हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ का दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा रहेका छन्। बर्षायाम सुरु भएसँगै वडा नम्बर २ को खलसेरा बस्ती र थपाली बस्ती पहिरोको उच्च जोखिममा परेका हुन ।
५४ घरधुरी रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको र माथिल्लो भागसँगैको जमिन समेत फुस्रो माटो भएका कारण बर्षा लाग्ने बित्तिकै बस्ती नै बगाउँछ भन्ने पिर हुने गरेको स्थानिय सुरेन्द्र बुढाले बताउनुभयो। उहाँकाअनुसार अरु समयमा बस्नका लागि योग्य भएको भएपनि बर्षा सिजन सुरु हुने बित्तिकै कतिबेला घर सहित जमिन बगाउने हो भन्ने चिन्ताले सिंगो गाउँ त्रासमा बसेको छ।
गाउँ तलको जमिन बर्सेनि पहिरो गएर गाउँकै छेउसम्म आइपुगेको छ। बर्खामा पानी धेरै पर्दा पहिरोको डरले यहाँका मानिस गाउँ छोडेर अन्त जानु पर्ने बाध्याता रहेको छ। बस्ती नै पहिरोको उच्च जोखिममा छ। बर्खाको समयमा रातभरि डराएर जाग्राम बस्ने गरेको दुःखेसो पोख्नुभयो । पहिले बर्षा याममा मात्र बस्ने बस्ती भए पनि पाँच÷छ वर्षयता गल्बाको गाउँ भन्दा बाह्रै महिना स्थानीय सो बस्तीमै बस्न थालेका हुन ।
सोही वडाकै ३५ घरधुरी बसोबास गर्दै आएको थपाली बस्तीपनि पहिरोको उच्च जोखिममा रहेको छ। सो बस्तिको माथि भिर र बस्तीको बिच भागमा श्रीनगरबाट भलपानि सहितको पहिरो जाने भएकाले बस्ती जोखिममा रहेको हो । बस्ती जोखिम हुँदै हुँदै पनि अन्यत्र जाने उपयुक्त स्थान नभएका कारण पहिरोको त्रासमै उनिहरु ब्स्नु पर्ने बाध्यता रही आएको छ। बलौटे माटो खसिरहने भएकाले कुनै पनि समयमा पहिरो जान सक्ने अनुमान छ ।
उक्त बस्तीसँग गल्फागाड श्रीनगर सडक खण्ड जोडिएका कारण स्थानीयले बस्ती छोड्न मानेका छैनन्। गल्फागाड खोलाले समेत सो बस्तीको केही भाग काट्दै आएको छ।
२ नम्बर वडा कार्यालयले यस बस्तीलाई पहिरोको अति उच्च जोखिममा पहिचान गरेको छ । सो बस्ती बिस्तारका लागि पटक पटक गाउँपालिका बिपत ब्याबस्थापन समिति, जिल्ला बिपत ब्याबस्थापन समितिमा सुचिकृत गराउदा पनि प्रदेशसम्म पुग्न नसकेको वडा अध्यक्ष नन्द महताराले बताउनुभयो । उहाँकाअनुसार यी दुई बस्ती बिस्तारका लागि आफुले धेरै पटक प्रदेशमा गएर गुनासो गरेको भएपनि सुनुवाइ नभएको बताउनुभयो ।
दुबै बस्तीका सबै घर परम्परागत ढुङ्गा र माटोसँगै जस्ता पाताले छाइएका छन। वडा अध्यक्ष महताराले बस्तीमाथि भिरालो र ढुङ्गा खसिरहने भिर रहेकाे बताउनुभयाे । तल बलौटे माटो भएकाले यो ठाउँ पहिरोको उच्च जोखिममा रहेको छ। स्थानीयको उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३