काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
हिजो शुक्रबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनताहरुसँग निरन्तर समन्वय र सहकार्य गरी अगाडी बढेको बताउनुभयो ।
उहाँले खुल्ला सीमानाका कारण राष्ट्रिय सुरक्षामा थप चुनौती भएको हुँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जनशक्ति, प्राप्त स्रोतसाधन, प्रचलित कानून, अन्य सरोकारवाला निकायसँगको समन्वय र स्थानीय वासिन्दाहरुसँग सहकार्य गरी सीमा सुरक्षालाई थप बलियो बनाउदै लैजाने योजना सुनाउनुभयो ।
महानिरीक्षक पौडेलले विशेष गरी समय–समयमा भईरहेको सीमा विवाद, क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकहरुको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसार पसार लगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा समेत अन्य सुरक्षा निकायको समन्वय र सहकार्यमा नियन्त्रण गर्दै आईरहेको बताउनुभयो ।
मानव वेचविखनका घटनारुमा समेत सशस्त्र प्रहरी बल नेपालले सम्बन्धित निकायहरुसँग समन्वय गरी नियन्त्रण गर्दै आईरहेको बताउनुकासाथै सीमा क्षेत्रमा हुने विपद् उद्धारका कार्यमा सहज होस भन्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बल नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगको समन्वयमा विपद् रोकथामका कृत्रिम अभ्यासहरु समेत संचालन गर्दै आईरहेको बताउनुभयो ।
उहाँले हाल नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले २ सय ६० वटा बोर्डर आउट पोष्टहरु स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आईरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४ सय २५ वटा बनाउने योजना रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले १ हजार ८ सय ८० किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको २ सय ४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको बताउनुहुँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि नेपाल सरकार गृहमन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भई रहेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३