सानो छँँदा आउँथ्यो दशैँ । यसरी आउँथ्यो जसको महक नै बेग्लै हुन्थ्यो । हावामा सुगन्धित सुवास बग्थ्यो अनि घामको रङ्ग नै बेग्लै हुन्थ्यो। दशैँ आएको खबर मौसमले दिन्थ्यो । चरा, पुतली र माहुरीले दिन्थे । बारी भरी पहेँलपुर तोरीका फूलमा भमराले गुनगुन गुनगुनाउँदै नाच्थे । फाँटभरी धानका बाला पहेँलै झुल्थे । चराहरु पेट भर्थे । चिर्बिरचिर्बिर गर्दै चराचुरुङ्गी भुर्र भुर्र उड्थे । रङ्गीबिरङ्गी पुतलीका ताँती धानका पात पातमा नाच्थे । आँगन र बारीको डिलभरि फुलेका पारिजात, गोदावरी र मखमली भरी नाच्थे । फूलहरूको सुगन्धले बिछट्टै बास्नादार हुन्थ्यो वातावरण नै।
न्यानो घामले स्पर्शले बिहानीपखको चिसोलाई भुलाइदिन्थ्यो । वर्षा सकिएपछि सङ्लिएको स्वच्छ अनि कञ्चन खोलामा पौडी खेल्नु, बगरका ढुङ्गामा बुइ चढेर घाम ताप्नु छुट्टै रमाइलो हुन्थ्यो । घरका ठुला बडालाई कमेरो र रातो माटो खन्ने चटारो एकातिर हुन्थ्यो भने अर्कोतिर आमा, दिदी र भाउजूहरूलाई झिलिङ्गे रोटी, बतासा रोटी बनाउने र सुकाउने हतारो हुन्थ्यो । दही चिउराको बन्दोबस्त अनि केरा र मासुको प्रबन्ध गर्नुपर्ने थप काम हुन्थ्यो बुबा आमाको ।
केराका सग्ला अनि चिल्ला पात काटेर च्यात्ने अनि ठिक्क रोटी अटाउने जत्रा बनाउने जिम्मा हामी केटाकेटीको हुन्थ्यो । दाउरा सुकाउने ओसारपसार गर्ने काम पनि हाम्रै हुन्थ्यो ।
कमेरो खन्न रातारात अँध्यारोमै हुल बाँधेर निकै टाढा जानुपर्थ्यो । खन्दाखन्दै खाल्डोमा पुरिएर कति मान्छे पनि मर्थे । कयौँ पटक रहर गरेर आमा, भाउजूहरूको पछि लागेर जान्थेँ म पनि । फर्कँदा एक पाथी जति कमेरोको थैलो बोकाइदिनुहुन्थ्यो आमाले । रुँदै रुँदै मुन्टो बाङ्गो पारेर सकि नसकी दर्जनौँ ठाउँमा बिसाउँदै घर पुराउँथे । कहिले त नसकेर बिच बाटोमै आमाले खप्टेर बोक्नुहुन्थ्यो । भोलिपल्टदेखि केही दिन उठ्न बस्न नसक्ने हुन्थेँ कैँडा लागेर गोडामा । कमेरोले घर भित्र, बाहिर, कोठाहरूको माथिल्लो भागमा छ्याप्ने काम गर्नु हुन्थ्यो आमाले । तलतल कमेरो पुछ्दै रातो माटो लगाउने काम भने मेरो हुन्थ्यो । सँगै कमेरो भिजाउने बाल्टिनका बाल्टिन भरेर भर्याङ माथि पुराइदिने काम पनि मेरो नै हुन्थ्यो । कति पटक आँखामा माटो परेर हेर्नै हुन्थेन । यसरी कमेरो र माटोले पोतारी जस्तै हुन्थे लुगा पनि अनि मान्छे पनि । एकातिर घर सिँगार्ने चटारो अर्कोतिर धान पाकेर दसैँ सकिनु लगत्तै धान भित्राउने चटारोमा रुमल्लिइरहेका हुन्थे गाउँले । यस्तैमा आउँथ्यो दसैँ ।
पिङ् खेल्न पाउँदाको मज्जा हामी केटाकेटीलाई जति कसलाई हुँदो हो र उस बखत ।
हजुरबुवा हजुरआमा हुँदासम्म दसैँ दसैँ जस्तो लाग्थ्यो । त्यस पछि उहाँहरू सङ्गै दशेँ पनि सकिए जस्तो लाग्छ । हजुरबुबाका सातमध्ये चारभाइ छोरा भारतीय प्रहरीमा हुनुहुन्थ्यो । बिदा मिलाएर एक दुई वर्षमा घर आउने चलन थियो । हामी केटाकेटी अनि आमा, काकीहरू गाउँमै बस्थ्यौँ । बेलाबेला भारत जाने आउने गरे पनि धेरैजसो गाउँमै बस्थ्यौँ । दशैँमा बुवा काकाहरू बिदा मिलेसम्म कोही न कोही आउनुहुन्थ्यो । कहिलेकाहीँ सबै त कहिलेकाहीँ पालैपालो । बुवा आउने सालको दशैँमा दुई महिना अगाडिदेखि नै दिन गनेर बस्थेँ । गाउँमा फोनको नाम निशाना नभएको उसबेला चिठ्ठी लेखेर हुलाकबाट पठाउने चलन चल्थ्यो । परदेशीहरूको चिठ्ठी हुलाक मार्फत आउँथ्यो । हुलाकी दाइले चिठी घर घरमै पुराइदिन्थे । समय समयमा बुवाको पनि चिठ्ठी यसै गरी आइपुग्थ्यो। गाउँ भरी परेदेसिएका लाहुरेहरूलाई चिठी लेख्ने र पढ्ने काम मेरै हुन्थ्यो । बुवाले चिठीमा लेखेअनुसार आउने दिन थाहा नभए पनि महिना चाहिँ थाहा हुन्थ्यो ।
म बाटो हेरेर बसिरहन्थे तल बारीको ढिकमा गएर । बुवा नआउन्जेल हरेक दिन उज्यालो भएदेखि रात नपरुन्जेलसम्म त्यही गएर हेर्ने काम हुन्थ्यो मेरो । बुबा भरियालाई गुन्टा, बक्सा बोकाएर आफूले अटेरी र झोला बोकेर आउनुहुन्थ्यो । पारी मूलबाटोमा नै बक्सा टलक्क टल्किन्थ्यो । यता मेरो खुशीको सीमा हुन्थेन । रनबन थर्किने गरी चिच्याएर सबलाई एकै छिनमा भनी सक्थेँ । म बुवालाई लिन गएँ है भन्दै म दौडिहाल्थेँ । मेरो पछि पछि अरू केटाकेटी पनि हाम्फाल्थे । खाली खुट्टा दौडेर बुबालाई बाटैमा भेट्दाको खुशी केवल मैले अनुभव गरेको छु । जुन, लेखेर बुझाउन सकिन्न । बुबाको हात समातेर घर पुगेपछि अर्थात् बुबा घर भित्रिए पछि हाम्रो लागि बल्ल दसैँ भित्रन्थ्यो ।
बुवासँगै आउँथे हाम्रा खुशीका रङ लस्कर लागेर । बाकस भरी रङ्गीचङ्गी लुगा, खेलौना, मिठाई के के आइपुग्थे हाम्रो लागि । भोली गाउँ भरी डुलेर सबैलाई देखाउने हुटहुटीले राती राम्रोसँग निद्रा पनि लाग्दैन थियो । बुवा आएको थाहा पाएपछि गाउँभरिका मान्छे आउँथे । बिहानदेखि साँझसम्मै आमाको काम चिया पकाउने र खुवाउने हुन्थ्यो । चिया पकाउँदा पकाउँदा दूध सकिएर कुँडे नै रित्तिन्थ्यो । आमाको काम पकाउने भए जस्तै भाँडा माझ्ने काम मेरो हुन्थ्यो । तर भाँडा माझ्नुपरेकोमा झिँजो होइन एकदमै रमाइलो लाग्थ्यो किनकि यसरी घरभरि मान्छेहरु अरु बेला हुन्थेनन् ।
कति सन्चो बिसन्चो सोध्न कति भेटेर नियाँस्रो मेट्न र कतिपय कोसेलीको आशले पनि आउँदा हुन् । बुवाले गाउँका धेरैका लागि लुगा, रम, सेन्ट वा केही न केही कोसेली ल्याउनुभएको हुन्थ्यो । कतिपयलाई त आफ्नै लुगाहरू पनि दिनुहुन्थ्यो । ल्याएका लुगाफाटोले नपुगे आफ्नै बर्दी पनि दिएर जानुहुन्थ्यो । जिरा, चिया पत्ती, चकलेट, नरिवल, रेवडी, खजुर, गुलाब जामुन, पेडा, रसगुल्ला आफ्नो भागमा पर्नेले मज्जा लिन्थे । नपर्नेले गुनासो पनि गर्थे।
बुबा घर आएदेखि नै खसी, कुखुराका भाले आदिको मासुका परिकार पाक्थे । भुटन, पक्कु, सेकुवा, सुकुटी, झोलमासु के के हो के के । इन्डियन रक्सीका भेराइटीसँगै हरेक साँझ जक्सन जम्थ्यो बुवासँग गाउँलेको । तास खेलेर हार जितको रमाइलो अनि हाँसो ठट्टा हेर्न हामी वरिपरि झुम्मिएर रमाउँथ्यो । कहिलेकाहीँ जित्नेहरूले दश बिस रुपैयाँ जितौरी पनि दिइहाल्थे । पैसा पाए पछि हामी ल्याकटोज, पाइनाप्पल बिस्कुट र सुन्तला मिठाई किन्न दौडिन्थ्यौँ । सबैजनाले बाँडेर खान्थ्यौँ ।
