विद्यार्थी जीवनका केही सम्झना
वास्तवमा जीवन भन्नु एक यात्रा रहेछ । जीवनको यस यात्रामा विद्यार्थी जीवन जस्तो रमाइलो, स्वतन्त्र र सुनौलो समय अरू हुँदैन । मैले पनि त्यस्तो जीवन पार गरेर आएँ । विद्यार्थी कालमा जे जति पढेँ त्यसकै आधारमा जीवनको यात्रा यहाँसम्म गरेँ । विद्यार्थी जीवनमा धेरै दुःखका र सुखका पनि घटनाहरू भए । तिनैमध्येका केही घटना भने जहिले सम्झँदा पनि ताजै जस्ता लाग्छन् ।
विक्रम सम्वत् २०१३ सालमा दिङ्ला गुरु महाराज विद्यालयमा अध्ययन गर्ने ताप्लेजुङका साथीहरूसँग घर आउने भएर हिँडियो । यो चार दिनको पैदल दूरी पार गर्नुपर्ने यात्रा थियो । विद्यार्थी युवकहरू, एक प्रकारले जोगी जस्ता, साथमा पातला बर्की, एक दुई छाक खानलाई चामल थिए । रमाइलो गर्दागर्दै दुई दिनको यात्रा सकियो । दिङ्लाबाट हिँडेर तेस्रो दिन नुनढाकी भन्ने गाउँमा पुग्दा राति भयो । रातको बेला, केही घरमा बास माग्दा पाइएन । एउटा घरमा गारो मान्दै बल्लतल्ल बास पाइयो तर हामीसँग खानेकुरा केही थिएन, बिहानै सकिएको थियो । बास दिनेले दिए ठुलो गुण लगाए, उनैसित खान पनि माग्नु त भएन । अनि सल्लाह गरेर रातकै समयमा हामी राँको बालेर घरघरमा माग्न हिँड्यौँ । एउटा घरमा धेरै ठुलो कुकुर फुकाएको रहेछ झम्टेर आयो । त्यो दशाबाट उम्केर अर्को घरमा जाँदा राति आएका त्यसमा पनि विद्यार्थी केही त दिनै पर्छ भनी १० घोगा मकै दिए । तपाईँहरूको जय होस् भन्दै बास बसेका घरमा फर्केर त्यही मकै भुटेर खाइयो ।
त्यहाँबाट भोलि सबेरै मिल्के डाँडातर्फ लाग्यौँ । डाँडा काटेर बस्तीहरूमा पुग्न धेरै दूरी छ । कोही गीत गाउने, कोही श्लोक भन्ने, कोही कथा कोही कविता यस्तै गर्दै गाउँमा पुगेर ‘हामी भोका छौँ, खाना दिनोस्, विद्यार्थी हौँ’ भन्दा खाना खान दिए र यसै गरी गरी चार दिनमा हामी ताप्लेजुङ पुग्यौँ ।
२०१३ सालकै अर्को एउटा घटना सम्झँदा मलाई अहिले पनि एक्लै हाँसो लाग्छ । त्यस बेला म ताप्लेजुङकै विद्यालयमा अध्ययन गर्थेँ । अध्ययनबाट फुर्सद भएका बेला साथीहरू मिलेर कतै न कतै घुम्न जाने गर्थ्यौँ । यसै सिलसिलामा पाथीभरा माताको दर्शन गर्न जाने योजना मिलाएर नन्दिकेशर पौडेल दाइ (मामाका छोरा), नेत्र घिमिरे लगायत पाँचजना साथी बिहान चार बजे फुङलिङबाट बाटो लाग्यौँ । उज्यालो हुँदा त हामीले सुकेटार नाघिसकेका थियौँ । त्यो उमेरमा कति हिँड्न सकिन्थ्यो, अहिले सम्झँदा आफैँलाई विश्वास लाग्दैन । बिहानको दस बजे हामी पाथीभरा पुगिसकेका थियौँ ।
