पर्साका विपिन सिंहले चिकित्सा शिक्षाको स्नातक अर्थात् एमबीबीएसको अध्ययन पूरा गरेको २ वर्ष भयो । नीजि मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका विपिन विदेश जाने तयारीमा हुनुहुन्छ । ‘नेपालमा जति खर्च गरेर मेडिकल पढिन्छ त्यसको प्रतिफल एकदमै कम मात्र छ । भने अनुसारको काम गर्न पाइँदैन, काम पाइहाले पनि सेवा सुविधा राम्रो छैन, त्यसैले विदेश नै जाने तयारी गरिरा'छु ।’
मोरङ्का विशाल अधिकारी पनि चिकित्सा शिक्षाको उच्च अध्ययनका लागि विदेश जाने योजनामा हुनुहुन्छ । देशमा भने अनुसारको काम र तलब दुबै नपाइने भएकोले विदेश नै राम्रो विकल्पको रूपमा रहेको उहाँको पनि भनाइ छ । विशाल र विपिन मात्रै होइन नेपालबाट बर्सेनि ५ सय डाक्टर उच्च शिक्षा र कामको खोजीमा बिदेसिने गरेका छन् ।
निजी मेडिकल कलेजबाट अध्ययन गरेका डाक्टर विदेश पलायन हुने गरेका छन् । एमबीबीएस अध्ययन सक्न १ करोड रुपैयाँसम्म लाग्ने तर त्यसअनुसारको सेवा सुविधा नपाइने भएपछि एमबीबीएस गरेर विदेश जानु मेडिकल क्षेत्रका लागि सामान्य जस्तै बनेको छ ।
नेपाल मेडिकल काउन्सिलमा ३० हजार १ सय ३३ जना चिकित्सकले नाम दर्ता गराएका छन् । तर, देशभर १८ हजार चिकित्सक मात्रै कार्यरत रहेका छन् । दर्ता भएका बाँकी १२ हजार चिकित्सकमध्ये केहीले पेसा नै छाडिसकेका छन् भने केही विदेशमा छन् ।
काउन्सिलका सदस्य तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की पनि नेपालबाट विदेश पलायन हुने चिकित्सकको सङ्ख्या बढ्नुको मुख्य कारण यहाँ सेवा सुविधा राम्रो नहुनु नै रहेको बताउनुहुन्छ । ‘एक करोड खर्चेर एमबीबीएस पूरा गरे पनि राम्रो सेवा सुविधा पाइँदैन । उही काम गरेर विदेशमा यहाँभन्दा १० देखि १८ गुणासम्म बढी तलब पाइन्छ । अनि किन नेपालमा बस्ने ? त्यसैले जबसम्म सेवा सुविधालाई परिमार्जन गरिँदैन तबसम्म यो समस्या समाधान गर्न समस्या नै छ’ उहाँले भन्नुभयो ।
नेपालमा बर्सेनि २ हजार ५ सयदेखि ३ हजार चिकित्सकले अध्ययन पूरा गर्छन् । त्यसमध्ये ६ सयको हाराहारीमा चिकित्सक पढाइ सक्ने वित्तिकै राम्रो अवसरको खोजीमा विभिन्न देश पुग्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
देशमा पढेर दक्ष बनेका डाक्टर बिदेसिन्छन्, नेपालमा भने दक्ष चिकित्सकको अभाव छ । बर्षौँ मेहनत गरेर तयार भएका चिकित्सकलाई स्वदेशमै रोक्न र नागरिकलाई सेवा प्रवाहमा सजिलो बनाउन सरकारले पनि कुनै नीतिगत निर्णय नगर्दा यो क्रम रोकिएको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले नेपाली चिकित्सक विदेसिनु विडम्बना भएको बताउनुभयो । ‘राम्रो अवसर र सेवा सुविधाको खोजीमा नेपालमा पढेका चिकित्सक बाहिर जान्छन् । यहाँका बिरामीले समयमै उपचार पाउँदैनन् । तर, यसलाई रोक्न खासै नीतिगत निर्णय भइसकेको छैन’ उहाँले थप्नुभयो, ‘हालसम्म यस विषयमा कुनै विशेष छलफल पनि भइसकेको छैन ।’
डाक्टरसँग भेटेर स्वास्थ्य जाँच गर्न नपाएकै कारण देशभर बर्सेनि सरदर ८० देखि ९० जनाको मृत्यु हुने गरेको तथ्याङ्क सरकारको छ । युनिभर्सल हेल्थ रिसर्च सेन्टरका अनुसार नेपालका लगभग ३१ प्रतिशत नागरिक स्वास्थ्य उपचारको पहुँचमा छैनन् । तर, देशमा तयार भएका चिकित्सक अवसरको खोजी गर्दै विदेश पलायन भइरहेका छन्, जसलाई रोक्न सरकारले आकर्षक योजना ल्याउन सकेको छैन ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९, १५:३९