हुम्ला । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवादका कारण कर्णाली करिडोर क्षेत्रमा यातायात सेवा ठप्प भएको छ। यसले गर्दा यात्रुहरू समस्यामा परेका छन्।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाट क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर विवाद सुरु भएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा त्यहाँ चौकी बनाउन सुरु भएपछि हुम्लाका पाँच गाउँपालिकाका जनप्रतिनिधिहरूले त्यसको विरोध गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि दुई जिल्लाबीच विवाद चर्किएको हो । अस्ती भएको झडपमा दुवै पक्षका स्थानीय र प्रहरीसहित ६ जना घाइते भएका छन्। घाइतेहरूको उपचार सुर्खेतमा भइरहेको छ।
झडपपछि बाजुराका स्थानीय युवाहरूले कर्णाली करिडोरअन्तर्गतको सडक बन्द गरेका छन्। साथै, हुम्लातर्फका पसल र होटलहरू पनि बन्द गराइएको छ। सडक बन्द हुँदा काठमाडौँ, नेपालगन्ज, सुर्खेत लगायतबाट हुम्ला जाँदै गरेका सयौँ यात्रु धुलाचौर क्षेत्रमा अलपत्र परेका छन्। अलपत्र परेकामध्ये वृद्ध, बालबालिका, विद्यार्थी र बिरामी पनि रहेका छन्। उनीहरुले खाना, पानीसमेत नपाएको गुनासो छ। करिब २ सयदेखि ३ सय जना यात्रु समस्यामा परेको हुम्ला अदानचुली गाउँपालिका १ का पुस्कर लुवाले बताउनुभयो ।
स्थानीय प्रशासनले सडक खुलाउने प्रयास भइरहेको बताएको छ। तर अहिले पनि अवरोध हटेको छैन। हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले आफुले सहजीकरण गरिरहेको बताउनुभयो।
यसैबीच, प्रतिनिधिसभामा सांसदहरूले सरकारलाई दुई जिल्लाबीचको सीमा विवाद तुरुन्त समाधान गर्न आग्रह गरेका छन्।
उनीहरूले राजमार्ग बन्द हुँदा सर्वसाधारण धेरै प्रभावित भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा हुम्ला जिल्लाका सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गर्नु भएको छ ।
यस्तै, सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्ल्लाको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुव्र्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरुले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुव्र्यवहार भएको बताउनुभयो। साथै, उहाँले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गर्नुभयो।
बाजुरा जिल्लाबाट निर्वाचत सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई साङ्घातिक आक्रमण गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भयो ।
हुम्ला र बाजुराका आआफ्नै दाबी
हाल विवादमा रहेको उक्त क्षेत्र हुम्लाकै भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको रहेको छ। हाल नाम्खा गाउँपालिका ३ अन्तर्गत पर्ने रानी खर्क क्षेत्र परापूर्वकालदेखि खगाल गाउँका स्थानीयवासीहरूले निरन्तर रूपमा भोगचलन गर्दै आएको र स्थानीय इतिहास, परम्परागत उपयोग, सामाजिक अभ्यास तथा पुस्तौँदेखिको भोगाधिकारले उक्त क्षेत्र खगाल गाउँसँग जोडिएको स्पष्ट आधार प्रस्तुत गरेको बताउनुभयो ।
साथै, कानुनी तथा प्रशासनिक रूपमा पनि सो क्षेत्रसँग सम्बन्धित विभिन्न तथ्य, अभिलेख र व्यवहारहरूले रानीसैन क्षेत्र हुम्ला र खगाल गाउँको प्रयोग र संरक्षणमा रहेको वास्तविकतालाई पुष्टि हुदै आएको बताउनुभयो।
बाजुराका जनप्रतिनिधिहरुले भने नेपाल सरकारको नक्शा तथा अन्य तथ्यका आधारमा रानिसैन हुम्लामा नभइ बाजुरामा पर्ने बताउँदै आएका छन् । तर अहिले यो क्षेत्रमा नाम्खा गाउँपालिका हुम्लाले आफ्नो भुभाग भन्दै चरिचरन तथा बसोवास गरे वापत पैसा उठाउने तथा हकदावि गर्ने गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३