पाथीभरा पुगेर देवीको दर्शन गरियो । पूजाआजा गरेर चण्डी एक आवृति पाठ पारायण पश्चात् मातालाई वन्दना गदै ओरालो लाग्दा भने निकै अबेला भइसकेको थियो । ओरालो सकिएर तेर्सो आइपुग्दा रात प¥यो । बर्खाको बेला पानी पर्न थाल्यो । अँध्यारोमा भिज्दै कहाँसम्म जाने? ओत लाग्ने ठाउँ पनि कतै छैन । अँध्यारोमा भिज्दै लड्दै उठ्दै निकै बेर अगाडि बढेपछि एउटा गोठ देखियो । गोठमा भेटिए एक जना युवा । सुरुमा त बस्ने ठाउँ छैन, सुत्ने ठाउँ छैन भनेर आनाकानी गर्दै थिए तर निकै अनुनय विनय गरेपछि उनले बल्लतल्ल बस्न दिने भए । परिचय गर्ने क्रममा थाहा भयो, उनी रहेछन् हाङ्देवाका दही कार्कीका नाति ।
‘गुणी गुणं वेत्ति न वेत्तिनिर्गुण’ भनेझैँ हाम्रो काइँलो दाइ छविलाल धेरै गुणहरूले परिपूर्ण हुनुहुन्थ्यो । धामी, ज्योतिषी, पण्डित, शिक्षक सबै कुरामा दक्ष । दाइको नाम नसुन्ने उहाँलाई नचिन्ने मानिस ताप्लेजुङमा कमै थिए त्यो बेला । पाठशाले गुरु भने पछि सर्वत्र चर्चित र सम्मानित । हामी उहाँका भाइहरू हौँ भन्ने बित्तिकै ती गोठालाले हामीलाई गोठभित्र लगेर आफू सुत्ने ओछ्यानमा राडी ओछ्याएर राखे । अगेनामा आगो बालेर हामीले भिजेका लुगा सुकायौँ । उनले चामल ठिक पारे । साग काटिदिए । हामीले खाना बनाएर खायौँ । कुरै कुरामा उनले एक माऊ भैँसी बिरामी रहेको कुरा बताए । उनले भने, पाठशाले गुरुका भाइहरू हुनुहुँदो रहेछ, तपाईँहरूले जान्नुभएको छ भने चिन्ता गरिदिनु भन्न थाले । यतिकैमा नन्दिकेशर दाजुले– ‘पाठशाले गुरुको सहोदर कान्छो भाइ भएपछि केको चिन्ता, यिनले भैँसी त के हात्ती पनि फुकेरै निको पार्छन् भनेर गफ लगाइदिनुभयो । म पनि लौ त भन्दै अघि सरेँ । खरानी, अछेता र स्याउला लिएर मन्त्र पढेझैं गर्दै पाँच मिनेट जति फाकफुक गरिदिएँ । यति गरेर मुढाको आगो ताप्दै हामी सुत्यौँ ।
बिहान हामी उठेर हिँड्ने तरखर गर्न लाग्यौँ । यतिकैमा कार्कीले भने, ‘कहाँ अहिल्यै हिँड्ने कुरा गरेको ? अब खाना खाएर मात्रै जानू । तीन दिनदेखि दूध दिन छाडेको भैंसीले आज एक पाथी दूध दियो । तपाईँहरूले लगाएको गुन तिर्न पाउनु प¥यो नि मैले ।’ यसो भन्दै उनले एक एक बटुको दूध खान दिए । मैले भैँसीलाई पुनः एक पटक फुकफाक गरिदिएँ । हामीले छिटो छिटो गरेर बिहानको खाना पनि बनाएर खायौँ र बाटो लाग्यौँ ।
यस्ता अनौठा र रमाइला घटनाहरू जीवनमा कति आए कति गए । कति सम्झनाबाटै हराए । कति कहिल्यै नबिर्सिने गरी सम्झनामा रहिरहँदा रहेछन् । धरानबाट इनरुवामा घुम्न जाँदा दसैँका बेलामा भोकै हिँडेका कथाहरू छन् । साथी भानुभक्त पोख्रेल र म श्रावण महिनाको झरीमा पहिरोमा भासिँदै, निस्कँदै गरेर मरिन्छ कि भनेर डराउँदै धरान गएको सम्झना पनि ताजै छ । भर्खर जस्तो लाग्दा लाग्दै ती घटनाहरू भएको त सात दशक पो हुन लागेछ ।
आकाशमा गड्याङगुडुङ धर्तीमा हाहाकार:
यो सम्वत् १९९० सालको कुनै दिनको कुरा हो । अर्थात् म नजन्मिँदैको घटना हो । धेरै जनाको मुखबाट त्यो आश्चर्यजनक घटनाको वृत्तान्त मैले धेरै पटक सुनेको हुँ । त्यो सालको कुनै एक दिन ताप्लेजुङको आकाशमा अद्भुत घटना भयो । बर्खाको सिजन पनि होइन, आकाशमा बादल पनि छैन तर एक्कासि गड्याङगुडुङको आवाज आयो । मानिसहरू छक्क परेर आकाशतिर हेर्न थाले । त्यस घटनाका प्रत्यक्षदर्शी आजसम्म पनि कति जना हुनुहोला ।
