काठमाडौँ । नेपाल यू–२० साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा भुटानलाई टाई ब्रेकरमा ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा गरिएको थियो ।
भुटानले ५६ औँ मिनेटमा अग्रता लिएको खेलमा नेपालका नीराजन धामीले बराबरी गोल गर्नुभएको थियो । टाई ब्रेकरमा नेपालका गोलकिपर जियारथ शेख नायक रहनुभयो । जियारथले भुटानी खेलाडीका २ वटा प्रहार रोक्नुका साथै आफूले एक गोल गर्नुभयो ।
७७ औँ मिनेटमा किन्जाङ तेन्जिङ दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिए पछि भुटान १० खेलाडीमा सीमित भएको थियो ।
नेपालले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोली भारत र बङ्गलादेश खेल्नेछन् । फाइनल खेल आउँदो बुधवार दशरथ रङ्गशालामा हुनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१, १७:४६