काठमाडौँ– पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा ‘दाइबा: चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ नामक पुस्तक प्राडा त्रिरत्न मानन्धर, पूर्वपरराष्ट्र सचिव तथा राजदू
डा. मदन भट्टराई, मल्ल के सुन्दर, प्रकाशकलगायतले सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा प्राडा मानन्धरले चित्तरञ्जन नेपालीले इतिहास विधालाई नयाँ ढङ्गले लेख्न सुरु गरेको उल्लेख गर्नुभयो । नेपालीले इतिहास लेखनका साथै परराष्ट्र मामिला, प्रशासन, साहित्य, समाजसेवा जस्ता अनेकौँ क्षेत्रमा बलियो उपस्थिति जनाएको र राज्यलाई गुन लगाएको उहाँले बताउनुभयो ।
पूर्व परराष्ट्र सचिव तथा राजदूत डा. मदन भट्टराईले चित्तरञ्जन नेपालीका चार पुस्ताले पहिला जैसी कोठा, मुन्सी खाना हुँदै पछि परराष्ट्र मन्त्रालयमा योगदान दिएको बताउनुभयो । खम्पा निःशस्त्रीकरणदेखि नेपाल–चीन सीमा सन्धिमा पनि उहाँको योगदान रहेको डा. भट्टराईले जानकारी दिनुभयो । छरछिमेक, आफन्त तथा परिवारले बोलाउने नाम ‘दाइबा’बाट पुस्तकको नाम राखिनु उचित भएको उहाँको भनाइ थियो ।
लेखक तथा भाषाविद् एवम् नेपाल भाषा प्रज्ञा प्रतिष्ठानका भाइस चान्सलर मल्ल के सुन्दरले काठमाडौँको वडा नं. २५ मा राजनीति, समाजसेवा, प्रशासन, शिक्षालगायत विविध विषयमा चर्चित धेरै व्यक्ति जन्मिएको भन्दै चित्तरञ्जन नेपालीको जन्म पनि यही वडामा भएको जानकारी दिनुभयो । आफूले चार दशकभन्दा बढी सङ्गत गरेको स्मरण गर्दै उनले चित्तरञ्जन नेपालीले लेखन र अनुवादको माध्यमबाट नेपाली मात्र नभई नेपाल भाषा र संस्कृतमा पनि योगदान दिएको बताउनुभयो ।
प्रकाशक मीनु राजभण्डारीले दाइबाका योगदानहरूलाई एकमुष्ट रूपमा प्रस्तुत गर्न पुस्तक सफल भएको बताउनुभयो । यो पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्य तिथिमा सार्वजनिक गरिएको हो । ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उहाँको मृत्यु भएको थियो।
‘दाइबा: चित्तरञ्जन नेपाली स्मृति ग्रन्थ’मा चित्तरञ्जन नेपालीको लेखन, इतिहास, कृतिका अलावा उहाँले प्रशासन, कूटनीति र समाजसेवामा दिएको योगदानको पनि चर्चा छ । त्यसै गरी, उहाँले आफ्नै बारेमा लेखेका लेख, अनुभवका साथै बाबुराम आचार्य, ऋद्धिबहादुर मल्ललगायत व्यक्तिबारे लेखेका लेख तथा स्मृति समावेश गरिएको छ । यी लेखले त्यस बेलाको राजनीति, प्रशासन, सीमा व्यवस्थापनलगायत विषयमा जानकारी दिएको पुस्तकका सम्पादक प्रकाश गुरागाईँले जानकारी दिनुभयो । मीनु राजभण्डारी र मनीष राजभण्डारी प्रकाशक रहेको पुस्तक ६९६ पृष्ठको छ । पुस्तकको मूल्य ५०० रुपैयाँ छ ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१, १६:३३