काठमाडौँ । गीतकार डा. डीआर उपाध्यायले पुनः एकैसाथ सात एल्बम सार्वजनिक गर्नुभएको छ । राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज उपाध्यायका सात गीति एल्बम बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नुभयो ।
२०७५ साल मंसिरमा पनि एकसाथ सातवटा गीति एल्बम सार्वजनिक गरेर उपाध्यायले विश्व रेकर्ड कायम गर्नुभएको थियो ।
‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ एल्बम सार्वजनिक गरिएको हो । बाङ्मय शताब्दी पुरुष जोशीले सात गीति एलबमसँगै उपाध्यायको एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यासको संगालो पनि सार्वजनिक गर्नुभएको छ ।
एल्बम सार्वजनिक कार्यक्रममा हास्य सम्रागी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणलाई पनि अभिनन्दन गरिएको छ ।
गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले सार्वजनिक गीतमार्फत पनि आठ वल्ड्र रेकर्ड कायम गर्नुभएको छ ।
सार्वजनिक कार्यक्रममा एभरेष्ट वल्ड्र रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले डा. उपाध्यायलाई आठ वटा वल्ड्र रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
आज कायम भएका वल्ड्र रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, पाँच फरक सङ्गीतकारले सङ्गीत गरेको एउटा गीत, अधिकांश हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौँ भन्ने योगसम्बन्धी, महिला प्रताडनासम्बन्धी गीत जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६, २०:०९