महोत्तरीका किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग लागेपछि किसान चिन्तित भएका छन् । महोत्तरी जिल्लामा यस वर्ष जेठ महिनाको अन्तिम साताबाट लम्पी स्किन रोग देखा परेको थियो । असारको अन्तिम सातातिर महोत्तरीका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।
तर अहिलेसम्म पनि यो रोगबाट पशु सङ्क्रमित भइरहेका छन् । लम्पी स्किन रोगको सङ्क्रमण सबैभन्दा बढी गाईमा देखिएको छ । यसका कारण दूध उत्पादनमा कमी आएको गौशाला –५ किसान रामएकवाल महतोले बताउनुभयो ।
महोत्तरीका विभिन्न पालिकाले यो रोग विरुद्धको खोप कार्यक्रम चलाइ रहे पनि यो रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको त्यहाँका किसानहरू बताउँछन् । सोनमा ८ का किसान राजदेव प्रसाद यादवले आफूहरूले पालेका गाई भैँसीमा लम्पी स्किन रोग देखा परेको र स–साना बाच्छाबाच्छी मरिरहेको बताउनुभयो ।
अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा लम्पी स्किनको प्रकोप देखिएको छ । यो रोगबाट प्रभावित भएका पशुको यकिन तथ्याङ्क आइसकेको छैन । यो रोगको उपचार समयमै गर्न नसके गाईपालन व्यवसायमै धेरै नोक्सानी हुने पशु चिकित्सक डा. अजय साहले जानकारी दिनुभयो ।
लम्पी स्किन रोग लागेका कतिपय गाई र साना बाछाबाच्छी मर्ने सम्भावना बढी हुन्छ । गाईको घाँटी, पुच्छर, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना, ठूला गिर्खा देखिने, गिर्खा घाउ बन्ने र घाउ फुटेपछि तरल पदार्थ बग्ने गर्छ ।
त्यसैगरि १०५ डिग्रीभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने लम्पी स्किनको लक्षण हो । वरिष्ठ पशु चिकित्सक डा. संजिव कुमार ठाकुरले यो रोग लाग्न नदिन विशेषगरि गोठको सरसफाइमा ध्यान दिनुपर्ने, लक्षणअनुसारको उपचार गरिहाल्नु पर्ने बताउनुभयो ।
लम्पी स्किन रोग लागेमा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुनेलगायतका जोखिम हुन्छ । त्यसैले समयमै यस विरुद्धको खोप लगाउन र गोठको सरसफाइमा ध्यान दिन पशु चिकित्सकहरूको सुझाव छ ।
नेपालमा ५ वर्ष अघिबाट गाईभैँसीमा देखा परेको लम्पी स्किन रोग अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यस बीचमा लम्पी स्किन विरुद्धको खोप निशुल्क वितरण भइरहे पनि सङ्क्रमित पशुको सङ्ख्यामा कमी नआएको हो । अहिले पनि देशका विभिन्न जिल्लाका गाईभैँसीमा लम्पी स्किन रोग देखा परिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२