काठमाडौँ । ‘पानी पर्नुपर्ने सिजनमा परेको छैन, अर्कै सिजनमा पो परिरा'को छ, हिउँ पनि अचेल अर्कै अर्कै सिजनमा परिरा'को छ’ रसुवा धुन्चेका निमा तामाङ पछिल्ला केही वर्ष यताको अनुभव हो यो । निमा लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको नजिकमा रहेर काम गर्दै आउनुभएको छ ।
केही दशक यता निकुञ्ज क्षेत्रमा देखिँदै गएको परिवर्तनप्रति निमाजस्तै धेरै रसुवावासी चकित भइरहेका छन् । ‘चैतमा फुल्ने लालिगुराँस माघमै फुलिरहेको छ’ तामाङले भन्नुभयो, ‘वन्यजन्तु मासिएका हुन् कि जलवायु परिवर्तनले गर्दा वासस्थान नै सारेको हो कि’ आशङ्का गर्दै तामाङले भन्नुभयो ‘केही वन्यजन्तुदेखिनै छोडेको छ । केही भने मानव बस्तीमै पस्न थालेको छ ।’
राम्चे मध्यवर्ती उपभोक्ता समिति रसुवाका अध्यक्ष विनोद तामाङको अनुभव पनि निमाको जस्तै छ । १३ वर्षदेखि निकुञ्जका लागि विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका तामाङ वन्यजन्तुको वासस्थान परिवर्तन हुँदै गएको र पन्छी घटेको बताउनुहुन्छ । ‘बँदेल लामटाङ क्षेत्रमा हुँदैन थियो तल्लो क्षेत्रमा मात्रै पाइन्थ्यो तर अहिले ३ हजार मिटरको उचाइसम्म बँदेल देखिन थालेको छ’, विनोदले थप्नुभयो, ‘लामटाङ क्षेत्रमा थुप्रै काग पाइन्थ्यो हिजोआज देखि नै छाडेको छ ।’
जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको औसत अधिकतम तापक्रम बर्सेनि शून्य दशमलव ०५६ डिग्रि सेल्सियसका दरले बढिरहेको छ । त्यसमा पनि उच्च हिमाली भू–भागको तापक्रम बर्सेनि शून्य दशमलव ०८६ डिग्रीले बढीरहेको छ ।
तापक्रम बढ्दै जाँदा कृषि, वन लगायत क्षेत्रमा विभिन्न परिवर्तन देखिन थालेका छन् ।
लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि जलवायु परिवर्तनको प्रभाव महसुस गर्न थालिएको विज्ञहरू बताउँछन् । एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सन् २०२२ यता निकुञ्ज क्षेत्रमा रहेका हिम मण्डलमा आइरहेको परिवर्तन र यसका कारण समाज, वन्यजन्तु र समग्र पारीस्थितिकीय प्रणालीमा पुगिरहेको असरबारे अनुसन्धान गरिरहेको छ । निकुञ्जको वन क्षेत्र, घाँसे मैदान अनि वन्यजन्तुको वासस्थानमा विभिन्न किसिमका परिवर्तन देखिइरहेको इसिमोडका पारिस्थितिक प्रणाली विज्ञ सुनिता चौधरी बताउनुहुन्छ । ‘हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिमाली खर्क, घाँसै मैदानका घाँस छिटै सुक्न थालेको देखिन्छ’ चौधरीले भन्नुभयो, ‘यसले गर्दा हिमाली क्षेत्रका किसानले पालेका चाैँरी, याकले पर्याप्त पोषण पाउँदैनन् यसको असर दूध उत्पादनमा पर्छ ।’ दूध उत्पादन घट्दा किसानको पेसा नै धरापमा पर्ने उहाँको भनाइ छ ।
जलवायु परिवर्तनका कारण सिर्जित यस्ता समस्या समाधानका लागि लामटाङ राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको विज्ञ चौधरीले जानकारी दिनुभयो । हिमाली राष्ट्रिय निकुञ्जको रूपमा परिचित लामटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाका अनुसार निकुञ्ज क्षेत्रका हिमालमा हिउँ पग्लिने क्रम बढिरहेको छ । जलवायु परिवर्तनको असर नै हिमाली क्षेत्रमा बढी देखिएकाले निकुञ्ज थप प्रभावित बनेको छ ।
निकुञ्ज क्षेत्रमा समेत पाइने विश्वकै दुर्लभ हिउँचितुवाको वासस्थान सन् २०३५ सम्म २० देखि २५ प्रतिशतले घट्ने विभिन्न अध्ययनले देखाइसकेका छन् । यस्ता समस्या समाधानका लागि निकुञ्जले योजना बनाएर काम गरिरहेको कार्यालय प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो । ‘वन क्षेत्रलाई संरक्षण गर्ने, खाली रहेका क्षेत्रमा वृक्षारोपण गरिरहेका छाैँ भट्टराईले भन्नुभयो ।’ जलवायु परिवर्तनको असरका कारण सर्वसाधारण नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष असर पुगेको भन्दै निकुञ्जले स्थानीय समुदायलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । ‘विद्यालय तहदेखि नै जलवायुसँग सम्बन्धी कार्यक्रम गरिरहेका छौँ ।’
तापक्रममा वृद्धि हुँदा वन्ययन्तु तथा पन्छीको वासस्थानमा क्रमशः परिवर्तन आइरहेको छ । जसका कारण मानव–वन्यजन्तुबीचको द्वन्द्व मात्र बढिरहेको छैन, कतिपय वन्यजन्तु र वनस्पती नै लोप हुने खतरा पनि बढ्दै गएको प्रति विज्ञहरुले चासो र चिन्ता व्यक्त गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, ११:३६