विद्यालयको अध्ययन पश्चात उच्च माद्यमिक शिक्षामा प्रवेश गर्दा विद्यार्थीहरूले धेरै प्रकारका नयाँ परिस्थितिहरू र परिवेशको सामना गर्नुपर्ने हुन्छ ।
पढाईमा उत्कृष्ट हुँदाहँुदै पनि जीवनमा आईपर्ने साना वा ठूला समस्या वा अवरोधलाई सम्वोधन गर्न नसक्दा बर्सेनि हजारौँ विद्यार्थीहरूले आफनो गन्तव्य गुमाउने गर्दछन् ।
जसकारण विद्यार्थी स्वयम् र परिवारमा समेत नकारात्मक असर पर्न गएको छ भने जीवनको मार्ग नै अन्तै मोडिएको छ ।
उच्च माद्यमिक शिक्षाको अवधिमा नै उनीहरूले आफनो विश्व परिदृश्य पनि निर्माण गर्नु पर्ने हुन्छ । एकातिर नियमित अध्ययन र अर्कोतिर भविष्यलाई कसरी निर्देशित गर्ने, सुन्दर र सफल जीवन निर्माण गर्न कस्ता सपना देख्ने ?
ती सपनाहरूलाई वास्तविक जीवनमा कसरी रुपान्तरण गर्ने ? ती सपनाहरूलाई वास्तविकतामा प्राप्त गर्न के कसरी लक्ष्यहरू निर्धारण गर्ने ?
सपना साकार पार्ने सन्दर्भमा आउने वाधा, अडचन र प्रतिकुलतालाई सामना गरेर कसरी अनुकुलतामा परिवर्तन गर्ने ? यस्ता प्रश्नहरू किशोरकिशोरीमा उठ्छन्, तर सही जवाफ नपाएका हुनसक्छन् ।
माथि उल्लेखित सीपहरुको विकासका लागि प्रशंसनीय खोज पद्धती तथा सकारात्मक रुपान्तरणको क्षेत्रमा १२ वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले एसईईको परीक्षा दिएका विद्यार्थीहरूलाई सकारात्मक सोच र प्रतिकुलतालाई अनुकुलतामा बदल्ने जीवनोपयोगी सीप सिकाउने भएको छ ।
डिजाइन योर फ्युचर (तपाइको भविष्यलाई संरचित गर्नुहोस्) नामक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
यो कार्यक्रम काठमाण्डौँमा आगामी जेठ २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ ।
तालिमले विषयवस्तुको अध्ययनमा उच्च दक्षता प्रदर्शन गरेका अब्बल विद्यार्थीहरूको लागि जीवनोपयोगी सीप, प्रशंसनीय खोज विधि र सकारात्मक सोचको समिश्रणले उनीहरूलाई नयाँ जीवनको लागि सही सपना देख्न र उक्त सपनालाई वास्तविकतामा रुपान्तरण गरेर सफल जीवन बनाउने आधारशिला तयार गर्दछ ।
जीवनमा आईपर्ने जस्तासुकै समस्या वा परिस्थितिमा पनि उच्च र सकारात्मक मनोबलका साथ कसरी आफनो सपना र लक्ष्यमा दृढ रहने ? भन्ने बारेमा यस तालिममा सहभागी विद्यार्थीहरुलाई सिकाएर दक्ष बनाईन्छ ।
जीवनसँग सम्वन्धित अनुभवहरु, सिकाइहरू, प्रशंसनीय खोज, अन्तरक्रियात्मक छलफल तथा कार्यशाला, विज्ञ परामर्श आदि तरिकाहरूको प्रयोग गरेर उत्साहजनक र सहभागीतामूलक पद्धतीमा यो तालिम सञ्चालन गरिन्छ ।
एक हप्तासम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीहरूले सैद्धान्तिक रूपमा सिकेका कुराहरूलाई व्यवहारमा प्रयोग गर्न अभ्यास गराएर विद्यार्थीहरूलाई पोख्त बनाइन्छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१, १५:२२