काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले सुनसरी, सिरहाको गोलबजार र लहान, धनुषाको जनकपुरधाम, पर्साको वीरगञ्जलगायत देशका विभिन्न स्थानमा पछिल्लो समय भएका तनावपूर्ण तथा हिंसात्मक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
अकोराबका अध्यक्ष अर्जुन गिरीद्वारा जारी अपिलमा यस्ता घटनाबाट जनधनको क्षति हुनुका साथै सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतामा नकारात्मक असर पर्ने उल्लेख गर्दै सम्पूर्ण नागरिक, सामाजिक तथा राजनीतिक पक्ष, समुदायका अगुवा, युवा तथा सरोकारवालालाई संयमता अपनाउन आग्रह गरिएको छ।
अपिलमा कुनै पनि प्रकारको हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने अभिव्यक्ति तथा कानुन हातमा लिने कार्य कुनै पनि अर्थमा स्वीकार्य नरहेको उल्लेख गर्दै यस्ता गतिविधि दण्डनीय हुने स्पष्ट पारिएको छ।
अकोराबले सुनसरी र सिराहामा भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै घटनाको निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा निर्दोष नागरिकको सुरक्षा र जनजीवन सहज बनाउन आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
संघले नागरिकलाई अपुष्ट सूचना, अफवाह तथा सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्रीको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ।
त्यस्तै देशभरका सामुदायिक रेडियो तथा आमसञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई शान्ति र सामाजिक सद्भाव प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्न अकोराबले आह्वान गरेको छ।
अपिलमा नेपालको विविधतालाई साझा शक्ति भएको उल्लेख गर्दै जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना गर्ने गतिविधिलाई निरुत्साहित गर्न तथा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबैको साझा जिम्मेवारी रहेको बताइएको छ।
सम्पूर्ण देशवासीलाई शान्ति, कानुनी शासन, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै संवाद, संयम र पारस्परिक सम्मानबाट मात्र वर्तमान चुनौतीको दिगो समाधान सम्भव हुने विश्वास पनि अपिलमा व्यक्त गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३