चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गर्दै आएकाहरूले आफूहरूलाई मानसिक स्वास्थ्यप्रतिको बुझाइ कारात्मक बनाउने गरी कार्यक्रम ल्याउन माग गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा नगरपालिकाको वडा नम्बर ११ को नर्सरीमा भएको मानसिक स्वास्थ्य समस्या, समाधान र सचेतनाक लागि सरोकारवालाबीचको अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले आफूहरूलाई नकारात्मक रूपमा हेर्ने गरिएको गुनासो पोखेका हुन् ।
नगरपालिकाले आफूहरूको समस्या र समाधानका बारेमा छलफल चलाएकोमा प्रशंसा गर्दै उनीहरूले यसप्रकारको कार्यक्रम समाजमा अझ बढाउनुपर्ने र मानसिक स्वास्थ्य समस्या नभएकालाई पनि सहभागी गराउनुपर्नेमा जोड दिए ।
अभिमुखीकरण कार्यक्रम उद्घाटन शत्रमा वडा नम्बर ११ का सचिव कृष्णबहादुर श्रेष्ठले पछिल्लो समयमा पारिवारिक तथा सामाजिक कारणले गर्दा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै मानसिक स्वास्थ्य समस्या समाधान र पूर्व सतर्कताको अभिमुखीकरण अभियानकै रुपमा चलाउन आवश्यक रहेको बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापाले मानसिक स्वास्थ्य समस्या र समाधानका लागि अपनाउन सकिने सावधानीका बारेमा जानकारी गराउनका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराउनुभयो ।
मानसिक स्वास्थ्य समस्या भएकाहरूको साथमा नगरपालिका छ भन्ने सन्देश दिँदै आफूहरु विभिन्न वडामा यो अभिमुखीकरण कार्यक्रम लिएर जान अभियान चलाइएकै बताउँदै उपमेयर थापाले आगामी वर्षको बजेट तथा कार्यक्रममा मानसिक स्वास्थ्यको विषय बढाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
अभिमुखीकरण कार्यक्रमा मानसिक स्वास्थ्य समस्या भएर औषधि खाँदै गरेका व्यक्ति, उनीहरूका आफन्त तथा सरोकारवाला निकायका गरी ४७ जनाभन्दा धेरैको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२