ताप्लेजुङ तोक्मामा बजार लागेको दिन रहेछ । मान्छेहरूको भिडभाड थियो । त्यसरी आकाशबाट कहिल्यै नसुनिएको अनौठो आवाज आएको सुनेर मानिसहरूले आकाशतिर हेरे । त्यहाँ त एउटा डरलाग्दो ठुलो वस्तु ठुलो आवाज गरेर आफू तिरै आइरहेको देखे । त्यो देखेर ठुलो हाहाकार मच्चियो । मानिसको भागाभाग दौडादौडी भयो । कोही घरभित्र लुके कोही जङ्गलतिर पसे । कसैले दुई हात जोडेर जाऊ जाऊ हामीलाई केही नगर भनेर रुन–कराउन थाले, भगवानको पुकारा गर्न थाले। पशुहरू ठाडा पुच्छर लगाएर उफ्रिए, दाम्लो चुँडाएर भागे । ताप्लेजुङ बजारका पसलेहरू पसल छोड्दै भाग्दै गर्न लागे । केही बेरपछि त्यो वस्तु एक फन्का लगाएर पश्चिम दिशातिर लाग्यो र बिस्तारै हरायो, आवाज पनि बिस्तारै बिस्तारै सुनिन छाड्यो । केही बेर पछि देखि मानिसहरू लामो सास फेर्दै बिस्तारै बिस्तारै बाहिर निस्कन थाले । एक ठाउँ जम्मा हुन थाले । के हो, कसो हो भनेर सबैमा कौतूहल भयो । हल्लीखल्ली भयो । कसैले के भने, कसैले के भने । अनेक अड्कलबाजीका कुराहरू भए । तर कोही पनि कुनै निर्क्योलमा पुग्न सकेनन् । मानिसहरूमा आतङ्क व्याप्त भयो ।
कुनै समय लाहुर गएर लडाइँ गरेर फर्केका बुज्रुक बूढा लाहुरेले यो हवाइजहाज हो, केही गर्दैन, हेर्न आएको फर्केर गयो, नडराओ भनेर आश्वस्त पारेपछि एक कान दुई कान हुँदै सबैले त्यो हवाइजहाज रहेछ भन्ने थाहा पाएछन् । यस्तो समय थियो हामीले भोगेको । अब त हवाइजहाज नदेख्ने मान्छे को पो होला र ? म हवाइजहाजको प्रशंग आउँदा हरेक पटक यो रमाइलो घटना सम्झन्छु ।
धर्ती प्रलयको कथा २०१८ माघ
२०१८ साल माघ २२ औँसी तिथि, यस दिन यो संसार सबै विनाश हुनेछ भनेर ज्योतिष तथा केही बुज्रुकहरूले भनिदिनाले दुनियाँ नै थर्कमान भयो । १९९० सालको माघ २ गते ८ ग्रह एकै राशिमा जम्मा हुँदा भैँ चालो गएर कति मानिस पशु प्राणी आदि सम्पूर्णको क्षति भयो । १८ सालको माघ २२ मा पनि त्यही योग परेकोले अरू बढी विनाश हुने योग परेको छ भन्ने हल्लाले गाउँ गाउँमा ठुलो आतङ्क खडा ग¥यो । यदि सूर्य, चन्द्रमा र वृहस्पति एकै राशिमा भए भने त्यही दिन प्रलय हुन्छ भन्ने शास्त्रको मत छ । यसकै आधारले ज्योतिषीहरूले पूर्व सूचना दिएका हुन् । माघ २२ मा ७ ग्रह एकै राशिमा थिए । भविष्यवाणी अत्यन्त डरलाग्दो थियो, सारा मानिसलाई आतङ्कित गराउने खाले थियो । भविष्यवाणी गर्नेहरूले के के भनेका थिए उनीहरू नै जानुन् तर हल्ला यति डरलाग्दो फैलिएको थियो सारा हाहाकार मच्चिएको थियो । माघ २२ मा प्रलय आउँछ । प्रलयले पातालका माछा आकाशमा हुत्त्याउने छ । हावाले रुख बिरुवादेखि चट्टान पनि उडाउनेछ । हावा पानी असिना तथा भूकम्प आएर पृथ्वी चकनाचुर बनाउनेछ, इत्यादि डरलाग्दा हल्ला फैलियो ।
