काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेशको मुख्यमन्त्री बन्नु भएका हिक्मत कार्कीले ५ सदस्यीय मन्त्रिपरिद् गठन गर्नु भएको छ ।
उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १ सय ६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा हिजो नियुक्त गर्नुका साथै पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा मन्त्रीपरिषद् गठन भई कार्यविभाजन पनि गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नुभएको छ ।
तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जा, स्वास्थ्य मन्त्री बन्नु भएको छ भने पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री बन्नु भएको छ भने सृजना राईले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।
मन्त्रीहरुलाई प्रदेश प्रमुख र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपिनयताको शपथ गराएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०, ०८:४४