काठमाडौँ । १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गर्नुभएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यो व्यवस्था मंसिर १ गतेबाट लागू हुने पनि सचिवालयले जनाएको छ ।
क्यान्सर पिडित बालबालिकालाई आर्थिक अभावमा मृत्यु हुने अवस्था अन्त्य गर्न तथा समयमै उपचार गरेर ज्यान बचाउन निःशुल्क उपचार गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभएको छ ।
नेपालमा कुल मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सरका नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१, १८:४६