभिनन्दन गर्ने प्रलेसका अध्यक्ष जीवेन्द्र्रदेव गिरिले जानकारी दिनुभयो ।
भट्टले नेपालको शिक्षा, साहित्य र राजनीतिको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरुप अभिनन्दन गर्न लागिएको गिरिले बताउनुभयो ।
प्रलेससँगै पारिजात स्मृति केन्द्र, जनसांस्कृतिक महासङ्घ, रमेश विकल साहित्यिक प्रतिष्ठान, काठमाडौँ महानगरपालिका, आधारशिला कलेज साहित्यिक विभाग , प्रगतिशील प्राध्यापक सङ्गठनलगायत ७० सङ्घसस्था यो अभिनन्दन कार्यक्रममा जोडिएका छन् ।
प्रलेसले यसअघि पनि समाजमा साहित्य र शिक्षाको माध्यमबाट योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको र त्यसैको निरन्तरता यो अभिनन्दन भएको प्रलेसका अध्यक्ष गिरिले बताउनुभयो ।
कार्यक्रमको लागि आरएम डङ्गोलको नेतृत्वमा प्रचारप्रसार विभाग, मातृका पोखरेलको नेतृत्वमा कार्यक्रम व्यवस्थापन विभाग, वासुदेव अधिकारीको नेतृत्वमा आर्थिक तथा जीवेन्द्रदेव गिरिको नेतृत्वमा प्रकाशन समिति पनि गठन गरिएको छ ।
भट्टको ९ ओटा कविता, ३ ओटा निबन्ध र ७ ओटा समालोचना गरी २६ पुस्तक प्रकाशित रहेका छन् । साथै उहाँका अन्य फुटकर लेख रचनाहरू प्रकाशित छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६, १३:०५