यो आतङ्कको असर नेपाल, भारत, बर्मा, भुटान आदि ठाउँमा धेरै पर्यो ।
गतानुगतिको लोक: न लोक: पारमार्थिक:
संसार हल्लाकै पछि लागेर अप्रमाणित कुरालाई विश्वास मान्दो रहेछ । वास्तविक प्राकृतिक तत्त्व मानिसले जान्ने कुरा होइन । तथापि यसरी धनी, गरिब, विद्वान्, अ विद्वान्, वैज्ञानिक, आवाल, वृद्ध, वनिता आखिरी सबैलाई बाँच्नु छ । नास्तिकहरू अर्थात् ईश्वरको नाम सुन्दा कान थुन्नेहरू पनि राम नाम जप गर्न थाले । पूजा पाठ यज्ञानुष्ठान आदि काममा सरिक हुन थाले । धनी उद्योगी व्यापारीहरू पनि २२ गते पश्चात् केही गरौँला भन्ने निश्चयमा परेर हात गोडा छाडेर भगवानका शरणमा लम्पसार परे ।
दुनियाँमा यस्तै निराशा छाएको थियो । अशान्तिको विकल्प शान्ति नै हो । अरिष्ट शान्तिका लागि १७ सालबाटै ठुला ठुला शान्ति यज्ञ, विश्वशान्ति कोटी हवन, लक्ष हवन, अति लघु महा लघु पाठ, शत चण्डी सहस्र चण्डी, लक्ष चण्डी तथा १८ पुराण पाठ पारायण, चार वेद पाठ पारायण गर्ने कार्यहरू गरेर सबै जन एकाकार भएर आस्था वान भए । त्यति बेलाका भुक्तभोगीहरू कोही भन्छन् मलाई डर लागेन अथवा विश्वास लागेन । मैले घर पनि छाडिनँ भनेर गफ दिनेहरूले त्यो दिनको कुरा बिर्सेर आज आफू ठुलो बन्न गफ दिएका हुन् । तिनीहरूका मनमा ढुकढुकी अझै हुनुपर्छ । त्यस्तो आतङ्क मच्चिएको थियो त्यो बेला ।
भित्र डर त्रास भइसकेपछि मन ढुक्क हुन सक्तैन । त्यति बेला आआफ्ना घर महल सबै छोडेर पराले झुप्रा कटेरा बनाएका थिए मानिसहरूले । तीन दिन पहिल्यैबाट पाखा निस्केर कटेरामा नै बसेको त्यो दुनियाँ । कस्तो हास्यास्पद स्थिति पनि थियो भने धानका कुनिउँ हावाले उडाउला भनेर बाँधेर राखेका थिए । पशुहरूको सुरक्षाका लागि बलिया गोठहरू पनि बनाएका थिए । ओहो प्रलय आउँदा बाँधेका कुनिउँ रहन्थे होला, गोठ भत्किँदैन थिए होला ।
मानिसमा यति उदासीनता थियो माघ २२ कटिएछ भने पुन काम कर्तव्य गरौँला सबै लिनादिना बन्द बेपार ठप्प पारेर सास रोकेर उनीहरू बसेका थिए । जीवन मरणको घाटमा मान्छेको मन पुगेको थियो ।
सबै मानिस उदार अनि उदास र समावेशी भएर सबै यौटै झुपडीमै मन जोडेका थिए ।
हामीहरू पनि ढुक्क घरमा बस्न सकेनौँ एक रात कटेरामा सुतियो । र त्यो अठार सालको २२ गते कुनै वाधा व्यवधान बिनै सामसुममै काटियो । कुनै प्रलय भएन ।
प्रायः समापन्न विपत्ति काले धीयोपि पुंसां मलिना भवन्ति ।
लेखक- हाँस्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेका पिता हुनुहुन्छ । गाम्नागेले बा शिर्षकको हाँस्य कविता लेख्नुभएको छ -
लक्ष्मण गाम्नागे बा ! Father's Day Special । Laxman Gamnage BAA (youtube.com)
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१, ११:३८