काठमाडौँ । आज ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको दिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने तय गरिएको छ ।
२०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालबाट भने भदौ २९ मा मनाउन थालिएको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट बालअधिकारसम्बन्धी महासन्धी पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो ।
त्यसअनुसार नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ मा मनाउन थालेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दिवसको अवसरमा शुभकामना दिँदै उहाँले यस्तो विचार राख्नु भएको हो ।
दिगो विकास लक्ष्यमा बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, बालबालिका तथा किशोरकिशोरीविरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र हिंसाको अन्त्य गरी सशक्त गर्नेजस्ता परिमाणात्मक लक्ष्य समावेश गरिएको छ ।
२०६८ को जनगणना अनुसार १४ वर्षमुनिका बालबालिकाको सङ्ख्या नेपालमा ९२ लाख ४८ हजार २ सय ४६ थियो । त्यो सङ्ख्या अहिले घटेर ८१ लाख १५ हजार ५ सय ७५ मा झरेको छ ।
नेपाल बालबालिकाको स्थिति २०७९ का अनुसार अहिले पनि नवजात शिशु मृत्युदर प्रतिहजार १६, शिशु मृत्युदर प्रतिहजार २५ र बाल मृत्युदर प्रतिहजार २८ रहेको छ । अझै पनि करिब तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा शुभकामना दिँदै हरेक वर्ष भदौ २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रहेकोले तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।
उपराष्ट्रपति, प्रधानमनन्त्रीलगायतले पनि दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०, १०:११