नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठूलो बजारका रुपमा नेपालगन्ज बजारलाई लिइन्छ । तर पछिल्लो केही वर्षदेखि चाडपर्व वा अन्य समयमा पनि नेपालगन्ज बजारमा उपभोक्ताको उपस्थिति कम छ ।
सीमावर्ती बजार नजिकै रहेकाले त्यहाँ भने उपभोक्ताको थामिनसक्नुको भीड हुन्छ । चाडवाडको मुखमा भएको जेन जी अन्दोलनले पनि यहाँको व्यापार व्यवसायमा नकरात्मक प्रभाव परेको छ ।
तिहार सुरु भइसकेको छ भने छठ पर्व नजिकिँदै छ । तर पनि नेपालगन्ज बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा जस्तै उपभोक्ताहरू सीमापारी रुपैडिहा बजारमा किनमेल गर्न जाँदा सीमावारी नेपालगन्ज बजार सुनसान हुने गरेको नेपालगन्ज कपडा व्यवसायी सन्तोष पाठक बताउनुहुन्छ ।

अन्य समयमा पनि भिडभाड हुने सीमापारीको रुपैडिहा बजारमा हिजोआज थामिनसक्नुको भीड लाग्ने गरेको छ । नेपालगन्जका व्यवसायी भने ग्राहक पर्खेर बसिरहेका छन् ।
विगत केही वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा सीमापरी भारतीय बजार परेको र यसले नेपालगन्जको बजार प्रभावित भएको अर्का व्यवसायी नन्दप्रसाद न्यौपानेको भनाइ छ ।
जेन जी अन्दोलनका कारण नेपालगन्जमा दर्जनभन्दा बढी कार्यालयमा तोडफोड तथा अगाजनि भएको थियो । सरकारी तथा निजी क्षेत्रमा गरिएको तोडफोडका कारण पनि सामान आयतनिर्यातमा प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।
आन्दोलनले निजी क्षेत्रमा थप निराशाजनक अवस्था सिर्जना गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

विगतमा चाडपर्वका बेला नेपालगन्ज बजारमा करोडौँको कारोबार हुने गर्दथ्यो । तर केही वर्षदेखि एकतर्पm खुला सीमा नाकाले व्यापार व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्दै आयो ।
सरकारले निजी क्षेत्रको व्यापार व्यवसायलाई उठाउने गरी काम गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताउनुभयो । खुला सीमा नाकाका कारण सर्वसाधारण उपभोक्तालाई फाइदा पुगे पनि व्यवसायी भने समस्यामा परिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२