काठमाडाैँ । रोशन शेरचनद्वारा लिखित निबन्ध कृति ‘गल्ली संसार’लाई वि.सं २०८० को 'उत्तमशान्ति पुरस्कार’ अर्पण गरिएको छ ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा स्थापित एकलाख राशीको यो पुरस्कार नेपाली साहित्यमा प्रकाशित गैरआख्यान कृतिमध्ये 'सर्वश्रेष्ठ' कृतिलाई २०४४ सालबाट वर्षेनीअर्पण गरिँदै आइएको छ।
गल्ली संसार बूक हिल पब्लिकेशन्सले यसै वर्ष प्रकाशन गरेको निबन्धहरूको संगालो हो।
पुरस्कार अर्पण कार्यक्रममका प्रमुख अतिथि समालोचक डा.वासुदेव त्रिपाठीले उत्तम कुँवर र शान्ति कुँवरसित जोडिएका सम्झना सुनाउनुका साथै रोशन शेरचनको लेखनको प्रशंसक रहेको बताउनुभएको थियो ।
यस्तै लेखक भूपिनले 'गल्ली संसार’ वैचारिक निबन्धको क्षेत्रमा नेपाली साहित्यका लागि नवीनतम उपलब्धी भएको बताउँदै भाषा, शिल्प, प्रस्तुति लगायतका कृतिका विविध पक्षबारे चर्चा गर्नु भएको थियो ।
देबेन्द्र लोहनीले स्व. उत्तम कुँवरको व्यक्तित्वबारे छोटो चर्चा गर्नुभएको थियो ।
यो पुरस्कारबाट यसअघि लैनसिंग वांगदेल, अम्बर गुरुंग, कृष्णचन्द्रसिंह प्रधान, जगदीश घिमिरे, मंजुल, परशु प्रधान, नारायण ढकाल, भूपिन, शारदा शर्मा, इल्या भट्टराई, दुर्गा घिमिरे, झमक घिमिरे, प्रदीप नेपाल, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ रोदन, रविन्द्र समीर, देवेन्द्र भट्टराई, कर्ण शाक्य, देवीचन्द्र श्रेष्ठ, निर्मोही व्यास, भीष्म उप्रेती लगायत पुरस्कृत भइसक्नु भएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१, १५:०१