काठमाडौँ । एआई र रोबोटिक्समा आधारित उपन्यास ुसावर्णिु सार्वजनिक भएको छ । बालरोग विशेषज्ञ डा। श्रीधर खनालद्वारा लिखित ‘सावर्णि’ प्राध्यापक अभि सुवेदी, लेखक डा। रवीन्द्र समीर, लेखक सगुना शाह र लेखक खनालले लोकार्पण गर्नुभएको हो ।
विमोचन कार्यक्रममा प्राध्यापक सुवेदीले भन्नुभयो ‘यो उपन्यासले भने आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ । उपन्यासभित्रको रोबोटिक्स संसार, पात्र र चरित्र चित्रण, संवाद र कथानकको बुनाई जादुयी छ । आकर्षक भाषाशैलीमा आएका लेखकले अब नेपाली साहित्यमा अलग परिचय बनाउनेछन् ।'
‘हाम्रा छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना बाँच्नै नसक्ने अवस्था आइरहेको छ । हाम्रा सृजना मात्रै होइन, हामीलाई पनि एआईले नियन्त्रण गरिरहेको छ । यही विषयलाई आख्यानीकरण गरिएको यो उपन्यासले नयाँ बहसको सृजना गरेको छ ’, सार्वजनिक पुस्तकमाथि टिप्पणी गर्दै लेखक रवीन्द्र समीरले भन्नुभयो, ुनेपाली आख्यानका लागि यो किताब उपलब्धी हो । अब मानिसहरू सावर्णि युगमा प्रवेश गर्न लागेका छन् ।'
पुस्तकमाथि टिप्पणी गर्दै लेखक सगुना शाहले मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक् सृजना गर्न सक्ने बताउनुभयो । ‘अहिले युवाल नोहा हरारीको चर्चा भैरहेको समयमा सावर्णि’मा डा। खनालको अध्ययनको उस्तै फैलावट देखिएको छ, जुन नेपाली लेखक र पाठकका निम्ति खुशीको कुरा हो ।ु उहाँले भन्नुभयो, ‘यो किताब हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ । अझै अघिको समयमा पुगें र अहिले विश्वभरि मानवको चुनौतीको विषय बनिरहेको एआई र रोबोटिक्सको दुनिया सम्झें ।’आकर्षक भाषाशैलीमा लेखिएको पुस्तकले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर सचेत गराउने समेत शाहले बताउनुभयो ।
पेशाले बालरोग विशेषज्ञ डा। खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन् । फाउन्डेसनले क्यान्सरजस्ता रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा। खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताउनुभएको छ ।
पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१, १३:२४