हुम्ला । १२ वर्ष मुनिका बालबालिकाहरूको फुटबल प्रतियोगिता अर्थात कर्णाली किड्स कप २०८१ हुम्लामा उद्घाटन गरिएको छ ।
‘बालबालिकाका लागि खेलकुद’ भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ट इङलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो ।
१८ औँ लोकतन्त्र दिवस र माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलको तेस्रो अविभावक दिवसको अवसर पारेर आयोजित प्रतियोगितामा ११ वटा विद्यालयका १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागिता रहेको रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनभुयो ।
अध्यक्ष महताराले आधारभूत तहका बालबालिकाको लागि आयोजना गरिएको यो फुटबल प्रतियोगिता नेपालमै पहिलो भएको दाबी गर्नुभयो ।
‘गुणस्तरीय शिक्षा, खेलकुदलगायतका बहानामा कर्णालीका हिमाली जिल्लाबाट बालबालिकालाई विभिन्न सहरमा लैजानेक्रम बढ्न थालेका कारण चेतना प्रवाह गर्न पहिलो पटक कर्णाली किड्स कप २०८१ को आयोजना हुम्लाबाटै गरेका हौँ।’ महताराले भन्नुभयो, ‘यसले बालबालिकालाई खेलकुदप्रति रुचि जगाउनेछ ।’
कर्णाली किड्स कपमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ३० हजार प्रदान गर्ने घोषणा आयोजकले गरेको छ । द्वितीय स्थान प्राप्त गर्नेले २० हजार र तृतीय स्थान हासिल गर्नेले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१, २०:०४