नवमीको दिनमा इख्नादेवीको थानमा बलि पूजा गर्ने चलन छ । एकाबिहानै काली पाठी र धजा, अक्षता, धूप बोकेर जानेको घुइँचो हुन्थ्यो । सक्ने र जाने उकालो लाग्थे अँध्यारोमै नुहाई धुवाइ गरेर, चोखो लुगा लगाएर पाठी डोराउँदै । मेला हेर्ने म पनि उनीहरूकै पछि लाग्थेँ ।
दशैँको दिन बिहानैदेखि नुहाई धुवाइ सकेर पूजामा व्यस्त हुनुन्थ्यो बुवा । आमा अनेकानेक खानाका परिकार बनाउन व्यस्त हुनुहुन्थ्यो । अघिल्लो दिनमै सेल रोटी, फिनी रोटी, झिल्ङ्गे रोटी, बतासा रोटी, अनरसा लगायत पाकी सकेका हुन्थे । केराका घरी एक महिना अघिदेखि नै काटेर पकाउन हालेको हुन्थ्यो । चिउरा कुटेर तयार भएको हुन्थ्यो । दही ठेकी भरी जमाएर राखिएको हुन्थ्यो । काँक्राको खल्पी बट्टाभरी चाँपेर राखिएको हुन्थ्यो । दुर्गा पूजा सकेर लहलह भएका जमरा काटेर बुवाले सम्पुर्ण देवीदेवताका नाममा टीका उठाउनुहुन्थ्यो ।
टीका घरमा उठाएर पूजा गरेपछि नयाँ लुगा लगाएर हामी सबै जना झिम्रुक खोला पारी हजुरबुबाको घरतिर लाग्थ्यौँ । हजुरबुबा खोला पारी कान्छो बुबासँग बस्नु हुन्थ्यो । हामी ६ भाइ बुवा र बुवाका दाजुभाइ वारिपट्टी बस्थ्यौँ । लामो लस्कर लागेर सबै जना खोला तरेर पारी पुग्थ्यौँ । ठुलो मान्छे र बलियाले पालैपालो केटाकेटीलाई खोला तारिदिनुहुन्थ्यो । आमा र काकीहरू कोसेली बोकेर पछि पछि हिँड्नुहुन्थ्यो । हामी केटाकेटीको छिटो पुग्ने भन्दै र्दाैडन्थ्यौँ । वारिपारिका मानिसले हाम्रो ठुलो परिवारको लामो लस्कर देखेर दङ्ग पर्थे । जब हजुरबुबाको घरमा पुग्थ्यौँ बस्ने ठाउँ पनि पुग्थेन । घर, आँगन चोटा, कोठा र कौसी सबै नै भरिभराउ । पालैपालो टीका लाउनु पर्दा हामी केटाकेटीको पालो नै आइपुग्दैनथ्यो । एकातिर भोकले पेट बटारिन्थ्यो । अर्कोतिर दक्षिणा कति पाइन्छ भनेर छटपटी हुन्थ्यो । सबैभन्दा कान्छो र सानो बच्चाको पालो अन्तिममा आउँथ्यो । सबैले टीकापछि टपरी भरी दही चिउरा, केरा, रोटीहरू, अचार र मासुको भाग समातेर आँगनमा बसेर खाँदा बिछट्टै स्वादिलो हुन्थ्यो । चिउरा नखानेले भात पनि खान्थे । त्यसपछि ओरालो लाग्थ्यौँ । झिम्रुक तरेर अघि आएकै बाटो भएर फर्किन्थ्यौँ । रोलक्रम अनुसार जेठोबुवा र काकाकाकी सबैको घरमा पालैपालो टीका लगाउँथ्यौ । यसरी टीका थाप्दा थाप्दा दिन बितेको पनि पत्तो हुन्थेन । भ्याए मामाघरतिर लाग्यौँ साँझ परेपछि पनि । खाँदा खाँदा पेट फुट्ला जस्तो हुन्थ्यो । चिउरा, रोटी र केराको टपरी बोकेर घरमा थुप्रो लाग्थ्यो । आआफ्नो भागको छुट्टाछुट्टै थुप्रो हुन्थ्यो । भोलिपल्टदेखि मेरो भागको चिउरा यति, केरा यति, रोटी यति भनेर देखाउने चलन हुन्थ्यो । जुन भाग एक महिनासम्म पनि सकिँदैनथ्यो ।
आजभोलि त्यो दशैँको रौनक नै हराए जस्तो लाग्छ । गाउँमा जाँदा पनि त्यो दशैँ भेटिन्न । त्यो सुगन्ध बोकेको हावा भेटिन्न । त्यो गाउँ भेटिन्न । त्यो समय हराए जस्तो लाग्छ । त्यही झिम्रुकले बाटो फेरे जस्तो । त्यही पानीले नचिने जस्तो लाग्छ । तिनै धानका बाला पनि विराना जस्तो। तिनै चरा, पुतलीले जिस्काए झैँ लाग्छ । समयसँगै त्यो दसैँ हरायो । आज दशैँ आउँदा पनि किन आउँछ जस्तो लाग्छ । बिरानो लाग्छ दशैँ ।
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१, १६:४१