काठमाडौँ । २५ वर्षदेखि पर्यटकलाई बाटो देखाउनेदेखि बिभिन्न ठाउँको बारेमा सूचना दिँदै आउनुभएका काठमाण्डौ मैतिदेवीकी उत्तरा मानन्धरलाई दसैँतिहार लगायतका ठूला पर्वमा समेत फुर्सद हुदैन थियो ।
कोरोना महामारी सुरु भएयताको १६ महिनादेखि भने उहाँ कामविहीन हुनुहुन्छ । मानन्धर भन्नुहुन्छ, ‘नेपालमा भूकम्प जाँदा हामी कामविहीन हुन परेन, तर कोरोनाले फुर्सद मात्रै दिएको छ ।’
पर्यटक गाइडको रुपमा काम गर्न नपाउँदा उहाँ घरमै बस्नु परेपछि समय बिताउन केही विद्यार्थीलाई पढाउनु पनि भयो ।
नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाएर करिव २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।
पर्यटन क्षेत्रमा मौसमी रोजगारी गर्ने गाइडहरू माघफागुनदेखि दुईतीन महिना र भदौदेखि कात्तिक मङ्सिरसम्म धेरै व्यस्त हुन्छन् ।
१५ वर्षदेखि पर्यटन गाइडको काम गर्दै आउनुभएका चितवनका तुलसिराम भुसाले यत्ति लामो समय कहिल्यै कामविहीन हुन नपरेको अनुभव सुनाउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘कोरोनाले यति लामो समयसम्म बेरोजगार बनाएपछि गाउँ फर्केर बाख्रापालन गरिरहेको छु ।’ बाख्रापालन गर्न सुरु गरे पनि आफ्नो पुरानो पेशालाई भने नछोड्ने भुसाले बताउनुभयो ।
नेपालमा पर्यटक बस्ने करिव ३५ सय होटल छन् तर कोरोना महामारीका कारण अहिले प्रायः बन्द रहेका ती होटलले करिव ४ लाखलाई रोजगारी दिएका थिए ।
कोरोनाका कारण बन्द रहेका होटल अब कसरी सञ्चालन गर्ने भन्ने चिन्तामा व्यवसायी छन् । करोडौँको लगानीमा निर्माण गरिएका होटल बन्द हुँदा कसरी फेरि चलाउने भन्ने चिन्ता उनीहरूमा रहेको दोलखा कालिन्चोक कुरीका होटल व्यवसायी हरि ओलीले बताउनुभयो ।
पर्यटन क्षेत्रलाई उकास्न सहुलियत पुणर् कर्जा, पुनर्कर्जा, नविकरणमा छुट लगायतका कार्यक्रम सरकारले ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह-प्रवक्ता तारानाथ अधिकारीको भनाइ छ ।
ललितपुर बुङ्मतीका युकेश बज्राचार्यले धातुकला अन्र्तगत बाला, लकेट औठीलगायत हस्तकलाका सामान बनाउनुहुन्छ । कोरोनाका कारण २५ वर्षदेखि बुवाले गर्दै आएको यो पेशालाई अब अघि बढाउन नसकिने हो कि भन्ने उहाँलाई लाग्न थालेको छ ।
बज्राचार्य भन्नुहुन्छ, ‘खासगरी हामी धातुका गहना बनाउँछौँ । कोरोनापछि माग आउन छाडेको छ अनि भाउ पनि अत्याधिक बढेको छ ।’
धराशायी बनेको पर्यटन क्षेत्रलाई उठाउनका लागि सबभन्दा पहिले आन्तरिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले कुल बजेटको ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ पर्यटन क्षेत्रमा विनियोजन गरेको छ ।
पर्यटन क्षेत्रलाई उकास्न सहुलियत पुणर् कर्जा, पुनर्कर्जा, नविकरणमा छुट लगायतका कार्यक्रम सरकारले ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह-प्रवक्ता तारानाथ अधिकारीको भनाइ छ ।
देशको आर्थिक क्षेत्रको प्रमुख खम्बा मानिने पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन पहल भइरहेको दावी सरकारको छ ।
तर पर्यटन क्षेत्रमा काम गर्नेहरूका लागि कोरोनाविरुद्धको खोपदेखि राहतका कार्यक्रममा सरकारले ध्यान नदिएको गुनासो अझैँ आइरहेको छ
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८, ०८:२०